गृहमन्त्री लामिछानेका कारण प्रचण्ड काँग्रेसको घेराबन्दीमा

गृहमन्त्री लामिछानेका कारण प्रचण्ड काँग्रेसको घेराबन्दीमा

काठमाडौं : सत्ता गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सोमवार सार्वजनिक गर्ने जनाएको छ। काँग्रेससँगको गठबन्धन तोडेर एमालेसँगको सहकार्यमा बनेको नयाँ सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासको मत लिएकै दिन साँझसम्म सार्वजनिक हुने बताए पछि बल्ल कार्यदलले प्रधानमन्त्रीसहित सत्ता गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरूलाई मस्यौदा बझाएको छ।

मस्यौदालाई अन्तिम रूप दिएर सोमबार पाँच राजनीतिक दलले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं कार्यदलका सदस्य डा. मुकुल ढकालले जानकारी दिए।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबाट २÷२ नेता सदस्य रहने गरी कार्यदल बनाइएको छ।

कार्यदलले मस्यौदामा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम मानिसहरूमा आशा र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई मुख्य प्राथमिकता दिइएको बताएको छ।

नयाँ सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गर्दा सत्ताबाट प्रतिपक्ष बन्न पुगेको काँग्रेस भने सरकार ढाल्ने रणनीतिमा लागेको छ। अबको एक वर्षपछि प्रधानमन्त्री बन्ने सपना देखिरहेका सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रले एमालेसँग सहकार्य गरेपछि जस्याङ बनेका थिए।

पार्टी बैठकमा धोका भएको बताए पनि सार्वजनिक रूपमा नयाँ गठबन्धनबारे देउवा मौन बसेका छन्। तर, संसद्मा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाए लगत्तै काँग्रेस नाराबाजीमा उत्रिएको छ।

प्रधानमन्त्रीलाई समाजवादीको अल्टिमेटम, काँग्रेस गृहमन्त्रीसँग आक्रामक

आइतबार बस्ने बैठक पनि अवरोध गर्ने काँग्रेस संसदीय दलकी सचेतक सुशीला थिङले जानकारी दिइन। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका बारेमा प्रधानमन्त्री प्रचण्डले चित्त बुझ्दो जवाफ नदिएसम्म संसद्को अवरोध कायम रहने थिङले बताइन।

काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको राजीनामा नै माग गरेको छ। लामिछानेको राजीनामा नै आउनु पर्ने हो भन्ने प्रश्नमा सचेतक थिङले भनिन्,‘राजीनामा भन्दा पनि प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ दिनुपर्‍यो।’

सदनमा लामिछानेको राजीनामा मागेर प्रचण्डलाई अप्ठ्यारोमा पार्न लागेको काँग्रेसले भित्रभित्रै एमाले फकाइरहेको छ। सभापति देउवाका विश्वासपात्र काँग्रेस सांसद रामहरि खतिवडाले एमालेसँग मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्।

अन्तिम समयमा सरकारमा सहभागी भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल काँग्रेससँग नजिक बनेका छन्। आफूले प्रधानमन्त्री पाउने लोभमा नभई परिवर्तनकारी शक्तिहरू मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिएको नेपालले बताए।

उनले संविधान, गणतन्त्र र सङ्घीयतालाई समाप्त पार्ने प्रवृत्ति बोकेका पार्टीहरू प्रमुख समस्याको रूपमा रहेको भन्दै काँग्रेसलाई वर्ग शत्रु घोषणा गरेर जान नसकिने बताए।

नेपाल समाजवादी पार्टी (नेसपा) दुई वर्ष नपुग्दै फुटेपछि डाक्टर बाबुराम भट्टराईले प्रमुख तीन दललाई मिलेर जान सुझाव दिएका छन्। उनले तीन दलका नेताहरूलाई सत्ता बाढ्न सुझाउँदै देशको समृद्धिको खाका कोर्न भनेका छन्।

समिति सभापतिमा भागबन्डा

राष्ट्रियसभाको दुई विषयगत समितिका सभापति निर्विरोध निर्वाचित हुने भएका छन्। काँग्रेस र एमालेका उम्मेदवार समिति सभापतिमा निर्विरोध निर्वाचित हुने निश्चित भएको हो।

सहमतिलाई अगाडि बढाउँदै दलहरूले राष्ट्रियसभामा रिक्त सभापतिमा प्रतिस्पर्धा नहुने गरी भागबन्डा गरेर उम्मेदवारी दिएका हुन्। नेकपा माओवादी केन्द्रले काँग्रेससँगको सहकार्य तोडेर एमालेसहितको गठबन्धन बनाएपछि ध्रुवीकरण बढेको छ।

काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रतिनिधिसभा अवरुद्ध गरेको छ। तर, राष्ट्रिय सभामा भने काँग्रेस र एमालेले एकअर्काविरुद्ध उम्मेदवारी नदिएर भागबन्डा गरेका छन्।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा एमालेका सोनामगेल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समितिमा काँग्रेसकी कमला पन्तको मात्रै उम्मेदवारी परेकाले आइतबार निर्विरोध निर्वाचित भएको घोषणा गरिने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

फागुन २० मा एमाले र काँग्रेसले प्रतिनिधित्व गरेको समितिको रिक्त सभापति पदमा एमाले र काँग्रेसबाट उम्मेदवारी परेको हो। यसअघि सरोकार समितिमा एमालेकी दिलकुमारी रावल र दिगो विकास समितिमा काँग्रेसका प्रकाश पन्थ सभापति थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading