एसईई परीक्षा सुरु, पहिलो पटक ‘अन्य’ लैङ्गिक पहिचान खुलाएर १५ जना सहभागी

एसईई परीक्षा सुरु, पहिलो पटक ‘अन्य’ लैङ्गिक पहिचान खुलाएर १५ जना सहभागी

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई सुरु भएको छ। बिहान ८ बजे सुरु भएको ११ बजेसम्म ३ घण्टाको हुनेछ। पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिँदै छन्।

परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीले परीक्षामा सामेल हुन फाराम भरेका छन्।

ती मध्ये ४ लाख ८० हजार परीक्षार्थीले प्रवेश पत्र लिएका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३ सय ७० र मधेस प्रदेशबाट ८१ हजार ३ सय १७ विद्यार्थीले एसईई परीक्षा दिँदै छन्।

लुम्बिनी प्रदेशबाट ७९ हजार ५ सय १६, कोसी प्रदेशबाट ७७ हजार ४ सय १५, सुदूरपश्चिम प्रदेशबाट ५५ हजार ७ सय ६८, गण्डकी प्रदेशबाट ४० हजार ९ सय ७७ विद्यार्थी छन्। सबैभन्दा कम कर्णाली प्रदेशबाट ३९ हजार ६ सय ६८ विद्यार्थी छन्।

यो वर्ष २ लाख ५३ हजार ६ सय २७ जना छात्र परीक्षामा सहभागी हुँदा दुई लाख २ लाख ५० हजार ७ सय ७२ छात्राले परीक्षा दिनेछन्।

एसइईमा पहिलो पटक लैङ्गिक (अन्य) पहिचान खुलाएका १५ जना परीक्षार्थी सहभागी छन्। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक ‘अन्य’ समूहमा बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक/एक, पर्सा र सप्तरीबाट २/२, रुपन्देहीबाट ४ जना परीक्षामा सहभागी छन्।

यो पटक जापानबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्। जापानमा रहेको एभरेस्ट स्कुलमा परीक्षा केन्द्र तोकिएको छ। जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्नेछ।

जापानमा केन्द्र रहेको स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ। हुलाकमार्फतमा उत्तर पुस्तिका पठाइएको जापानमा परीक्षा सुरु हुनु अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए।

बोर्डले २ हजार ६४ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक र सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७ हजार ५ सय ५ जना जनशक्ति प्रत्यक्ष रूपमा परीक्षा केन्द्रमा खटाएको परीक्षा नियन्त्रक पौडेल बताए।

परीक्षाफल लेटर ग्रेडिङ प्रणालीमा प्रकाशित हुनेछ। विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर विद्यार्थीले ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था थियो। तर अब एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनुपर्ने छ।

सैद्धान्तिकमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने छ। परीक्षाफल भने तीन महिनामा प्रकाशित गर्ने बोर्डको योजना छ। एसईई परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.