राष्ट्रियसभा अध्यक्ष : काँग्रेस प्रचण्डका भाइसँग भिड्ने, सिटौला आक्रोशित

राष्ट्रियसभा अध्यक्ष : काँग्रेस प्रचण्डका भाइसँग भिड्ने, सिटौला आक्रोशित

मन्त्रिपरिषद् विस्तारमा नयाँ रेकर्ड, चार जनालाई उपप्रधानमन्त्रीको फुर्को

काठमाडौं : अन्ततः प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाइ नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गराएका छन्।

बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको नेता लीलामणि पोखरेलले जानकारी दिए। नयाँ सत्ता समीकरण बनेपछि माओवादीले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने सहमति बनेको छ।

राष्ट्रियसभामा माओवादी सबैभन्दा ठुलो दल हो। अध्यक्षको उम्मेदवारमा माओवादीबाट हालकी उपाध्यक्ष उर्मिला अर्याल र सदस्य झक्कुप्रसाद सुवेदीको पनि दाबी थियो। उर्मिला र झक्कुको नाम चर्चामा भए पनि प्रचण्डका भाइ नारायणकै नाम टुङ्गिएको बैठक पछि एक नेताले सुनाए।

ठिक दुई वर्षअघि ०७८ फागुन २५ गते राष्ट्रियसभामा मनोनीत दाहालको कार्यकाल अब चार वर्ष बाँकी छ। ६ वर्षे कार्यकाल भएकालाई बनाउनुपर्ने मत उठे पनि अरू पदाधिकारीले बलियो मत राख्न नसकेको ती नेताले बताए।

सत्ता गठबन्धन फेरिएसँगै राष्ट्रिय सभा अध्यक्ष पदका आकाङ्क्षी कृष्णप्रसाद सिटौला ब्याक भएका छन्। संसद्को अङ्क गणित आफ्नो पक्षमा नदेखेपछि सिटौला पछि हटेका हुन्।

सिटौला ब्याक भए पछि आइतबार बसेको काँग्रेस बैठकले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। संसद्मा रहेका अरू दलसँग पनि सहकार्य गर्ने निर्णय गरेको सचेतक सुशीला थिङले जानकारी दिइन।

राष्ट्रियसभा अध्यक्ष बन्ने चाहना अपुरो हुने निश्चित भएपछि सिटौलाले प्रधानमन्त्री प्रचण्डसँग आक्रोश पोखेका छन्। बिहानै बालुवाटार पुगेर सिटौलाले प्रचण्डलाई उति वेला गिरिजाप्रसाद कोइरालालाई दिएको धोकाको पश्चात्ताप गर्नु नाटक मात्रै रहेको बताएका छन्। ‘गिरिजाबाबुलाई दिएको धोका पश्चात्ताप होइन रहेछ, नाटक रहेछ’सिटौलाले भनेका छन्।

भाइलाई अध्यक्ष बनाउने प्रचण्डको तयारी, ओलीको गालीको कुटुरो बन्द

प्रचण्डको पहिचान नै धोका र विश्वासघात बनेको सिटौलाले बताएका भेटमा सहभागी एक नेताले जानकारी दिए। सिटौलाले विश्वासघात र धोकाको शृङ्खला यतिमै टुङ्गियो भन्ने नठान्न प्रचण्डलाई चेतावनी नै दिएका छन्।

राष्ट्रियसभाको रिक्त अध्यक्ष पदको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गरिने भएको छ। राष्ट्रियसभाको आइतबार बसेको बैठकमा सभाको अध्यक्ष गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन मिति सुनाइन।

तत्काल आफू अध्यक्ष बन्न नसक्ने परिस्थिति बने पछि राष्ट्रिय सभाको बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सिटौलाले चुनाव सार्न गरेको प्रस्ताव अस्वीकृत भएको थियो। सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कुनै पनि राष्ट्रियसभा सदस्यलाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दिन सकिनेछ।

सोमबार नै दिउँसो साढे १ बजे दर्ता भएका प्रस्तावको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशन गरिने संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए। राष्ट्रिय सभा अध्यक्ष पदका लागि मङ्गलवार मतदान हुँदै छ।

मन्त्रिपरिषद् विस्तारमा रेकर्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १६ औँ पटक मन्त्रिपरिषद् बिस्तार गरेर नयाँ रेकर्ड बनाएका छन्। गत वर्ष पुस १० गते तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले गठबन्धन अदल बदल गर्दै पछिल्लो सत्ता समीकरणअनुसार मन्त्रिपरिषद्लाई २२ सदस्यीय पुर्‍याएका छन्।

प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी दिएर उपप्रधानमन्त्रीको सङ्ख्या चार पुर्‍याएका छन्।

यसअघि एमालेबाट भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीसहित रघुवीर महासेठ, गृहबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा सरुवा भएका नारायणकाजी श्रेष्ठ र रास्वपाका सभापति रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री भइसकेका छन्।

अघिल्लो पटक श्रेष्ठ र लामिछानेसँगै विष्णु पौडेल र राजेन्द्र लिङ्देन गरी चार जना उपप्रधानमन्त्री बनेका थिए। त्यसपछि काँग्रेससँगको गठबन्धन बन्दा श्रेष्ठ र पूर्णबहादुर खड्का गरी दुई जना मात्र उपप्रधानमन्त्री बनाएका प्रचण्डले फेरि चार जना उपप्रधानमन्त्री बनाए।

०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारमा ६ जनासम्म उपप्रधानमन्त्री बनाइएको थियो। पटक पटक मन्त्री बनेर जागिरे भएको आरोप लागेका यादवलाई रविभन्दा तल्लो वरियतामा राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएर मन्त्रालयमा पदभार ग्रहण गरेपछि यादवले जनताको सेवा गर्नेलाई वरियताको मतलब नहुने बताए।

मन्त्रिपरिषद्लाई पूर्णता दिइसके पछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन्। प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिने तयारी गरेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको अमेरिका भ्रमण स्थगित भएको छ।

संयुक्त राष्ट्रसङ्घको आयोजनामा न्यूयोर्कमा हुन लागेको ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’को ६८ ओैँ सत्रमा भाग लिन मन्त्री चौधरी जाने तय भएको थियो। भ्रमणका लागि मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति पनि दिएको थियो।

तर यही बीचमा प्रधानमन्त्रीले विश्वासको मत लिने भए पछि एमालेबाट महिला मन्त्री बनेकी चौधरीको भ्रमण स्थगन भएको हो। मन्त्री नगएपछि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वको टोली न्यूयोर्क प्रस्थान गएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading