पाथीभरा केबलकार विवादले पूर्वी नेपाल अशान्त, प्रधानमन्त्री ओलीमाथि प्रश्न

पाथीभरा केबलकार विवादले पूर्वी नेपाल अशान्त, प्रधानमन्त्री ओलीमाथि प्रश्न

काठमाडौं ः पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्न सहज बनाउन केबलकार निर्माण गर्ने विषयले उग्र रूप लिएको छ।

बर्सेनि लाखौँ भक्तजनले दर्शन गर्ने उक्त मन्दिर जाने उकालो बाटोमा केबलकार बनाउन सरकारले आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाललाई जिम्मा दिएदेखि नै स्थानीयहरू विरोधमा उत्रिएका हुन्।

विरोध, झडप र आरोप प्रत्यारोप हुँदा हुँदा यो विषय अहिले राष्ट्रिय मुद्दा नै बनेको छ। काठमाडौँको चन्द्रागिरिमा ७३ सालदेखि सञ्चालनमा आएको केबलकार पनि ढकाल कम्पनीकै हो।

चन्द्रागिरिको सिङ्गो डाँडो नै कौडीको भाउमा ४० वर्षका लागि भाडामा दिएको आरोप लागेको सरकारमाथि लागेको छ। राज्यको जमिनमा केबलकार बनाएर भ्युटावर, रिसोर्ट चलाउँदै जिपलाइनसम्मका व्यवसाय चलाएर लाभ लिइरहेको आरोप ढकालमाथि लागेको छ।

पाथीभरा केबलकार १५ महिनामा बनाइसक्ने लक्ष्यका साथ काम थालेको ढकालको कम्पनीले बुटवल र मौलाकालिकामा पनि केबलकार परियोजना सञ्चालन गरिरहेको छ।

त्यसबाहेक पाथीभरासहित अन्य कयौँ ठाउँमा सो कम्पनीले केबलकार परियोजना निर्माणको काम जारी राखेको छ। अहिले देशैभरि केबलकार बनाउने जिम्मा ढकालले नै पाउनुको कारण खोज्न थालिएको छ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७५ साल पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले केबलकार निर्माण गर्नका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको थियो। त्यसपछि ठेकेदार कम्पनी हिमालय कन्स्ट्रक्सनका नाममा ढकालले पाथीभरा केबलकार निर्माणको जिम्मा लिएका हुन्।

स्थानीयको विरोधको बाबजुद त्यसको २ वर्ष पछि ०७८ वैशाख ११ गते ओलीले नै शिलान्यास गर्ने कार्यक्रम तय गरिएको थियो। व्यापक विरोध पछि ओली पछि हटेका थिए।

तीन महिनाअघि गत कार्तिक २४ गते जिल्लास्तरकै नेताबाट सुरक्षाकर्मीको घेरामा यो परियोजनाको शिलान्यास गरिएको थियो। शिलान्यासको अघिल्लो दिन नै पक्ष र विपक्षी समूहबीच झडप भएको थियो। त्यसयता युद्धभूमिमा परिणत मन्दिर जाने क्षेत्रको विवाद जिल्ला, प्रदेश हुँदै अहिले केन्द्र सरकारसम्म आइपुगेको छ।

केही दिन अघि केबलकार निर्माणस्थलमा सुरक्षार्थ खटिएका प्रहरीसँगको झडपमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका तीन जना उपचाररत छन्। सोही घटनामा राज्यले बल प्रयोग गरेको विरोधमा मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले दुई दिन अरुणपूर्वका नौ जिल्लामा बन्दको आह्वान गरेका छन्।

बन्दका कारण पहिलो दिन आइतबार पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ। बन्दकर्ता र प्रहरीबीच झापाको दमकमा झडप भएको छ।

झडपका क्रममा ८ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

डिएसपी चन्दका अनुसार राजमार्गमा गुडिरहेका गाडीलाई बन्दकर्ताले रोक्न खोज्दा पक्राउ गरिएको हो। बन्दकर्ताबाट प्रहरीमाथि ढुंगामुडा प्रहार भएपछि एक सेल अश्रुग्याँस प्रहार गरेर स्थिति नियन्त्रणमा लिन खोजिएको डिएसपी चन्दले बताए।

बन्दको प्रभाव पाँचथरमा पनि परेको छ। जिल्लामा सवारी साधनहरू कम चलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कौशल कुमार बुढाथोकीले जानकारी दिए।

बन्दको प्रभाव इलाममा पनि परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक मान बहादुर राईले जानकारी दिए।

सरकारले अहिले भइरहेको घटनाक्रमलाई नियन्त्रणमा लिएर काम सक्ने रणनीतिमा लागे पछि राजनीतिक दल र नेताहरूले पनि बोल्न थालेका छन्। त्यहाँका सांसद, पहिचान पक्षधरदेखि कलाकारसम्म पक्ष विपक्षमा विभाजित भएका छन्।

काठमाडौँमा पाथीभरा केबुलकारको विषयमा धारणा राख्न आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पाथीभरा मन्दिरमा कुनै एक व्यवसायीको लाभको लागि केबलकार बनाउन दिन नहुने बताए।

गृह मन्त्रालयले पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिइसकेको छ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले अवस्था थप जटिल भएपछि गृह मन्त्रालयले नै समाधानका लागि नेतृत्व लिने बताएको जानकारी दिए।

पाथीभरको भेटी सङ्कलन र व्यवस्थापनको काम पाथीभरा क्षेत्र विकास समितिले गर्दै आएको छ। उक्त समितिको खातामा जम्मा भएको रकम सरकारकै जिम्मामा छ।

यद्यपि सो रकमबाट वा सरकारी निकायबाटै केबलकार निर्माण गर्न छोडेर निश्चित घरानाको जिम्मा दिनुले सरकारको सुशासन अभियानलाई नै गिज्याएको टिप्पणी भएको छ।

यो पनि : पाथीभरा केबलकार निर्माणमा तनाव, विशेष सुरक्षा फोर्स तैनाथ

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.