कानुनको कुन दफा अनुसार छुटे महरा? के छ व्यवस्था?

कानुनको कुन दफा अनुसार छुटे महरा? के छ व्यवस्था?

काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्। पक्राउ परेकै दिनदेखि नर्भिक अस्पताल भर्ना भएका महराको बयान सकिएकाले छोरा निर्मलको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरामाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले चार दिनको अनुमति पाएको थियो। बुधवार र बिहीबार बयान दिएका महरा शुक्रवार रिहा भएका हुन्।

बयान पनि सकिएको र स्वास्थ्य एकदम कमजोर भएकाले हाजिरी जमानीमा रिहा गरिएको सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए। ‘स्वास्थ्य अवस्था एकदमै कमजोर रहेछ,उपचार गराइरहनु पर्ने रहेछ,आठ/नौ थरी त औषधी नै खानु पर्ने रहेछ,’सहन्यायाधिवक्ता श्रेष्ठले पहिचानसँग भने,‘बयान पनि सकिएकाले हाजिरी जमानीमा रिहा हुनुभयो।’

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ मा हिरासतमा रहेको व्यक्तिलाई अधिकारीले छाड्न सक्ने व्यवस्था छ। सहन्यायाधिवक्ता श्रेष्ठले दफा १५ को (१) र (२) अनुसार महरा रिहा भएका जानकारी दिए।

दफा १५ को उपदफा (१) मा ‘यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारण सहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौट वा जमानत लिई वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्ने सक्नेछ’ लेखिएको छ।

उपदफा (२) मा धरौट वा जमानीमा छाड्दा वा तारिखमा राख्दा त्यसरी छोडिएको वा तारिखमा राखिएको व्यक्ति उपर मुद्दा चलाउने भएमा त्यस्तो अवस्थामा निज उपस्थित हुने गरी निजको कागज गराउनु पर्ने व्यवस्था छ।

कानुनको यही दफा अनुसार महरालाई कागज गराएर हाजिरी जमानीमा रिहा गरिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ।

महराको वयान सुरु, नर्भिकबाट बिहान डिस्चार्ज, बेलुका भर्ना

निर्मल महराका जेठा छोरा हुन्। कान्छा छोरा राहुल सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। विद्युतीय चुरोट भेप मार्फत ९ किलो सुन तस्करीमा जोडिएका पूर्वसभामुख एवं सत्तारुढ नेकपा माओवादीका उपाध्यक्ष महरा यसअघि संसद्का महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा १३३ दिन जेल बसेका थिए।

महराका छोरा राहुल १० पुस २०७९ मा फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले ल्याएको ७३ वटा बट्टामा रहेको ७३० वटा भेपभित्र बरामद भएको ९ किलो सुन प्रकरणले थुनामा परेका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले सुन तस्करीमा कनेक्सन देखिएपछि राहुललाई थुनामा पठाए पनि कृष्णबहादुरलाई कागज गरेर छोडेको थियो।

संसद्की महिला कर्मचारीमाथि बलात्कार आरोपमा कृष्णबहादुर पक्राउ पर्दा छोरा निर्मल र राहुलले सामाजिक सञ्जाल फेसबुकमा ‘क्रान्तिकारी नेताहरूको इतिहास समाप्त पार्ने विदेशी शक्तिहरूको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरूको पनि।यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ,शिक्षा लिएर जनताको पक्षमा अगाडि बढ्ने प्रेरणा मिलेको छ। क्रान्तिकारीहरूसँग फेरि भेट हुनेछ।’ लेखेका थिए।

बुबा पक्राउ पर्दा क्रान्तिकारी स्ट्याटस लेखेका छोरा राहुल अहिले आफैँ जेल परेका छन्। महरा पञ्चायती व्यवस्था पतनपछि २०४८ सालको आम निर्वाचनमा रोल्पाबाट निर्वाचित सदस्य हुन् भने पहिलो संविधान सभा निर्वाचनमा दाङ र दोस्रो संविधानसभामा रोल्पाबाटै चुनाव जित्ने माओवादीका नेता हुन्।

उनी मास्टर समेत हुन्। रोल्पाको लिवाङ स्कुलमा १२ वर्ष पढाएका महरा विज्ञान पढाउँथे। विद्यार्थीलाई राम्रो ज्ञान दिनेमा पर्थे महरा। २०३६ सालको जनमतसंग्रह देखि वाम राजनीतिमा लागेका महरा २०५२ देखि भूमिगत भएका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading