कुटपिटमा परेका किशाेरीले भने, जुनी-जुनीसम्म छुट्दैनौँ

कुटपिटमा परेका किशाेरीले भने, जुनी-जुनीसम्म छुट्दैनौँ

कैलाली : कैलाली मोहन्याल गाउँपालिका वडा नं ६ मगरटोल सोल्टाकी परिवर्तित नाम राधिका सुनार उमेरले १७ वर्ष पुगिन। जन्मँदा स्त्रीलिंगी राधिकाको हाउभाउ पुरुष प्रकृतिको छ। एउटै स्कुल र एउटै कक्षामा पढ्दै आएकी परिवर्तित नाम लक्ष्मी सुनारसँग राधिकाले प्रेम गरिन्।

कक्षा ८ मा पढ्ने दुबैबीच माया प्रेम घनिष्ठ हुँदै गयो र शुक्रवार मात्रै दुवैले भागी विवाह गरे। राधिकाले भगाएर लक्ष्मीलाई घरमा भित्र्याइन। राधिकाको परिवारले स्वीकार गर्‍यो। तर, लक्ष्मीको परिवारले भने केटीसँग विवाह गर्ने भन्दै कुटपिट नै गरे।

केटीकेटीको विवाह भन्दै मोहन्यालको सोल्टामा दिनभर हल्लीखल्ली मात्रै भएर दुबैलाई स्थानीयले उद्धार गरेर इलाका प्रहरी कार्यालय सुगरखालमा पुर्‍याए। मोहन्याल गाउँपालिकाबाट भरखरै मात्रै अवकाश पाएका प्रमुख प्रशासकीय अधिकृत जयनन्द जैशीले समलिङ्गीको अधिकार हनन गर्न नमिल्ने बताए।

‘उनीहरूको इच्छा हो, विवाह गरेर बस्दा केही बिग्रँदैन, तर उमेर नपुगेकाले कानुनी रूपमा विवाह सम्भव छैन,’उनले भने,‘केटाहरूले बानी व्यवहार सुधार नगर्दा केटीहरू माया गर्ने आफूजस्तै केटीहरूप्रति आकर्षित भएको हो कि भन्ने मलाई लाग्छ।’

उनले श्रीमती कुट्ने, जाँडरक्सी खाएर घरबाट निकाल्ने गरेको देखेका केटीहरू त्यस्ता केटाहरूका कारण केटी प्रति आकर्षित भएको हुन सक्ने उनले बताए। ‘गाउँमा पहिलो पटक कहिल्यै नभएको केटीकेटीले विवाह गरे पछि सबै अचम्ममा परे,’उनले पहिचानसँग भने,‘समलिङ्गीको पनि अधिकार समान छ भनेर मैले समन्वय गर्ने प्रयास गरे।’

केटीकेटीले विवाह गरेको भन्दै कुटपिट, गाउँलेले गरे उद्धार

राधिका र लक्ष्मीले आफूहरू सँगै बस्ने गरी विवाह गरे पनि लक्ष्मीको परिवारले स्वीकार नगरी कुटपिट गरेको बताए। ‘हामी सँगै बस्न चाहन्छौ,अहिले लक्ष्मीलाई मेरै घरमा राखेको छु,’राधिकाले पहिचानसँग भनिन्,‘लक्ष्मीलाई उसको परिवारले कुटपिट गरे, अहिले उपचार गरेर फर्कदैछौ।’ लक्ष्मीलाई कहिल्यै पीडा नदिने बताइन राधिकाले। उनले जसले जे पनि जुनीजुनीसम्म नछुटिने बताइन।

देशको कानुनमा २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था छ। १७ वर्षकी राधिका र १६ वर्षकी लक्ष्मीलाई इलाका प्रहरी कार्यालय सुगरखालले उमेर नपुगेकाले सम्झाइबुझाई आफन्तको जिम्मा लगाएको बताएको छ।

प्रहरीले सँगै बस्नु, हिँडडुल गर्न कुनै रोकावट नभए पनि विवाह गर्न भने उमेर नपुगेको बताएको हो। ‘माया प्रेम घनिष्ठ रहेछ, सँगै बस्छौ, विवाह गर्छौ भनेका थिए,’वरिष्ठ सही बमबहादुर खड्काले पहिचानसँग भने,‘सँगै बस्नुहोला केही छैन, तर विवाह भने २० वर्ष पुगेपछि गर्नुहोला भनेर सम्झाई बुझाई गरेर आफन्तको जिम्मा लगाएका छौ।’

राधिका र लक्ष्मी एउटै स्कुलमा पढ्ने, घाँसदाउरा सँगै गर्ने र दुवै गहिरो माया प्रेममा परेको पाइएको वरिष्ठ सही खड्काले बताए। ‘उनीहरू वल्लो टोल र पल्लो टोलका रैछन्,’उनले भने,‘विवाह गर्छौ भनेका थिए, अहिले उमेर नपुगेकाले विवाह गर्न भने पाउनुहुन्न भनेका छौ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.