गृह सम्हालेका लामिछानेको गैरजिम्मेवार अभिव्यक्ति : जीवी राईका सारा बदमासीको ठेक्का लिनुपर्ने हो?

गृह सम्हालेका लामिछानेको गैरजिम्मेवार अभिव्यक्ति : जीवी राईका सारा बदमासीको ठेक्का लिनुपर्ने हो?

प्रतिवादीहरूको बयान सुरु, थप एक जना पक्राउ

काठमाडौं : बुटवलको सुप्रिम सहकारी ठगीविरुद्ध अभियोग दर्ता भएका तीन जनाको बयान सकिएको छ। रुपन्देही जिल्ला अदालतमा ओम गुरुङ, दीपेश पुन र दुर्गा चापागाईँ पाण्डेको बयान सकिएको हो।

सहकारी ठगीमा पक्राउ परेका ६ जना मध्ये तीन जनाको बयान सकिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए। ‘तीन जनाको बयान सकिएको छ, बाँकी प्रतिवादीहरूको बिहीबार बयान हुन्छ,’मरासिनीले पहिचानसँग भने,‘बयान सकिए लगत्तै थुनछेक बहस सुरु हुन्छ।’

प्रतिवादी २८ मध्ये मङ्गलवार थप एक जना पक्राउ परेका छन्। काठमाडौँमा पक्राउ परेका प्रतिवादीलाई बेलुकी बुटवल पुर्‍याइएको छ। पक्राउ परेका प्रतिवादीहरूले अदालतमा भने इन्कारी बयान दिएका छन्।

बचतकर्ताहरूले भने बचत रकम ठगीमा संलग्नहरूलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले ‘बचत रकम फिर्ता देऊ’ ‘सहकारी ठगलाई राजनीतिक संरक्षण बन्द गर’, ‘जीवी राई खोइ? भन्देऊ रवि दाइ’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

सहकारी पीडित सङ्घर्ष समितिका संयोजक विजयकुमार नेपालले सहकारीको तीन करोड रुपैयाँ हिनामिना भएको र त्यसमध्येको १ करोड ९६ लाख रुपैयाँ रवि लामिछानेको नाममा गएको पुष्टि भइसकेको भन्दै जवाफ माग गरे।

सहकारी पीडित दुर्गा रिमालले सहकारीबाट पैसा लगेको बैङ्क स्टेटमेन्टमा देखिएको उल्लेख गर्दै गृहमन्त्रीको पदमा बसेर ठगलाई लुकाउन नपाइने बताइन।

अर्का सहकारी पीडित कृष्णप्रसाद खरेलले जीवी राई आकाश पाताल जहाँ भए पनि खोजेर ल्याउन चुनौती दिए।

गृहमन्त्री लामिछानेले सहकारीको २ करोड अपचलन गरेको पुष्टि, प्रहरी र सरकारी वकिल प्रतिवादी बनाउन डराए

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई सत्ता शक्तिको आडमा उन्मुक्ति दिने प्रपञ्च सुरु भएको भन्दै पीडित बचतकर्ताहरूले आन्दोलन गर्दै आएका छन्।

लामिछानेको नाममा ऋण स्वीकृत भएको प्रहरीको अनुसन्धानमा देखिए पनि दोहोरो राहदानीको कसुरमा माफी पाए झैँ यसपटक पनि जोगाउन सत्ता गठबन्धनसहित सिङ्गै सरकार लागेको छ।

गत चैत ६ गतेको संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानबाट दोषी देखिए लामिछानेलाई कारबाही गर्न कसैले नरोक्ने दाबी गरेका थिए। तर सप्रमाण सुप्रिमको रकम हिनामिना प्रकरणमा रवि जोडिएको तथ्य सार्वजनिक भइसक्दा पनि कारबाही त परको कुरा अभियोग पत्रमा नाम राख्न समेत प्रहरी डराएको छ।

प्रहरीले गरेको अनुसन्धानबाट लामिछानेको नाममा २ करोड रुपैयाँ ऋण स्वीकृत भएको रुपन्देही जिल्ला अदालतमा पेस गरेको अभियोग पत्रमा उल्लेख छ। तर अभियोग पत्रमा २ करोड लिएका लामिछानेको नाम भने राखिएको छैन।

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी ठग्ने रवि र गृहमन्त्री रवि लामिछाने एउटै भएको कुरा प्रहरीले छुट्याउन नसकेको बताएका छन्। ठगी गर्ने लामिछाने र गृहमन्त्री एउटै हुन वा होइनन् भन्ने कुरा खोज्न पनि संसदीय समिति आवश्यक रहेको महामन्त्री थापाले उल्लेख गरे।

लामिछाने आक्रोशित

केही समय मत्थर भएको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा आफ्नो नाम जोडिएपछि गृहमन्त्री लामिछाने आक्रोशित बनेका छन्। रकम जम्मा गर्ने व्यक्ति पक्राउ पर्ने तर गृहमन्त्री भएकै कारण ऋण लिने लामिछाने भने छाती फुलाएर हिँडिरहेका छन्।

लामिछानेले सहकारीबाट ऋण नलिएको दाबी गरेका छन्। ‘मेरो व्यक्तिगत खातामा सहकारीको पैसा आएको लिएको गएको केही होइन,छैन’उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ल्याप्चे, हस्ताक्षर समेत छैन। अर्थात् मैले ऋण लिएको छैन। मेरो नाम लेखिएको मात्रै छ। रकम जम्मा गर्नेले स्पष्ट भनेकी छिन कि कसैले नाम लेखिदिनु भनेको भरमा रवि लामिछानेको नाम लेखिदिएको मात्रै हो।’

देशको गृह प्रशासन सम्हालेका लामिछानेले जीवी राईका सारा बदमासीको ठेक्का लिनुपर्ने हो? भन्दै प्रश्न समेत गरेका छन्। ‘के अभियोग पत्रमा मैले गैरकानुनी ऋण लिएको भन्ने पुष्टि भएको छ र? अभियोग पत्रमा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा तत्कालीन समयमा शेयर धनी रहेको बाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टि भएको कतै केही छ?,उनले लेखेका छन्,‘म जीवी राईले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको आधिकारिक व्यक्ति थिए?’

गृहमन्त्री बने लगत्तै लामिछानेले जीवी राई तत्कालै पक्राउ पर्ने अभिव्यक्ति दिएका थिए। उनले संचारमाध्यमका लागि ब्रेकिङ न्युज दिने बताएका थिए। तर, अहिले लामिछानेकै नाम अभियोग पत्रमा लेखिएपछि बोली फेरिएको छ।

लामिछानेले दुई चार करोड ठग ठाग गरेर जीवन धान्न पर्ने हैसियतको मान्छे आफू नभएको उल्लेख गरेका छन्। उनले सहकारी ठगी कार्यमा कहीँ कतैबाट नजोडिएको र नदेखिएको प्रमाण सहितको तथ्य पुष्टि हुँदाहुँदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न भनेका छन्।

सञ्चारमाध्यममा आएका समाचारको खण्डन गर्दै लामिछानेले मिडियाहरूमा आएका समाचारलाई “आलु काउली“ को संज्ञा दिएका छन्। चैतै दसैँको समेतसँगै शुभकामना दिएका गृहमन्त्री लामिछानेले आफूले लेखेको विषयमा भोली फेरि अर्कै समाचार आलु काउली कि काउली आलु? कि मिक्स? भनेर प्रश्न पनि गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading