सदनमा गृहमन्त्री लामिछाने हटकेक

सदनमा गृहमन्त्री लामिछाने हटकेक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संसद् भित्र हटकेक बनेका छन्। सत्तारुढ र प्रतिपक्षी दलका सांसदले लामिछानेको विवादित छवि उछालेर हटकेक बनाइदिएका हुन्।

माछा देखे दुलो भित्र हात, सर्प देखे दुलो बाहिर हात भने जस्तै सत्ता र प्रतिपक्ष दलका सांसदहरूले लामिछाने केन्द्रित अभिव्यक्ति दिएका छन्। सत्तापक्षबाट प्रतिपक्षीको बेन्चमा पुगेको काँग्रेसले सरकारमा सहभागी दल र मन्त्रीको नैतिकतामाथि प्रश्न उठाएको छ।

सत्ता जोगाउन नयाँ उदाएको दल रास्वपालाई प्रधानमन्त्री नै अफर गरेको काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले चुनावमा जाँदै गरेको बेला नो नट अगेन भन्नेहरूले अगेन एन्ड अगेन सरकारमा गएको टिप्पणी गरे।

काँग्रेससँगको गठबन्धनसँगै सरकारको समर्थनमा रहेका जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लामिछाने गएको सरकारभन्दा काँग्रेससँगको सरकार लोकतान्त्रिक भने।

प्रतिपक्ष दल काँग्रेस पनि नयाँ गठबन्धनसँगै गृहमन्त्री लामिछाने प्रति आक्रोशित देखिएको छ। सभापतिमा शेर बहादुर देउवासँग पराजित शेखर कोइरालाले विभिन्न काण्डको ढाकछोप गर्न गठबन्धन बनेको बताउँदै सहकारी प्रकरणमा मुछिएका लामिछानेको अनुसन्धान समेत गठबन्धनले बिथोलिदिएको आरोप लगाए।

उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ। दोहोरो राहदानी विवाद विचाराधीन अवस्थामा छ। गृहमन्त्रीबाट हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन पनि परेको छ।

विवादित लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै काँग्रेसले संसद् बैठकमा चर्को आलोचना गरे पछि प्रधानमन्त्री प्रचण्डले झनक्क रिसाएको अभिव्यक्ति दिएका छन्। लामिछानेको विरोध गर्ने काँग्रेसलाई प्रचण्डले प्रधानमन्त्रीको अफर गरेको सम्झाइदिए।

रास्वपाले पनि गृहमन्त्री बन्दा खोजिने नैतिकता प्रधानमन्त्रीको अफर गर्दा पनि खोजिनुपर्ने जवाफ काँग्रेसलाई दिएको छ। रास्वपा सांसद स्वर्णिम वाग्लेले काँग्रेसप्रति व्यङ्ग्य गर्दै आफ्नो पार्टी सभापति लामिछानेलाई च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान् भनेर भागी भागी हिँड्नुपरेको सुनाए।

रोजेको मन्त्रालय लिएर सरकारमा सहभागी भएको रास्वपाले काम गर्न नसके आफैँ बाहिरिने समेत बताएको छ। प्रचण्डले संसद्बाट विश्वासको मत पाए लगत्तै सत्ता पक्ष र प्रतिपक्षका नेताहरूले आफू अनुकूल टिप्पणी गरेका छन्।

प्रधानमन्त्री तेस्रो परीक्षामा पास मात्रै

सत्ता पक्षले नयाँ गठबन्धनको सरकारले देशमा समृद्धि र सुशासनको ढोका खोलेको दाबी सुनाउँदा प्रतिपक्ष दल काँग्रेसले आफ्नो गलत काम लुकाउनको लागि नयाँ गठबन्धन बनेको आरोप लगाएको छ।

संसद् बाहिर पत्रकारहरूसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले भने नयाँ राजनीतिक समीकरण सहित विश्वासको मत पाउँदा नयाँ अनुभव पाएको बताउँदै आफ्नो काँधमा जिम्मेवारी थपिएको बताए।

एमालेले नेता गोकुल बास्कोटाले प्रचण्डले राम्रो काम गरेसम्म गठबन्धन नटुट्ने बताए। काङ्ग्रेससँग ढल्किने कुनै सम्भावना नरहेको सुनाउँदै उनले मायामा घात भए डिभोर्स गर्ने सुनाए।

गठबन्धनकै कारण कुरा नमिलेपछि नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संस्थापक अध्यक्ष रेशम चौधरीबीचको सम्बन्धमा समेत दरार आएको प्रसङ्ग चर्चामा रहेको छ।

सरकारमा जाने की नजाने भन्ने विषयमा श्रीमान् श्रीमतीबीच कुरा नमिलेपछि रेशम चौधरीले फेसबुकमा श्रीमतीप्रति लक्षित गर्दै ‘मैले तिमिलाई सम्झाउन सकिन प्रिय’ भन्दै लेखे। स्ट्याटसका विषयमा सफाइ दिँदै रञ्जिता चौधरीले सँगै बसेर स्ट्याटस लेखेको बताउँदै आफ्नो परिवारमा कुनै मनमुटाब नरहेको बताइन।

नयाँ गठबन्धन बनेसँगै सबैभन्दा बढी वामदेव गौतम हौसिएका छन्। उनले अब नेपालको इतिहासमा काँग्रेस एमाले जस्तो र एमाले काँग्रेस जस्तो देखिने प्रवृत्तिको अन्य भएको उल्लेख गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading