प्रचण्डसँग रिसायो काँग्रेस, रविलाई प्रधानमन्त्रीको अफर हल्ला मात्रै

प्रचण्डसँग रिसायो काँग्रेस, रविलाई प्रधानमन्त्रीको अफर हल्ला मात्रै

काठमाडौं : प्रधानमन्त्री बन्ने शेरबहादुर देउवाको सपना चकनाचुर भएपछि काँग्रेस आक्रोशित बनेको छ। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो वर्ष एमालेलाई धोखा दिएर काँग्रेससँग गठबन्धन गर्दै गर्दा देउवा र माधवकुमार नेपालले आलोपालो प्रधानमन्त्री बन्ने सपना देखेका थिए।

काँग्रेससँगको सहकार्य तोडे पनि नयाँ गठबन्धनमा माधव नेपाललाई सहभागी गराउन छलफल सुरु भएको छ। तर, काँग्रेस भने सत्ताच्यूत भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले एक वर्ष अघि प्रचण्डलाई धोकेबाज भनेका थिए भने अहिले देउवा ओलीकै लयमा प्रचण्डलाई धोखेबाज भन्न थालेका छन्।

राजनीतिका चतुर खेलाडी देउवा, ओली र प्रचण्डले जनतालाई रनभुल्लमा पार्दै आएका छन्। प्रचण्डले पल्टुरामको संज्ञा पाएका छन् भने प्रचण्डलाई पल्टुराम बनाउने देउवा र ओली महापल्टुराम बनेका छन्। राष्ट्रपतिको चुनावमा काँग्रेससँग पल्टिएका प्रचण्ड अहिले एमालेसँग पल्टिएका हुन्।

दुई वर्ष सरकारको नेतृत्व प्रचण्डले गर्ने, त्यसपछि एक वर्ष नेपाल र अर्को दुई वर्ष काँग्रेस सभापति देउवाले गर्ने सहमति एक वर्ष नपुग्दै भताभुङ्ग भएको छ। काँग्रेसले प्रचण्डबाट विश्वासघात भएको आरोप लगाएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै काँग्रेस सशक्त प्रतिपक्षीको भूमिकामा रहने प्रवक्ता प्रकाशशरण महतले बताए।

अर्थमन्त्री भएका बेला महतबाट असहयोग भएको र जनतालाई डेलिभरी दिने कुरामा समेत काँग्रेसबाट मन्त्री बनेकाहरूले सहयोग नगरेको भन्दै माओवादीले दोष लगाएपछि मङ्गलवार बसेको काँग्रेस कार्य सम्पादन समितिको बैठकले सबै दोष थुपार्ने माओवादीको भनाई कपोकल्पित र भ्रामक रहेको बताएको छ।

प्रधानमन्त्रीको अफर हल्ला मात्रै

गृह मन्त्रालय नपाएको झोकमा प्रचण्ड नेतृत्वको सरकारबाट ४२ दिनमै बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले फेरी गृहमै आँखा गाढेको छ। सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बने पनि सर्वोच्च अदालतले नागरिकता विवादमा सांसद पद नै खारेज गरिदिएपछि गृह मन्त्रालयको यात्रा टुङ्गिएको थियो।

गृह मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको रास्वपा अहिले गृह पाउने र नेतृत्व सभापति लामिछानेले गर्न पाउने लोभमा नयाँ गठबन्धनमा सामेल भएको छ। लामिछाने अहिले सहकारी ठगी विवादमा परेका छन्। सत्ताबाहिर बस्दा असुरक्षित महसुस गरेका लामिछानेले अहिले मौकाको उपयोग गर्दै नयाँ गठबन्धनमा सामेल भएका हुन्।

गत वर्ष पुस १० कै सहमतिअनुसार मन्त्रालय भागबन्डा लगाउने भने पनि महत्त्वपूर्ण मन्त्रालयमा सबैले नजर लगाएका छन्। विशेष गरी गृह मन्त्रालयमा रास्वपाको दाबी छ। माओवादीले छाडे पनि एमालेले दाबी गर्दा सोमबार लामिछानेको शपथ रोकिएको थियो।

नेपाल फकाउँदै ओली, शत्रुता अन्त्य गर्दै मित्रता

रास्वपाले गृह नपाए सरकारमा सहभागी हुनुको औचित्य नै नभएको बताउँदै आएको छ। उसले काँग्रेसबाट प्रधानमन्त्री नै बन्ने प्रस्ताव आएको हल्ला फैलाएर नयाँ गठबन्धनसँग दबाब बढाएको छ। अहिलेको नयाँ समीकरणमा तेस्रो पार्टीको रूपमा रहेको रास्वपालाई काँग्रेसले प्रधानमन्त्रीकै अफर गरेको हल्ला फैलाइएको हो।

रास्वपाका नेता मनिस झाले आफूलाई पनि केही फोन आएको तर पार्टीको आधिकारिक निर्णय नभएकाले पत्याइहाल्ने अवस्थामा नरहेको बताए। उनले प्रधानमन्त्री हुन नपाएको पीडामा रहेका सभापति देउवा कोठरीका केही नेताले प्रधानमन्त्रीको अफर गरे पनि पत्याउने अवस्था नभएको सुनाए।

काँग्रेसको भरखरै सकिएको महासमिति बैठकबाट रास्वपालाई प्रमुख शत्रु मानेकाले सहकार्यको सम्भावना कम रहेको उनले बताए। संसद्मा काँग्रेसपछि दोस्रो लोकतान्त्रिक पार्टी रास्वपा भएको दाबी गर्दै उनले नस्विकार्नू अच्चमको कुरा भएको बताए।

राजनीतिक सिद्धान्तलाई भन्दा देशको आवश्यकतालाई हेरेर बाम गठबन्धनसँग समीकरण गरेकाले आफूहरूले डेलिभरीका लागि गृह मन्त्रालय बटमलाइन बनाएको उनले बताए। यसअघि ४२ दिनमा गृहको नेतृत्व गरेर राम्रै प्रभाव पारेको भन्दै आफूहरूले फेरि गृहमा दाबी गरेको झाले सुनाए।

नेपाली काँग्रेसले रास्वपालाई प्रधानमन्त्रीको अफर नगरेको स्पष्टोक्ति दिएको छ। महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा लेखेका छन्,‘केही पत्रकार मित्र सोधिरहनू भएको छ, के काँग्रेसले ‘फलाना’लाई प्रधानमन्त्री ‘अफर’ गरेको हो? स्पष्ट गरौँ–कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading