नेपालीको अवस्था बुझ्न रुस जाने परराष्ट्रमन्त्रीको तयारी

नेपालीको अवस्था बुझ्न रुस जाने परराष्ट्रमन्त्रीको तयारी

काठमाडौं : उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ती भएका नेपालीको अवस्था बुझ्न रुस जाने तयारी गरेका छन्। मन्त्री श्रेष्ठलाई भेट्न पुगेका नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सी नोभिकोभसँग श्रेष्ठले नेपालीको अवस्था बुझ्न रुस जान चाहेका बताएका हुन्।

उनले राजदूत नोभिकोभसँग रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई फिर्ता गर्न, मृत्यु भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन र मृत्यु भएकाका परिवारलाई आवश्यक क्षतिपूर्तिका लागि आग्रह गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिहान राजदूतसँग भेटेका मन्त्री श्रेष्ठले साँझ रुसमा मृत्यु भएका र बेपत्ता भएकाहरूका परिवारसँग भेटेर रुस जाने आफ्नो आग्रहलाई राजदूतले पहल गर्ने बताएको जानकारी दिए।

पीडित परिवारले कूटनीतिक पहल गर्न गरेको आग्रहमा मन्त्री श्रेष्ठले रसियामा रहेका नेपालीहरूको अवस्था बुझ्न जाने चाहना राजदूतसँग राखेको बताएको पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिइन।

मन्त्री श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता ल्याउने कुरा अझै सहज नभएको बताए। श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता पठाउन रुस सरकार राजी भएको जानकारी पनि त्यहाँस्थित नेपाली दूतावासमार्फत आफूले पाएको बताए।

रुसी सेनामा भर्ती भएका पीडित परिवारसँग सरकारले छलफल

नेपालस्थित रुसी राजदूतलाई बोलाएर सेनामा भर्ना भएका नेपालीलाई फर्काउने विषयमा निरन्तर संवाद गर्न आग्रह गरेको बताए। उनले उनीहरूसँग गरिएको सम्झौता रद्द गर्न र फिर्ता पठाउने प्रक्रियाबारे जानकारी गराउन पनि नेपाल सरकारले रुस सरकारसँग अनुरोध गरेको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सरकारले रुसी सेनामा रहेका ज्यान गुमाएका नेपालीको क्षतिपूर्तिको उचित व्यवस्था गर्न र त्यसको प्रक्रिया अघि बढाउन पनि रुस सरकारलाई ताकेता गरिरहेको बताए।

मन्त्री श्रेष्ठले पीडित परिवारको कुरा धैर्यता पूर्वका सुनेको संयोजक भण्डारीले बताइन। वैदेशिक रोजगारीमा जाने क्रममा प्रलोभनमा परि रुसी सेनामा भर्ती भएका नेपाली युवाहरूको उद्धारका लागि पहल गर्न आफूहरूले गरेको आग्रहमा मन्त्री श्रेष्ठ सकारात्मक हुनु भएको संयोजक भण्डारीले बताइन।

पीडित परिवारका तर्फबाट मन्त्री श्रेष्ठलाई ११ बुँदे माग सहितको विवरण समेत बुझाइएको उनले जानकारी दिइन। आफ्नो परिवारका सदस्यलाई उद्धार गरिदिन आग्रह गर्दै १२ सय भन्दा बढी परिवार प्रत्यक्ष रूपमा जोडिएका उनले बताइन।

पारिवारिक श्रोतले बताए अनुसार मृत्यु भएका २४, घाइते, बेपत्ता वा सम्पर्क विहीन समेत गरी ६२० जना भन्दा बढी नेपाली युवा रुसी सेनामा कार्यरत रहेको विवरण प्राप्त भएको छ। ‘प्राप्त अपुष्ट सूचनाहरूले यी सङ्ख्या यतिमा सीमित छैन भन्ने देखाउँछ। रुसी सेनामा कार्यरत रहेर फर्केका नेपाली युवाहरूले १४ हजार ७ सय नेपाली रहेको दाबी गरिरहँदा त्यहाँको अवस्था निकै भयावह रहेको अनुमान गर्न सकिन्छ,’मन्त्री श्रेष्ठलाई बुझाएको पत्रमा लेखिएको छ।

