नयाँ गठबन्धन : चरित्र खामपन्थी, काँग्रेस बिरामी

नयाँ गठबन्धन : चरित्र खामपन्थी, काँग्रेस बिरामी

काठमाडौं : सत्ता गठबन्धन बदलिएसँगै संसद्मा प्रधानमन्त्रीसहित सांसदका बोली फेरिएका छन्। नयाँ गठबन्धन बनेपछि बिहीबार बसेको पहिलो प्रतिनिधिसभा बैठकमा सांसदले सत्तामा हुँदा सबै ठिक सत्ता बाहिर पुग्दा सबै बेठिक भन्ने दाबी सुनाएका हुन्।

नेपाली काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई समीकरण फेर्नुको कारण सोधेको छ। प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरि पछि पानीमा लुथ्रुक्क भिजेको मुसो जस्तै भएको काँग्रेसले प्रचण्डबाट राजनीतिक बेइमानी भएको बताइरहेको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रचण्डलाई इमान नभएको बेइमानी भएको आरोप लगाए। उनले माओवादीबाट धोका खाएकाहरू एक ठाउँमा उभिने परिस्थितिमा के हुन्छ? भनेर सोधेका छन्।

प्रधानमन्त्री प्रचण्डले भने आफूसँग हुँदा इमान अरूसँग हुँदा बेइमान भन्न उचित नहुने जवाफ दिएका छन्। उनले फेरि मिलेर जाने सकिने सङ्केत समेत दिए। कतिपय विषयमा मिलेरै अघि बढ्ने दिन आउन सक्ने भन्दै प्रचण्डले अविश्वास, आशङ्का र घृणाको दृष्टिकोणबाट नहेर्न आग्रह गरे।

प्रधानमन्त्री प्रचण्डको फेरि गठबन्धन फेरिन सक्ने सङ्केतलाई नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले थप पुष्टि गरेका छन्। उनले प्रधानमन्त्रीले फेरी पनि उथलपुथलकै भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए।

प्रचण्डको काँग्रेस नजर : महासमितिमा दानवीकरण, संविधानप्रतिको प्रतिबद्धतामै आशङ्का

प्रचण्डले अबको एक महिनाभित्र संसद्मा विश्वासको मत लिनु पर्ने हुन्छ। अहिलेको गठबन्धनमा कुनै एक दल तलमाथि हुने बित्तिकै प्रचण्डको प्रधानमन्त्री पद नै धरापमा पर्ने देखिएको छ। त्यसैले अहिले सरकारमा सहभागी नभएको राजावादी राप्रपालाई खोज्दै आउनु पर्ने अध्यक्ष राजेन्द्र लिंगदेनले जवाफ दिएका छन्।

हिजो एमालेले संसद्मा प्रधानमन्त्री प्रचण्डलाई र्‍याखर्‍याख पार्दा काँग्रेस रमिते बनेको थियो। आज काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई घोचपेच गरे पछि एमाले प्रतिरक्षामा उत्रिएको छ।

एमालेले गठबन्धन बदलिएपछि काँग्रेस बिरामी परेको बताएको छ। एमाले उपाध्यक्ष विष्णु पौडेलले काँग्रेसमा गठबन्धन बदलिँदा छटपटी र बेचैनी बढेको भन्दै मलमपट्टी गर्न प्रधानमन्त्रीलाई नै आग्रह गर्दै व्यङ्ग्य गरे।

सत्ता गठबन्धन बदलिएसँगै संसद्मा प्रधानमन्त्रीसहित सांसदका बोली फेरिएका छन्। राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी नयाँ गठबन्धनसँग रिसाएका छन्।

राष्ट्रिय सभामा मनोनीत हुने सदस्य नपाउने लगभग निश्चित भए पछि राजनीतिमा खारिएका केसीले अहिलेको गठबन्धनको नाम वामपन्थी, चरित्र खामपन्थी भएको टिप्पणी गरे।

सडकमा कुइकुई कराइँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमा सहभागितासँगै बोली फेरिएको छ। हठ गरेरै गृह लिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अहिलेको सत्ता समीकरण बनाउन आफ्नो पार्टीका सभापति रवि लामिछानेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी नै सुनाए।

भारतले सत्ता समीकरण परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएको छ। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सत्ता समीकरण परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका हुन्।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले भने उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेर पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिएको मन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading