तीन देशको लुज फोरम, शरणार्थीबारे बोलेनन् भुटानी मन्त्री

तीन देशको लुज फोरम, शरणार्थीबारे बोलेनन् भुटानी मन्त्री

काठमाडौँ : नेपाल, बङ्गलादेश र भुटान जलवायु परिवर्तनको मुद्दा साझा बनाउन सहमत भएका छन्।

नेपालका वन तथा वातावरण मन्त्री नवल किशोर शाह सुडी, बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरी र भुटानका कृषि तथा पशुपंक्षीमन्त्री ल्योन्पो योन्टेन फिन्टक्शोबीच भएको अनौपचारिक छलफलमा जलवायु परिवर्तनको मुद्दा साझा रूपमा उठाउनेमा सहमत भएका हुन्।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले त्रिदेशीय अनौपचारिक छलफलमा जलवायु परिवर्तनको मुद्दामा साझा धारणा बनाएर प्रस्तुत हुने सहमति भएको बताए। अन्तराष्ट्रियस्तरमा अब हुने फोरमहरूमा मानव, पहाड र जलवायुको मुद्दामा साझा धारणा बनाएर प्रस्तुत गर्ने कुरा भएको छ,सहसचिव ढकालले पहिचानसँग भने, लुज फोरम जस्तै बनाएर राम्रा अभ्यासलाई तीन वटै देशले क्षमता अभिवृद्धिमा लगाउने भन्ने कुरा भएको छ।

बङ्गलादेश र भुटानका मन्त्रीले अन्तर्राष्ट्रिय पर्वतीय संवाद सुरु हुने अघिल्लो दिन ८ जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए। नेपालसहित तीन देशका समकक्षी मन्त्रीहरूको भेटमा विशुद्ध जलवायु परिवर्तनको मात्रै कुरा भएको सहसचिव डा. ढकालले बताए।

भुटानका मन्त्रीसँग नेपालमा रहेका शरणार्थीको विषयमा अनौपचारिक कुरा भयो भन्ने प्रश्नमा सहसचिव ढकालले त्यस्तो कुरा भएको नोटिसमा नआएको बताए। ‘हामीले पर्वतीय संवादमा निम्ता दिएका हौँ,अरू विषय नै थिएन,’उनले पहिचानसँग भने,एउटा विषयमा छलफल गर्न निम्तो दिएर अर्को कुरा उठाउने संस्कार पनि त होइन।’

भुटानी मन्त्री बोलेनन्

नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र दिएर अमेरिका पठाउने धन्धा चलेको भुटानका कृषि मन्त्रीले चाल नपाएका पक्कै होइनन्। आफ्ना देशका नागरिक नेपालको शरण लिएर मात्रै बसेका छैनन्,उनीहरू नेपालको बाटो हुँदै अमेरिका, क्यानडा, अस्ट्रेलिया, नेदरल्याण्ड्स पनि पुगेका छन् भन्नेमा जानकार भुटानको वन मन्त्री समेत रहेका फिन्टोक्शोले थप बुझ्ने प्रयास समेत गरेनन्।

भुटानी राजाको आदेश पालक जस्तो व्यवहार गरेर फर्किए फिन्टोक्शो। उनी शुक्रवार बिहान आफ्नै देश फर्किए। तर, आफ्नो देशका नागरिकले शरण लिइरहेकोबारे उनले केही बोलेनन्। कुनै प्रतिक्रिया जनाएनन्।

त्यही नक्कली भुटानी शरणार्थी काण्डमा नेपाल सरकार मन्त्री, सचिव, सल्लाहकार, बिचौलिया जेल परेका छन्। वर्तमान सरकारले वाहवाही पाएको सुरुको काण्ड नै नक्कली भुटानी शरणार्थी हो।

भुटानी बनाएर अमेरिका पठाउने बहानामा लाखौँ रकम असुल्न रचिएको आपराधिक गिरोहका कारण सक्कली भुटानीहरू पीडामा छन्। आफन्त भेट्न नपाई कति जनाको त मृत्यु नै भइसकेको छ। आफन्त भेट्ने आशामा शिविरको छाप्रो कुरेर बसेका भुटानीको सोधखोज गर्ने सामान्य मानवीयता समेत दर्साएनन् मन्त्री फिन्टेक्शोले।

संसद् सदस्यबाट निलम्बनमा परेका टोपबहादुर रायमाझी, उपराष्ट्रपति कार्यालयको सचिव पदबाट निलम्बनमा परेका टेकनारायण पाण्डे नक्कली भुटानी शरणार्थी प्रकरणले पुर्पक्षका लागि थुनामा छन्।

२० वैशाख २०८० मा पक्राउ परे लगत्तै निलम्बनमा परेका सचिव पाण्डे केन्द्रीय कारागार जगन्ननाथदेबल सुनधारामा छन्। पाण्डेसँगै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण उच्च अदालत पाटनको आदेशमा ४५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। खाँण गृहमन्त्री हुँदा गृहको सचिव थिए पाण्डे।

विद्यालय निरीक्षकको रूपमा २०५१ मा सरकारी सेवा प्रवेश गरेका हुन् पाण्डेले। विद्यालय निरीक्षक, शाखा अधिकृत, कार्यक्रम संयोजक र योजना अधिकृतको रूपमा जिल्ला शिक्षा कार्यालय प्युठान, गुल्मी र पाल्पामा उनले काम गरे।

जिल्ला शिक्षा अधिकारीको रूपमा २०६१ देखि २०६५ सम्म जिल्ला शिक्षा कार्यालय दाङ र जुम्लामा रहेका पाण्डेले २०६५ मा उपसचिव बनेपछि प्रशासन पुनर्संरचना आयोग, शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रमा काम गरे।

प्रधानमन्त्री प्रचण्ड र भुटानका कृषिमन्त्रीबीच भएन शरणार्थीको कुरा

२०६७ फाल्गुण देखि सहसचिव बनेका पाण्डेले निर्देशकको रूपमा शैक्षिक जनशक्ति विकास केन्द्र र शिक्षा विभागमा काम गरे। व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको परियोजना निर्देशक, शैक्षिक जनशक्ति विकास केन्द्रको महानिर्देशक, शिक्षा विकास तथा मानव श्रोत विकास केन्द्रको उपमहानिर्देशक र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको महानिर्देशक बने पाण्डे।

पाण्डे २०७६ भाद्र देखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनीमा प्रदेश सचिव र २०७६ फाल्गुण देखि कर्णाली प्रदेश सरकारको प्रमुख सचिव बने। २०७७ साउनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव बनेका पाण्डे ठ्याक्कै एक वर्षपछि गृह मन्त्रालयको सचिव बने। २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत पाण्डे उपराष्ट्रपति कार्यालयको सचिवमा कार्यरत रहँदा पक्राउ परेका हुन्।

उनीसँग कारागारमा पूर्वउपप्रधान तथा उर्जामन्त्री समेत रहेका निलम्बित सांसद रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा.ईन्द्रजित राईसहित जेल परेकाहरू आदेश बदर गराउन सर्वोच्च अदालतसम्म पुगे। सर्वोच्चले पनि काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेको छ।

सर्वोच्चको आदेशसँगै जिल्ला अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ सुरु गर्ने तयारी भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार भएकाहरूको हकमा म्याद तामेलीको सूचना जारी भएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ।

उच्च अदालतको धरौटीमा छुटेकाहरूले तारेख लिएका छन्। मूल मुद्दाको सुनुवाइ छिट्टै सुरु हुने अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। ‘सुनुवाइका लागि प्रक्रिया सुरु भएको छ,म्याद तामेलीको सूचना जारी भएको छ, कोही कोही सम्पर्कमा पनि आएका छन्,’पन्थीले पहिचानसँग भने,’अब छिट्टै मुद्दाको सुनुवाइ गर्ने तयारी छ, प्रक्रिया सुरु भइसकेको छ।’

उच्च र सर्वोच्चले जिल्लाको आदेशमा मात्रै सुनुवाइ गरेको हो। मूल मुद्दा विचाराधीन अवस्थामै छ। अब जिल्ला अदालतमा पुर्पक्षका लागि थुनामा पठाएकाहरूलाई अब थुनामै राख्ने या थुना मुक्त गर्ने भनेर सुनुवाइ हुनेछ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.