तारकेश्वरमा बालबालिकाहरूलाई जेठ १३ देखि आईपीभी खोप लगाइँदै

तारकेश्वरमा बालबालिकाहरूलाई जेठ १३ देखि आईपीभी खोप लगाइँदै

काठमाडौँ : तारकेश्वर नगरपालिकामा पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम यही जेठ १३ देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ।

नेपालमा कोरोना महामारी लगायतका विभिन्न कारणले २०७३ वैशाख देखि २०७५ असोजसम्म जन्मिएका बच्चाहरूलाई पोलियो विरुद्धको आईपीभी लगाउन सकिएको थिएन। उक्त अवधिमा आई.पी.भि खोप लगाउन छुटेका बालबालिकाहरूलाई यस पटक सरकारले देशव्यापी रूपमा खोप लगाउन लागेको हो।

देशव्यापी रूपमा सञ्चालन हुने यस अभियानको लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिकाहरू विद्यालयमा अध्ययन गर्ने भएकाले विद्यालयमा नै गएर खोप लगाइनेछ। २०७५ असोज पछाडि जन्मिएका बालबालिकाहरूलाई सरकारले नियमित खोपमा नै पोलियो विरुद्धको उक्त खोप लगाउँदै आएको छ।

ज्येष्ठ १३ गते देखि तारकेश्वर नगरपालिकाका भित्र बसोबास गर्ने करिब १२ हजार बालबालिकालाई पोलियो रोग विरुद्धको आईपीभी खोप लगाइने कार्यक्रम रहेको तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुमार शाहले जानकारी दिए।

शाहले तारकेश्वर नगरपालिकाका ११ वटै वडाहरूका ५५ खोप केन्द्रबाट २०७३ वैशाख देखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरूलाई खोप लगाउने कार्यक्रम रहेको उनले बताए।

खोपका लागि आवश्यक जनशक्ति, जनशक्तिलाई तालिम तथा अभिमुखीकरण, खोप केन्द्र र स्वंसेवकहरुको परिचालनको व्यवस्थापन गरिएको तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक गणेश कुँवरले बताए।

कुँवरले तारकेश्वरको ११ वटै वडाहरूमा वडा खोप समन्वय समितिहरू, स्वास्थ्यकर्मीहरू, स्वंयसेविकाहरु, खोप कार्यकर्ताहरू, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई खोपका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए।

पोलियो विरुद्ध आईपीभी कार्यक्रममा एलर्जी हुने, सिकिस्त बिरामी भएका बालबाललिकाहरुलाई भने खोप लगाउन नहुने तारकेश्वर नगर स्वास्थ्य शाखा प्रमुख शाहले बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.