मन्त्रिपरिषद् विस्तारमा प्रचण्डको रेकर्ड, सुहाङलाई साथ दिने सङ्केत

मन्त्रिपरिषद् विस्तारमा प्रचण्डको रेकर्ड, सुहाङलाई साथ दिने सङ्केत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा रेकर्ड राखेका छन्। गठबन्धन बदलेर तेस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सोमबार १७ औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टीबाट दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेर मन्त्रीपरिषद् विस्तार गरेका हुन्। २२ जना मन्त्री र एक जना राज्यमन्त्री गरी अब मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ। संविधानमा मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुने व्यवस्था छ।

प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद्मा अझै दुई सदस्य थप गर्ने सुविधा छ। सोमबार नवनियुक्त राज्य मन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्री कार्कीलाई शपथ ग्रहण गराए।

प्रचण्ड गत वर्ष पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। नियुक्त हुँदा समर्थन गरेको दल त्यागेर काँग्रेससँगको गठबन्धनमा रहेका प्रचण्डले अहिले पुनः पुस १० मा समर्थन गर्ने दलहरूको गठबन्धन ब्युँताएका छन्।

प्रधानमन्त्रीको १५ महिने कार्यकाल गठबन्धन बदल्ने, विश्वासको मत लिने र निर्देशन दिनेमा बितेको छ। देश र जनतालाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्न प्रधानमन्त्री प्रचण्डले राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै आएका छन्।

उनले दिने निर्देशनमा देश र जनता छुटेका छैन। तर, देश र जनताले पाएका पनि केही छैनन्। प्रधानमन्त्री प्रचण्डको काम नै निर्देशन दिने जस्तो देखिएको छ।

प्रधानमन्त्री प्रचण्डले नियत सफा राखेर काम गर्न राष्ट्रसेवक कर्मचारीलाई भनेका छन्। ‘कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानुन बमोजिम काम गर्न डराउनु पर्दैन, प्रधानमन्त्री प्रचण्डले भने।

इलाममा सुवासको विरासत जोगाउने जिम्मा सुहाङलाई, ओलीले दिए आर्सीवाद

प्रधानमन्त्री प्रचण्ड सत्ता जोगाउने ध्याउन्नमा लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने इलाम २ मा हुन लागेको उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई सत्ता गठबन्धनकै उम्मेदवार बनाउने तीव्र लबिङमा लागेका छन्।

अध्यक्ष ओलीले सुहाङ नेम्वाङलाई लिएर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन्। प्रधानमन्त्री प्रचण्डले मिलेर सहमतिमा नै अगाडि बढ्न तयार रहेको वचन ओलीलाई दिएका स्रोतले बताएको छ।

एकीकृत समाजवादी पनि इलाममा एमालेका उम्मेदवारलाई समर्थन गर्न लचक भएको छ। प्रचण्डले ओलीलाई बचन दिए पनि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अझै पर्ख र हेरको अवस्थामा रहेको बताएका छन्।

प्रधानमन्त्री प्रचण्ड र नेपाल इलाममा एमालेलाई साथ दिएर बझाङमा आफ्ना लागि साथ माग्ने तयारीमा रहँदा एमालेलाई सकस परेको छ। इलाममा उम्मेदवार नदिए पनि बझाङको प्रदेश सभा नछोड्ने एकीकृत समाजवादीका अध्यक्ष नेपालले बताएका छन्।

इलाम एमालेलाई र बझाङ एकीकृत समाजवादीलाई दिँदा वैशाख १५ को उपनिर्वाचनमा माओवादीका उम्मेदवार नै नबन्ने आकलन समेत भएको छ। २०७९ सालको निर्वाचनमा काँग्रेससँग गठबन्धन गरेको माओवादी अहिले एमालेसँगको सत्ता सहकार्यमा पुगेको छ।

माओवादी र एकीकृत समाजवादीले अहिलेसम्म दुवै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस नगरे पनि एमालेले इलामबाट सुहाङ नेम्वाङ र बझाङमा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

एमालेले इलामको उपनिर्वाचनलाई प्रतिष्ठाको रूपमा लिएको छ। सुहाङलाई सत्ता गठबन्धनकै साझा उम्मेदवार बनाउन ओलीले सोमबार प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका छन्।

आगामी १५ वैशाखमा इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ। नयाँ सत्ता समीकरणअनुसार प्रदेश सरकार हेरफेर गर्नेबारे पनि शीर्ष नेताहरूबीच छलफल भएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading