पाठेघरको मुखको क्यान्सर : सचेतना अभियान घोषणा

पाठेघरको मुखको क्यान्सर : सचेतना अभियान घोषणा

काठमाडौं : निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँगको साझेदारी र अस्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागको सहयोगमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको सेवा प्रदायक संस्था मेरी स्टोप्स इन्टरनेसनल नेपालले संयुक्त रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि सचेतना अभियान घोषणा गरेको छ।

अभियान लागू हुने जिल्लाहरूमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पुर्‍याउने रहेको छ।

पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पहिलो स्थानमा पर्दछ, जसको कारण महिलाहरूले अकालमै ज्यान गुमाउनु परेको तथ्याङ्कले देखाउँछ। सन् २०२२ मा मात्रै २,१६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर भएको पाइयो भने यस रोगको कारण १,३१३ जनाले ज्यान गुमाए।

यो अभियान सञ्चालनका लागि एनसेलको बृहत् नेटवर्क, सामाजिक सञ्जाल र मेरी स्टोप्स इन्टरनेशनल नेपालको समुदाय स्तरमा रहेको उपस्थितिको उपयोग गरिनेछ। यस बाहेक यस अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्त्वपूर्ण जानकारी फैलाउन विभिन्न सञ्चार माध्यमहरू प्रयोग गर्नेछ।

यही महिना अर्थात् मार्च २०२४ देखि सञ्चालन हुने यस सचेतना अभियान अन्तर्गत ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरू सञ्चालन गरिनेछन्। एनसेलको सेवा सञ्जालको पहुँचलाई उपयोग गर्दै यस अभियानका लागि पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्त्वपूर्ण जानकारी प्रवाह गरिनेछन्। त्यसै गरी आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र सामुदायिक संलग्नता लगायत विभिन्न सञ्चार माध्यमको प्रयोग गरिनेछन्।

यस सचेतना अभियान अन्तर्गत सञ्चालन गरिने मुख्य–मुख्य क्रियाकलापहरूमा आमसञ्चार माध्यमद्वारा सचेतनामूलक अभियान सञ्चालन गर्ने; पाठेघरको मुखको क्यान्सरको रोकथाम र उपचारसम्बन्धी जानकारीलाई लक्षित समूहसम्म प्रभावकारी ढङ्गले पुर्‍याउन विभिन्न सरकारी निकायहरू तथा सङ्घ संस्थाहरूसँग सहकार्य तथा साझेदारी गर्ने; टेलिभिजन र रेडियोमा विशेष कार्यक्रम तथा विशेष कुराकानीमा आधारित कार्यक्रम (टकशो) हरू सञ्चालन गर्नुका साथै रेडियो स्टेसनहरूमा जनहितमा जारी सूचनाहरू सम्प्रेषण गर्ने;अभियानलाई प्रवर्द्धन गर्न र अभियान सम्बन्धी सचेतनामूलक सन्देशहरू प्रवाह गर्न सोसल मिडिया इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्ने; पाठेघरको मुखको क्यान्सर रोकथाम र खोपसम्बन्धी सचेतना मूलक दृश्य श्रव्य सामग्रीहरू तयार पारी प्रसारण गर्ने; एनसेलसँग सहकार्यमा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘वाकाथन’ को आयोजना गर्ने; अभियानका सन्देशलाई आउटबाउन्ड रिङ टोन र एसएमएस मार्फत लक्षित वर्गसम्म पुर्‍याउने आदि जस्ता कार्यक्रमहरू रहेका छन्।

यसबाहेक यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मेरी स्टोप्स इन्टरनेशनल नेपालले ५० जना सेवाग्राहीहरूलाई निःशुल्क स्क्रिनिङ सेवा प्रदान गरेको जनाएको छ।

यी संयुक्त प्रयासहरू मार्फत सञ्चालन हुने सचेतना अभियानले पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा खोपको महत्वको बारेमा जानकारीमा पहुँच बढाउनेछ, जसले गर्दा महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा सही ढङ्गले निर्णय लिन सक्षम बनाउनेछ।

थप जानकारीको लागि मेरी स्टोप्स इन्टरनेसनल नेपालको पैसा नलाग्ने टोल फ्री नम्बर ११४३ मा सम्पर्क गर्न अनुरोध पनि गरिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading