प्रधानमन्त्रीलाई समाजवादीको अल्टिमेटम, काँग्रेस गृहमन्त्रीसँग आक्रामक

प्रधानमन्त्रीलाई समाजवादीको अल्टिमेटम, काँग्रेस गृहमन्त्रीसँग आक्रामक

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार दलकै घेराबन्दीमा परेका छन्। बुधवार मात्रै विश्वासको मत दिएको नेकपा एकीकृत समाजवादीले भोलिपल्टै बिहीबार सहकार्य तोड्ने मिति सुनाएको छ।

उसले प्रतिबद्धता पुरा गर्न असार मसान्तसम्मको अल्टिमेटम दिएको छ। उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले आफूले गरेका प्रतिबद्धता पुरा नगरे असार मसान्तमा साथ छोड्ने चेतावनी दिएका हुन्।

बुधवारको संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डले चित्त नबुझे साथ छोड्न चुनौती दिए पछि उपाध्यक्ष पाण्डेले भोलिपल्टै बिहीबार संसद् भवन बाहिर गठबन्धन ढल्ने मिति सुनाए।

प्रधानमन्त्री तेस्रो परीक्षामा पास मात्रै

उनले आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन सुझाव दिए। ‘मैले स्पष्टै भनेको छु, तपाईँले बोलेको कुराहरू पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ। तपाई बिदा हुनुहुन्छ। भोट हाल्दैनौँ भनेको छु,’उनले भने,‘१६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँभन्दा बढ्ता के भन्नु? प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौँ।’

सदनमा गृहमन्त्री लामिछाने हटकेक

सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको काँग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति आक्रामक बनेको छ। प्रतिनिधिसभाको बैठकमा काँग्रेसले लामिछानेको नैतिकतामाथि प्रश्न उठाएको छ।

काँग्रेस सहमहामन्त्री बद्री पाण्डेले लामिछानेको नामै लिएर सहकारी ठगीमा अनुसन्धान घेरामा रहेका व्यक्ति नै उपप्रधान तथा गृहमन्त्री बन्दा नैतिक रूपमा गम्भीर प्रश्न उठेको बताए।

सांसद पाण्डेले गृहमन्त्रीको पोजिसनलाई रक्षाकवच बनाएर दशौँ अर्बको ठगी गर्ने ठुला माछाहरू उम्काउने प्रपञ्चको हतियार स्वयं लामिछाने नै बनिरहेकोप्रति समेत सचेत गराए।

काँग्रेसका अर्का सांसद रामहरि खतिवडाले आफू विरुद्ध लागेका मुद्दामा चलखेल नगर्न गृहमन्त्री लामिछानेलाई चेतावनी दिएका छन्।

संसद् भवन परिसरमा उनले राज्य व्यवस्था समितिमा छलफल गर्दा लामिछानेले तत्कालीन अवस्थामा आफूसँग अरू पनि प्रमाण भएको बताएको स्मरण गर्दै आफू कारबाही गर्ने ठाउँमा पुग्दा कारबाही गरेर देखाउन सक्नुपर्ने बताए।

उनले गलतलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई फसाउन नहुनेतर्फ वर्तमान गृहमन्त्री लाग्नुपर्ने बताए। आफू विरुद्धका मुद्दाका बारेमा आफैँले सांसदहरूलाई जानकारी गराउनुपर्ने पनि उनले बताए। उनले दाग लागेका मन्त्रीहरूलाई सरकारमा राख्न नहुने बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading