सिरोहिया पक्राउमा सत्ता र प्रतिपक्षीबीच जुहारी

सिरोहिया पक्राउमा सत्ता र प्रतिपक्षीबीच जुहारी

काठमाडौं : नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको बयान शुक्रवार हुने भएको छ।

बुधवार साँझसम्म म्याद थपको बहस भएको र बिहीबार सार्वजनिक बिदा भएका कारण उनको बयान शुक्रवार हुने धनुषाका सहायक जिल्ला न्यायधिवक्ता अजित कुमार लाल कर्णले जानकारी दिए।

धनुषा प्रहरीका अनुसार सिरोहियासँग सामान्य सोधपुछ भइरहेको छ। आधिकारिक बयान भने सुरु नभएको धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। मङ्गलवार पक्राउ परेका सिरोहियालाई शुक्रवारसम्म हिरासतमा राख्ने अनुमति प्रहरीसँग छ।

शुक्रवार बयान नसकिए म्याथ थप गर्ने तयारी प्रहरीको छ। सिरोहिया पक्राउ विरुद्ध सत्ता र सत्ता समर्थित बाहेक सबै खनिएका छन्। निजी क्षेत्रका तीन व्यवसायीक सङ्गठनले सिरोहिया पक्राउ विरुद्ध आपत्ति जनाएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति निकालेर कानुन विपरीत काम गरेको प्रमाणित भए जो कोही कारबाहीको भागिदार हुनुपर्ने तर उजुरी परेकै भरमा उद्योगी, व्यवसायीलाई पक्राउ गरिहाल्ने र थुन्ने कामले सकारात्मक सन्देश नजाने टिप्पणी गरेका छन्।

ट्रान्सपरेन्सी इन्टरनेशनलकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले सत्ता र शक्तिमा पहुँचका आधारमा कसैलाई अपराधबाट उन्मुक्ति दिने तानाबाना बुन्नु अनुचित भएको बताएकी छन्। बिज्ञप्ति निकालेर उनले भनेकी छन्,‘स्वार्थको द्वन्द्व, रिसइवी वा बदलाको भावनाले कुनै पनि नागरिक विरुद्ध राज्यशक्तिको दुरुपयोग गर्नु पनि उत्तिकै अनुचित हो।’

कैलाश सिरोहिया पक्राउ पर्नुको ६ आधार

सिरोहिया पक्राउविरुद्ध सत्ता र प्रतिपक्षबीच भने जुहारी चलेको छ। नेपाली काँग्रेसका शीर्ष नेताहरूले सिरोहिया गिरफ्तारीविरुद्ध सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला सत्तारुढ नेकपा एमाले सरकारको बचाउमा लागेको छ।

नागरिकता किर्ते मुद्दामा पक्राउ परेका सिरोहियाको समर्थनमा काँग्रेस नेताहरूले गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसँग जोडेपछि सत्तारुढ एमाले रक्षात्मक देखिएको हो। सहकारी ठगी काण्ड लुकाउन सिरोहियालाई पक्राउ गरिएको भन्दै काँग्रेस नेताहरूले लोकतन्त्र नै धरापमा परेको टिप्पणी गरेका छन्।

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले सिरोहिया पक्राउ पर्नुलाई सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने बताएका छन्। झापामा सडक उद्घाटन कार्यक्रममा ओलीले सिरोहिया कुनै समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर पक्राउ गरेको बताए।

नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा काँग्रेस नेता डा. शेखर कोइरालाले भने सिरोहियालाई प्रतिशोध साध्न गृहमन्त्री लामिछानेले पक्राउ गरेको आरोप लगाए।

सिरोहिया पक्राउको प्रधानमन्त्रीले नै जिम्मा लिएकोमा आपत्ति जनाउँदै कोइरालाले गृहमन्त्री लामिछानेको नागरिकता र राहदानी तथा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको दोहोरो राहदानीमा किन कारबाही हुन सकेन? भनेर सोधेका छन्।

थुनामा रहेका सिरोहियालाई भेट्न जनकपुरधाम पुगेका काँग्रेसका अर्का नेता विमलेन्द्र निधिले नागरिकता किर्ते नभएको फैसला नै सुनाएका छन्। जनकपुरधाम विमानस्थलमै निधिले पत्रकार सम्मेलन गरेर सिरोहिया रिहाइको माग गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.