रुसमा एक वर्ष काम गरेका सैनिकलाई रुसी नागरिक भएर परिवारकारसँगै रुसमै बस्न पाइने प्रलोभन, छोटो समय काम गर्दा रुसी राहदानी प्राप्त गर्ने अवसरको लोभ, महिनामा ४ लाख भन्दा बढी कमाई हुने बिचौलियाहरूको आश्वासन लगायत प्रलोभनमा परि दलाललाई प्रतिव्यक्ति ५ देखि १८ लाख रुपैयाँसम्म कमिसन बुझाएर नेपाली युवा रुसी सेनामा भर्ती भएका छन्।

युद्धमा कुनै साइनो सम्बन्ध नभएको नेपालका नागरिकहरूले अनाहकमा मृत्युवरण गर्नु पर्ने अवस्था, बाँचेकाहरू चाहेर पनि स्वदेश फर्कन नपाउने अवस्था, जबरजस्ती युद्धमा होमिन पर्ने बाध्यता, युद्ध बन्दीको रूपमा नारकीय जीवन व्यतीत गर्न बाध्य नेपालीको अवस्था निकै नै दर्दनाक रहेको संयोजक भण्डारीले बताइन।

‘यो दर्दनाक अवस्थालाई तत्काल सम्बोधन गर्न नेपाल सरकार थप क्रियाशील हुनै पर्दछ,’मन्त्री श्रेष्ठलाई बुझाएको पत्रमा लेखिएको छ,‘रुसी सेनामा रहेका नेपाली युवाको सङ्ख्या यकिन नभएको, मृत्यु भएकाको शव समेत परिवारले प्राप्त गर्न नसकेको र सरकारले देखिने गरी केही गर्ने सक्दैन भन्ने सामाजिक मनोभावना लामो समय रह्यो भने नागरिकले राज्यलाई अन्तिम अभिभावक मान्ने विश्वास प्रणालीमै सन्देह सिर्जना हुने स्थिति रहन्छ।’

रुसी सेनामा कार्यरत रहेर मृत्युवरण गरेका, बेपत्ता भएका र असहज स्थितिबाट गुज्रिरहेका नेपाली नागरिकका परिवारको राहतको लागी नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका सबै संयन्त्रलाई परिचालन गराइदिन पीडित परिवारले आग्रह गरेको छ।

यस्तै इजरायल र प्यालेस्टाईनबीचको युद्धका क्रममा बेपत्ता एक नेपालीको अवस्था अहिले सम्म पत्ता लाग्न सकेको छैन। युद्ध सुरु भएको महिनौँ बितिसक्दा समेत पढ्नका लागि इजरायल पुगेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको हो।

सरकाले उनको अवस्था पत्ता लगाउन पटक पटक प्रयास गरे पनि सफल हुन सकेको छैन। केही दिन अघि मात्रै नियुक्त भएका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जोशीको अवस्थाका बारेमा चासो राखेका छन्।

परराष्ट्र मन्त्रालयमा मङ्गलवार नेपालका लागि इजरायली राजदूत हनान गोडेरसँग भएको भेटवार्ताका क्रममा मन्त्री श्रेष्ठले इजरायली राजदूत हनान गोडेरसंग जोशीको खोजीका लागि औपचारिक रूपमा आग्रह गरेका छन्।

श्रेष्ठले विद्रोही हमासको आक्रमणका क्रममा हालसम्म पनि अज्ञात रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी तथा रिहाइका लागि आवश्यक प्रयास गरिदिन आग्रह गरेका हुन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading