एमालेको सर्वसम्मत अध्यक्ष बन्ने ओली नीति : प्रतिस्पर्धीलाई निकाल्ने, विरोधीलाई निलम्बन

एमालेको सर्वसम्मत अध्यक्ष बन्ने ओली नीति : प्रतिस्पर्धीलाई निकाल्ने, विरोधीलाई निलम्बन

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको ११ औँ महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा चुनिन निर्मम भएर लागेका छन्।

ओलीको अभियान एमाले पार्टी रहे पनि नरहे पनि एक पटक सर्वसम्मत अध्यक्ष बनेर नाम लेखाउनमा केन्द्रित भएको नेताहरूले बताएका छन्।

ओलीले सर्वसम्मत अध्यक्ष बन्न अहिले देखि नै प्रतिष्पर्धीहरुलाई पालैपालो पार्टीबाट निष्कासन र निलम्बन गर्न सुरु गरेका छन्। ओलीको पहिलो प्रहार १० औँ महाधिवेशनमा अध्यक्षका प्रत्याशी भीम रावलमाथि भएको छ।

ओलीले आफ्नो गुटमा आउन नचाहेका नेताहरूलाई निलम्बन गरेका छन्। बिन्दा पाण्डे र उषाकिरण तिम्सिना ६ महिनाका लागि निलम्बनमा परेका छन्।

२०७८ मङ्सिरमा भएको एमालेको १० औँ महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने ओलीको प्रयास रावलले उम्मेदवारी दिएपछि असफल भएको थियो। अब हुने पार्टीको ११ औँ महाधिवेशनबाट भने ओलीले आफू सर्वसम्मत अध्यक्ष बनेर नाम लेखाउन अहिलेदेखि नै विरोधीहरूलाई ठेगान लगाउन थालेका हुन्।

१० औँ महाधिवेशनमा माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलाई कारबाही गरेका ओलीले यो पटक भीम रावललाई पार्टीबाट निकालेका छन्। आफूसँग प्रतिस्पर्धी गर्न खोजे जो कोही नेता ओलीको कारबाही पर्ने त्रास एमालेमा देखिएको छ।

ओलीको कारबाहीमा परेका रावलले बुधवार पत्रकार सम्मेलन गरेर आफूमाथिको कथित कारबाहीले निरंकुशताको झल्को दिएको बताए। ओलीमाथि प्रश्नैप्रश्न गरेका रावलले अन्ततः पार्टी नेतृत्वले एमालेको सदस्यता खोसेर खाइदिएपछि आफू नयाँ बाटो मोड्न बाध्य भएको सुनाए।

रावलले ओलीमाथि आरोप नै आरोप लगाए। एमालेको नेतृत्वबाट आफूमाथि भएका प्रतिशोधपूर्ण व्यवहार र अध्यक्ष ओलीको पूर्वाग्रहप्रति लक्षित गर्दै रावलले व्यङ्ग्यात्मक कविता पनि सुनाए।

संयोगवश रावलले पत्रकार सम्मेलन गरेर नयाँ पार्टी खोल्ने अभियान सुरु गरेकै दिन अध्यक्ष ओलीको विपक्षमा उभिएका कारण एमालेमा स्वागत नपाएका बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा समाहित हुन निर्णायक छलफल गरे।

बामदेवलाई माधव नेपालको पार्टी कार्यालयमा स्वागत (तस्बिरहरु)

रावल र गौतम नेपाली राजनीतिको मूलधारमा चल्तीको नाम हो। एमालेको उपाध्यक्ष भइसकेका यी दुई नेता दुई/तीन वर्षयता पर्दापछाडि अर्थात् निष्क्रिय छन्। रावलले उपप्रधानमन्त्री, गृह र रक्षामन्त्री तथा गौतमले गृहमन्त्रीसमेतको जिम्मेवारी सम्हालिसकेका छन्।

तत्कालीन नेकपा भङ्ग भए पछि गौतमले ‘कम्युनिस्ट पार्टी एकता अभियान’ थालेका थिए। एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालसहितका पदाधिकारीसँगको लामो छलफल पछि गौतमले अब एकता घोषणा हुन धेरै दिन कुर्न नपर्ने प्रतिक्रिया दिए।

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले एमालेबाटै असन्तुष्ट र बाहिरिएका नेतालाई समेटेर पार्टीलाई बलियो बनाउने नीति लिएको छ। एकीकृत समाजवादीका प्रचार विभाग प्रमुखसमेत रहेका उपाध्यक्ष प्रकाश ज्वालाले गौतमसँग मात्र नभएर रावलसँग सकारात्मक ढङ्गले छलफल चलिरहेको बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.