सुन तस्करीमा पक्राउ परेका महराको बास अस्पतालमा

सुन तस्करीमा पक्राउ परेका महराको बास अस्पतालमा

काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्। सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

यसअघि पक्राउ परेका भिभिआइपीले अपनाएकै शैली अपनाएर बिरामी भएको बयान दिएका महरा हिरासत अवधिभर अस्पतालमा बस्ने भएका छन्।

अदालतले सुन प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीलाई महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद दिँदै आवश्यकता अनुसार अस्पतालमा राख्न आदेश दिएको हो।

म्याद थपका लागि जिल्ला अदालतमा पेस गरेपछि महराले आफ्नो स्वास्थ्य अवस्था ठिक नभएको र विभिन्न ८ प्रकारका औषधी खाइरहेकाले अस्पतालमा भर्ना हुन पाउनुपर्ने माग राखेका थिए। उनले इजलास समक्ष आफूमा मस्तिष्क सम्बन्धी, घाँटीको क्यान्सर, प्रोस्टेटसम्बन्धी समस्या रहेकाले त्यसको औषधी प्रयोग गरिरहेका बताएका थिए।

अदालतको आदेशअनुसार महरा सीआईबीको हिरासतमा नबसी नर्भिक अस्पतालमा पुगेका छन्। यद्यपि उनी सीआईबीको नियन्त्रणमै भने रहने छन्। अदालतबाट म्याद थप भएसँगै महरामाथि लागेको अभियोगमाथि थप अनुसन्धान सुरु गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न प्रचण्डलाई गगनको चुनौती

‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको कनेक्सन देखिएको छ। उक्त प्रकरणमा महरापुत्र राहुल यसअघि नै पक्राउ परिसकेका छन्।

पूर्वसभामुख महरा जेल परेको यो दोस्रो पटक हो। यसअघि बलात्कार मुद्दामा १३३ दिन जेल बसेका महरा अहिले सुन प्रकरणमा पक्राउ परे।

पूर्वसभामुखसमेत रहेका माओवादी नेता महरा पहिलो पटक २०७६ साल असोज १९ गते बलात्कार आरोपमा काठमाडौँबाटै पक्राउ परेका थिए। बलात्कार मुद्दामा समातिएका महरालाई २०७६ साल फागुनमा काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो।

सुन तस्करी छानबिनकै लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ भने धरौटीमा छुटेका छन्। उनलाई काठमाडौं जिल्ला अदालतले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।

प्लाटिनम कलेजका सञ्चालकसमेत रहेका उनलाई सीआईबीले १४ किलो सुन तस्करी प्रकरणमा १४ फागुनमा पक्राउ गरेको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading