काठमाडौँ : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूका लागि वर्ष २०८१ आशैआशमा बितेको छ। इन्द्रेणी (समलिङ्गी) विवाह कानुनी रूपमा दर्ताका लागि १२ वैशाख २०८१ मा ७५३ वटै स्थानीय तहलाई परिपत्र जारी भयो। समलिङ्गी, तेस्रोलिंगी जोडीले आआफ्नै वडा कार्यालयमा विवाह दर्ता गराउन सहज भयो।
विवाह दर्ता अस्थायी भनिएको छ। सर्वोच्च अदालतले अस्थायी अभिलेख रहने गरी नै अन्तरिम आदेश दिएको थियो १२ असार २०८०मा। दक्षिण एसियामा पहिलो पटक लमजुङको दोर्दी गाउँपालिका कार्यालयले १३ मङ्सिर २०८० मा माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई समलिङ्गी विवाह दर्ता गरेर प्रमाणपत्र दिएको थियो।
वर्ष २०८१ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्र अनुसार समलिङ्गी पुरुषले विदेशी समलिङ्गी पुरुष र समलिङ्गी महिलाले विदेशी समलिङ्गी महिलासँग स्थानीय तहमा कानुनी रूपमा विवाह दर्ता गरे।
समलिङ्गी तेस्रोलिंगी विवाह सहज तरिकाले दर्ता गर्न परिपत्र जारी
वर्षको अन्त्य १० चैतमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ११ ले समलिङ्गी जोडीको विवाह कानुनी रूपमा दर्ता गर्यो। तुलसीपुर ११ का बिपनी चौधरी र बढैयाताल गाउँपालिका वडा नं ९ बर्दियाकी सुनिता चौधरीले वडा कार्यालयमा कानुनी रूपमा विवाह दर्ता गरेर प्रमाणपत्र पाए।
वर्षको अन्त्यतिर सर्वोच्च अदालतले १२ असार २०८० मा दिएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने बहस गर्यो। निर्णय सुनाउने मिति भने नयाँ वर्ष २०८२ को वैशाख २८ गतेका लागि तोकिएको छ।
नयाँ वर्ष २०८२ सुरु भएसँगै सर्वोच्च अदालतबाट वैवाहिक सम्बन्धलाई सहज कानुनी व्यवस्था हुने गरी निर्णय आउने आशा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गरेका छन्।
वैवाहिक अधिकारमा न्यायाधीश र महान्यायाधिवक्ताबीच सवाल-जवाफ, ‘स्वतन्त्रताको लिमिटेशन तोकौँ’
वर्ष २०८१ को सुरुमै नेपालमा पहिलो पटक नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले अन्तर्राष्ट्रिय इन्द्रेणी पर्यटन प्रवर्द्धन सम्मेलन आयोजना गर्यो। सम्मेलनमा सहभागी गो म्यागेजिनकी सम्पादक डियान एन्डरसनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटनको बजार विश्वमा विश्वमा २ खर्ब ११ अर्ब डलरको रहेको बताइन।
अमेरिका, चीन र जापानमा रहेको इन्द्रेणी पर्यटनको खरिद शक्ति नेपालसँग पनि रहेको जानकारी दिइन। उनका अनुसार इन्द्रेणी पर्यटनको बजार अहिले ४.७ ट्रिलियन डलर पुगेको अध्ययन छ।
इन्द्रेणी पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन : नेपालको समावेशी चरित्रको प्रशंसा
इन्द्रेणी पर्यटन सम्मेलनसँगै मायाको पहिचान नेपालले आयोजना गरेको मिस्टर गे नेपाल २०२४ को उपाधि लक्ष्मण मगरले पहिरिए। उनले एक लाख रुपैयाँ नगद पुरस्कार पाए। फस्ट रनर अप अशोक कोइरालाले ७५ हजार र सेकेन्ड रनर अप नवीन जिसीले ५० हजार रुपैयाँ नगद पुरस्कार पाए।
पर्यटन सम्मेलनमा स्टार प्रमोटर बनेका पराक्रम राणाले सहभागी नहुन र आयोजकलाई गाली बेइज्जती गरेपछि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भयो। मुलुकी अपराध संहिता २०७४ को दफा ३०५,३०६(क), ३०७ बमोजिम कसुर माग गरिएको रिटमा राणाले गल्ती स्वीकार गरी प्रतिउत्तर दिएपछि वर्षको अन्त्यमा सुनुवाइ भयो।
राणाले यौनअभिमुखिकरणतर्फको झुकावलाई लिएर लिखित रूपमा सामाजिक सञ्जालको प्रयोग गरी सार्वजनिकिकरण, प्रवाहीकरण गरेकाले मुलुकी अपराध संहिताको दफा ३०८ को हदम्याद भित्र कानुन बमोजिम गाली बेइज्जतीमा सजाय गरी क्षतिपूर्ति दिलाउन रिटमा माग गरिएको छ।
पराक्रम राणाको गैरकानुनी अभिव्यक्ति, अदालतमा मुद्दा दर्ता
मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचनमा मायाको पहिचान नेपालको पहलमा देशको राजधानी काठमाडौँको कीर्तिपुर नगरपालिको मेयर पदमा तेस्रोलिंगी दिपक महर्जन (हनी) र वडा नं १ को अध्यक्षमा मौनी महर्जनले प्रतिस्पर्धा गरे।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रोलिङ्गी महिला हनि र वडा नं ४ को वडा अध्यक्षमा मौनीलाई उम्मेदवार बनाएको थियो।
तेस्रो लिङ्गीले घोषणा गरे कीर्तिपुरको मेयरमा उम्मेदवारी, जसपा नेपालले दियो टिकट
नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले २००४ देखि मे १७ लाई उत्सवका रूपमा मनाउँदै आएका छन्। दिवसका अवसरमा मायाको पहिचान नेपालले राष्ट्रिय समावेशी आयोगसँग अन्तरक्रिया कार्यक्रम गर्यो।
विश्व स्वास्थ्य सङ्गठनले सन् १९९० मे १७ मा समलिङ्गी, तेस्रोलिङ्गी हुनु कुनै रोग वा असामान्य अवस्था होइन भनी घोषणा गरेको थियो।
आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई कानुनी मान्यता सहित सम्मानित भएर बाच्ने वातावरण सिर्जना हुँदै गएको बताइन।
मानसिक रोगको सूचीबाट हटाएको दिन मे १७, समावेशी आयोगसँग मायाको पहिचानले गर्यो अन्तरक्रिया
मे १७ कै अवसर पारेर नील हिरा समाजले आयोजना गरेको मिस पिंकको उपाधि अनमोल राईले हात पारे। राईले १ लाख रुपैयाँ नगद पुरस्कार पाए। ७५ हजार रुपैयाँ राशिको फस्ट रनर अपको उपाधि सरोजी न्यौपाने र ५० हजार रुपैयाँ राशिको सेकेन्ड रनरअपको उपाधि आरोही बस्नेतले पाए।
वर्ष २०८१ मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा ‘यौनिक’ शब्द उल्लेख गरिएन। नीति तथा कार्यक्रममा दलित, मुसहर, पिछडा वर्ग, वादी, लोपोन्मुख तथा सीमान्तकृत जाति एवम् लैङ्गिक अल्पसङ्ख्यकको अधिकार सुरक्षित गरिने भनियो। पछिल्ला आर्थिक वर्षका नीति तथा कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय उल्लेख गरिन्थ्यो।
नीति तथा कार्यक्रममा ‘यौनिक’ गायब, लैङ्गिक अल्पसङ्ख्यकको अधिकार सुरक्षित
एचआइभी सङ्क्रमण भएर मृत्यु भएका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको चिरशान्तिको कामना गर्दै माइतीघर मण्डलामा दीप प्रज्वलन गर्यो मायाको पहिचान नेपालले।
एचआइभी सङ्क्रमण भएर मृत्यु भएका समुदायका सदस्यको सम्झना एवं चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्यो। अन्तर्राष्ट्रिय रूपमा एचआइभी सङ्क्रमित भएर मृत्यु भएका समुदायका सदस्यहरूको सम्झनामा हरेक वर्ष मे १९ मा दीप प्रज्वलन हुँदै आएको छ।
माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरू)
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले व्यवस्था बदलिए पनि अवस्था उस्तै रहेको गुनासो वर्ष २०८१ मा कायम रह्यो। नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी), यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपाल (एफएसजिएमएन), क्रुजएड्स नेपालले दातृ निकायबाट प्राप्त अनुदानमा एउटै परियोजना सञ्चालन गरेर समुदायको नाममा अनियमितता गरेको उजुरी नै पर्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गरे प्रश्न : व्यवस्था बदलिए पनि अवस्था उस्तै किन?
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले थर्डजेण्डर (तेस्रोलिङ्गी) लाई सम्मानपूर्वक बाच्न पाउने हक रहेको बताए।
राष्ट्रिय महिला भेलामा लिङ्ग परिवर्तन गरेर महिला बन्ने, स्वअनुभूतिका आधारमा महिलाको नागरिकता माग गर्नेतर्फ सङ्केत गर्दै ओलीले भने,‘यस गलत वृत्ति प्रवृत्तिबाट महिला आन्दोलनलाई जोगाउन हाम्रा महिला दिदीबहिनीले अगुवाइ गर्नुपर्छ।’
थर्ड जेण्डरबारे केपी ओली : सम्मानपूर्वक बाँच्ने हक छ, त्यसका लागि समाज सचेत र संवृद्ध हुनुपर्छ
लिङ्ग परिवर्तन र हर्मोनल क्लिनिक गैरकानुनी रूपमा सञ्चालन भएको विषय सङ्घीय संसदमा उठ्यो। समलिङ्गी, तेस्रोलिङ्गीले आफ्नो पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता पाइरहेको अवस्थामा पनि महिला, पुरुष बन्ने र पुरुष, महिला बन्ने गलत अभ्यासको संसदमा आवाज उठेको हो।
प्रतिनिधि सभा बैठकको विशेष समयमा जनता समाजवादी पार्टीकी सांसद रञ्जु झाले हर्मोन क्लिनिक र लिङ्गी परिवर्तन गराउन उक्साउने काम तत्काल नरोके यसले विकराल रूप लिने बताइन।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्र स्वार्थका लागि गठित समूह सक्रिय भएको आरोप लाग्यो। नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी), यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपाल (एफएसजिएमएन), क्रुज एड्स लगायतका संस्थाको नेतृत्व एक अर्कालाई संरक्षण गर्दै समुदायभित्र विभाजन ल्याउने खेलमा लागेको आरोप लागेको हो। यो स्वार्थका लागि गठित समूह पारदर्शिताको प्रश्नबाट भने वर्षको अन्तसम्मै भाग्यो।
स्वार्थका लागि गठित समूह सक्रिय, पारदर्शिताको कुरा उठाउँदा जागिर चट
सरकारको १६ औँ पञ्चवर्षीय योजनामा जबरजस्ती विवाहलाई प्रश्रय दिने सामाजिक संरचना, मूल्य मान्यता तथा सोको अन्त्य गर्ने उल्लेख गरियो। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको जबरजस्ती विवाहलाई सरकारले कुरीति एवं कुप्रथा भनेको छ।
बालविवाहसँगै पञ्चवर्षीय योजनामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको जबरजस्ती विवाहलाई प्रश्रय दिने सामाजिक संरचना, मूल्य मान्यता तथा सोको अन्त्य गर्ने भनिएको छ।
योजना निर्माणका क्रममा आयोगले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका तर्फबाट पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तसँग सुझाव लिएको थियो।
नीलो फूलको प्रभाव : जबरजस्ती विवाह अन्त्य गर्ने सरकारको योजना
महिला देखिन हर्मोन सेवन गर्ने विपिन धिमालको उपचारकै क्रममा निधन भयो। विपीनको निधनपछि उनका साथी तेस्रोलिङ्गीले पहिचानसँग भनेका थिए,’हर्मोन लिनुहुँदैन भनेर सल्लाह दिने कोही भएनन्,उक्साउने मात्रै भए।’
राम्री देखिन हर्मोन सेवन गरेका विपिनको कलिलै उमेरमा निधन
नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको नाममा गलत धन्धा चलाइरहेका गैरसरकारी संस्थाका गतिविधि नियन्त्रण गर्न संसदमा आवाज उठ्यो।
ब्लु डायमन्ड सोसाइटी, क्रुजएड्स, एफएसजिएमएन, मितिनी नेपालको हर्मोन वितरण क्लिनिकको संरक्षण र यौन अङ्ग शल्यक्रिया गर्न उक्साउने अभियान रोक्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराए।
वैदेशिक अनुदान लिएर नेपालको सांस्कृतिक पहिचानमाथि आक्रमण गर्ने यी संस्थाहरूका नेतृत्व सक्रिय हुँदा नियमकारी निकाय मौन बस्न नहुने सांसदहरूले बताए।
लिङ्ग परिवर्तन गराउने धन्धाको संसदमा खैलाबैला , महिला बनेका पुरुष देखि तर्सिए सांसद
जनता समाजवादी पार्टी (जसपा) नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सवाल महाधिवेशनमा उठायो। अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रतिवेदन पेस गर्दै नेपालमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन भने।
प्रतिवेदनमा लेखिएको छ,’महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत समुदाय, पिछडा वर्ग, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, भूमिहीन सुकुम्वासी आदिलाई सामाजिक न्यायको प्रत्याभूति गराउनुपर्छ।’
उपेन्द्रको प्रतिवेदनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक : सामाजिक न्यायको प्रत्याभूति गराउनुपर्छ
नील हिरा समाजकी अध्यक्ष सञ्जीव गुरुङ (पिंकी, शीतल)ले जलविद्युत कम्पनीको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यलाई शेयर बिक्री गरेर लाखौँ रकम उठाएको आरोप लाग्यो। विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी प्रा.ली.को नाममा समुदायबाट लाखौँ रुपैयाँ उठाएर अपचलन गरेको आरोप पिंकीमाथि पीडितहरूले लगाए।
ब्यु डायमन्ड सोसाइटीकी अध्यक्ष गुरुङले २०७४ वैशाख १८ गतेका दिन रसुवा धुन्चे, ५ मा रहेको विवेकशील आदर्श इन्भेस्टमेन्ट क.प्रा.ली.नामको हाइड्रोपावरमा शेयर खुलेको भन्दै समुदायका सदस्यसँग नगद उठाएको रसिद सार्वजनिक भयो।
पिंकी गुरुङले शेयर बिक्री बापत समुदायबाट लाखौँ उठाएको आरोप
नेपालमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले राष्ट्रिय धान दिवस एवं इन्द्रेणी रोपाई जात्रा मनाए। मायाको पहिचान नेपालले डाकिनी हस्पिटालिटीको सहयोगमा बौद्ध स्तुपा प्राङ्गणमा धान दिवस एवं रोपाई जात्रा मनायो।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले मनाए इन्द्रेणी रोपाई जात्रा
हर्मोन थेरापी र सेक्सचेन्जका लागि दबाब दिनेहरूलाई तेस्रोलिङ्गी हनि महर्जनले सामाजिक सञ्जालमा प्रश्न गरे। हर्मोन थेरापी लिएर ब्रेष्ट बढाएको वा घटाएको नै हुनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्रका केही व्यक्तिको सोच रहेको उनले लेखे।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको हक अधिकारका लागि काठमाडौं कीर्तिपुरमा स्थापना भएको समर्पण सभ्य समाज नेपालका सचिव हुन महर्जन।
तेस्रो लिङ्गी पथ प्रदर्शक समेत रहेका महर्जनले कुनै व्यक्तिको लैङ्गिक पहिचानमा हर्मोन थेरापी र सेक्सचेन्ज गर्न दबाब दिनेहरूलाई खबरदारी गरे।
तेस्रो लिङ्गीहरूको प्रश्न : हर्मोन थेरापी र सेक्सचेन्ज नगर्ने तेस्रो लिङ्गी होइनन्?
अजिमा एन्ड सिक्स जेण्डर्स वृत्तचित्र प्रिमियर भयो। एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले युरोपियन युनियनको आर्थिक सहयोगमा निर्माण गरेको १ घण्टा २८ मिनेट अवधिको वृत्तचित्र काठमाडौँको विश्वज्योति सिनेमा हलमा प्रिमियर भयो।
महिला, पुरुष बाहेकका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले मातृप्रधान समाजमा मान्यता र सम्मान पाएको वृत्तचित्रमा देखाइएको छ। वृत्तचित्रले नबुझेको, नसोचिएको इतिहास अगाडि ल्याएको छ। वृत्तचित्र हेरेपछि राष्ट्रिय सभाकी पूर्वसदस्य विमला राई पौड्यालले आफू एक्साइटेड भएको बताएकी थिइन।
अजिमा एन्ड सिक्स जेण्डर्स : पितृसत्तात्मक र मातृसत्तात्मक मूल्यहरूबीचको जटिल सम्बन्ध उजागर
जन्मँदाको बालकलाई महिलाको नागरिकता दिने सर्वोच्च अदालतको आदेशले अधिकांश यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय सशङ्कित बने। सर्वोच्चको आदेश कार्यान्वयनमा आउँदा जन्मँदाको बालकले महिलाको नागरिकता लिन यौन अङ्ग प्रत्यारोपण अर्थात् लिङ्ग परिवर्तनको चिकित्सकीय प्रमाण पेस गरिरहनु पर्दैन। स्वघोषणा अर्थात् स्वअनुभूतिलाई नै आधार मान्दा पुग्छ।
पूर्वप्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले जन्मँदाका बालक रिट निवेदक रुक्शना कपालीलाई नागरिकता लगायतका सरकारी प्रमाणको अभिलेखमा महिला उल्लेख गर्न जारी गरेको परमादेशको पूर्णपाठ वर्ष २०८१ मा सार्वजनिक भयो।
पारलिंगीलाई महिला या पुरुष बनाउने फैसलामा सर्वोच्च अदालत कसरी चुक्यो?
दातृ निकायबाट एउटा शीर्षकमा लिएको अनुदान अर्कै प्रयोजनमा खर्च गरेको पाइएको शङ्कामा सोधिखोजी भयो। लिने प्रयोजन एउटा, खर्च गर्ने प्रयोजन अर्कै भएपछि सोधिखोजी गर्ने काम नेपालस्थित अमेरिकी दूतावासले गर्यो।
ब्लु डायमन्ड सोसाइटी सहितका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजीबीटीआई) समुदायको अधिकारका लागि स्थापना भएका संस्थाले एउटा शीर्षकमा अनुदान लिएर अर्को काममा प्रयोग गरेकोमा सोधिखोजी गरेको दूतावासले जनायो। तर, सोधखोज गरेको बताएको दूतावासले त्यसयता कुनै प्रतिक्रिया दिए।
अनुदान सहयोगको प्रयोजनबारे अमेरिकी दूतावासले गर्योप सोधखोज
‘आखिर जन्म लिए पनि म मान्छेकै रूप,किन दिन्छ समाज अनेकथरी रूप’ शब्द सहितको पुष्पा नामक तीज गीत सार्वजनिक भयो। पुष्पा अर्थात् तेस्रोलिङ्गीको वास्तविक कथा गीतले बोलेको प्रतिक्रिया सार्वजनिक भए। गीतमा दक्षिण एसियामै पहिलो पटक कानुनी रूपमा इन्द्रेणी विवाह दर्ता गर्ने माया गुरुङ्ग तेस्रोलिङ्गी मोडल बनिन्।
जन्मँदा बालक हुर्कर्दै जाँदा महिला स्वभावका पुष्पाले तेस्रोलिङ्गीको वास्तविकता देखाइदिएका छन्। गीतले माया गुरुङ्गको वास्तविक कथालाई जीवन्त बनाएको छ।
तेस्रो लिङ्गी कथामा तीज गीत, मायाले गरिन जीवन्त अभिनय
समलिङ्गी, तेस्रोलिङ्गीको पहिचान खुलाएका जोडीको वर्ष २०८१ भदौ २ गते पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नं. ९ मा इन्द्रेणी विवाह दर्ता भयो।
पूर्वी नवलपरासी, बौदीकाली गाउँपालिका वडा नं.१ कि ज्योति सार्की र रामपुर वडा नं ९ की चिना कुमारी नेपालीले कानुनी रूपमा विवाह दर्ता प्रमाणपत्र पाए। २९ माघ २०८० मा अन्जुदेवी श्रेष्ठ (दीप्ति) र सुप्रिता गुरुङ्गले पहिलो लेस्बियन जोडी बनेर कानुनी रूपमा विवाह दर्ता गरेका थिए।
दोस्रो लेस्बियन जोडी : चिना र ज्योतिले पाए विवाह दर्ताको प्रमाणपत्र
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गत जेठ २८ को निर्णय अनुसार छानबिनमा परेका ब्लु डायमन्ड सोसाइटी, एफएसजीएमएन, मितिनी नेपाल, क्याम्पेन फर चेन्ज, क्रुज एड्स नेपाल, क्वयेर यूथ ग्रुपले सुशासन र पारदर्शिता कायम नगरेको पाइयो।
यी संस्थाहरूले सुशासन र पारदर्शिताको मुख्य इन्डिकेटर सोसल अडिट र पब्लिक हेयरिङ नै नगरेको पाइएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए। सरकारी निकाय एवं गैरसरकारी संस्थाहरूले सञ्चालन भएका भइरहेका सबै योजना, कार्यक्रमहरू तथा अन्य गतिविधिको सम्बन्धमा सरोकारवाला सबैसँग सार्वजनिक सुनुवाइ (पब्लिक हेयरिङ) गर्नुपर्ने व्यवस्था छ।
ब्लु डायमन्ड सोसाइटीको सार्वजनिक सुनुवाइ जिरो, अनियमितताको उजुरीमा छानबिन जारी
नेपालमा पहिलो पटक समावेशी (रेन्बो) पर्यटन सम्भाव्यताबारे भएको राष्ट्रिय परामर्शबारे नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) की अध्यक्ष पिंकी गुरुङको अभिव्यक्ति प्रति नेपाल पर्यटन बोर्डले आपत्ति जनायो।
पिंकीले सामाजिक सञ्जालको ग्रुपमा तीज कार्यक्रममा १२ लाख खर्च गरेर समुदायका सदस्यलाई खाना खुवाएको तर,पर्यटन बोर्डमा भएको कार्यक्रममा चिया बिस्कुट खुवाएर ८ लाख ५० हजार सकेको गैरजिम्मेवार अभिव्यक्ति दिएकी थिइन।
ब्लु डायमन्डकी अध्यक्ष पिंकीको अभिव्यक्तिमा बोर्डले जनायो आपत्ति
हर्मोन र लिङ्ग प्रत्यारोपणको अभियान चलाउँदै आएकाहरूको उक्साहटमा मिडियाविरुद्ध नै उजुरी दर्ता भयो। ३१ वर्षको कलिलै उमेरमा निधन भएका क्रिष्टिना मगरको समाचारलाई बहाना बनाएर हर्मोन प्रयोग र यौन अङ्ग प्रत्यारोपणको मलजल गर्न प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरे।
हर्मोन प्रयोग र यौन अङ्ग प्रत्यारोपणको मलजल, बिरोधमा समाचार लेख्ने मिडियालाई कारबाही गर्ने धम्की
कास्कीको रुपा गाउँपालिका वडा नं ५ को कार्यालयमा इन्द्रेणी विवाह दर्ता भयो। पोखरा महानगरपालिका वडा नं ८ का अञ्जली थापा र रुपा गाउँपालिकाका लक्ष्मी सिलवाल (राज)बीच इन्द्रेणी विवाह दर्ता भएको हो।
राज र अञ्जलीले १२ वर्षपछि पाए विवाह दर्ताको प्रमाणपत्र
कोशी प्रदेश सरकारले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई आत्मनिर्भर बनाउन आर्थिक सहयोग गर्यो। मन्त्रालयको सहयोगमा लिड नेपालको समन्वयनमा झापाको दमकमा इन्द्रेणी सेवारो खाजा घर सञ्चालनमा आयो।
दमकमा तेस्रोलिङ्गीहरूले सञ्चालन गरे ‘इन्द्रेणी सेवारो’
विदेशी नागरिकसँग विवाह गर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीलाई वडा कार्यालयबाट दर्ता प्रमाणपत्र दिन थालियो। नवलपुरको देवचुली नगरपालिका वडा नं ३ केउरेनीले अमेरिकी नागरिक र स्थानीय नागरिकको इन्द्रेणी विवाहलाई दर्ता गरेर प्रमाणपत्र दियो।
केउरेनीका सम्पूर्ण अधिकारी र अमेरिका नागरिक हिमा गुरुङबीचको विवाहले कानुनी मान्यता पायो।
अमेरिकी नागरिकसँग इन्द्रेणी विवाह दर्ता, परिवारमा खुसीयाली
नेपालमा एक नेपाली समलिङ्गी पुरुषले अमेरिकी समलिङ्गी पुरुषसँग विवाह दर्ता गरे। सुनसरीको धरान उपमहानगरपालिका वडा नं ११ को कार्यालयले प्रजित बुढाथोकी र न्युयोर्क, संयुक्त राज्य अमेरिकाका जोसेफ फोस्टर एलिसलाई समलिङ्गी विवाह दर्ता प्रमाणपत्र दियो।
नेपाली समलिङ्गी पुरुष प्रजित बुढाथोकी र अमेरिकी समलिङ्गी पुरुष जोसेफ फोस्टर एलिसले नेपालको धर्म, संस्कृति एवं परम्परा अनुसार ऐतिहासिक वैवाहिक समारोह गरे। नेपालको वैवाहिक परम्परा अनुसार नै पण्डित शिवराज रेग्मी र शिव सत्यालले दुबैलाई दुवैले एकअर्कालाई माला र टीका लगाइदिए। विधि पुर्याएर दुवैलाई आर्सीवाद दिए।
नेपाली परम्परा अनुसार वैवाहिक समारोहका अभिभावक इन्द्रेणी पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक राजदूत एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्त बनेका थिए।
नेपाली र अमेरिकी समलिङ्गी पुरुषको ऐतिहासिक वैवाहिक समारोह
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि लड्दै आएकी तेस्रोलिङ्गी महिला आनिक रानामगरको निधन भयो। तेस्रोलिङ्गीहरूकी ’आमा’ भनेर परिचित तथा अधिकारकर्मी रानाको निधनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले शोक व्यक्त गरे।
तेस्रो लिङ्गीहरूको ‘आमा’ भनेर परिचित आनिकको निधन, समुदाय स्तब्ध
२०६४ पछि ०७०, ०७४ र ०७९ मा भएका चुनावमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक उम्मेदवार बने। निर्वाचित हुन सकेनन्। ०८४ मा राष्ट्रिय चुनाव आउँदैछ। दलहरूले मिसन ०८४ को नारा लगाइरहेका छन्।
समावेशिताको अभियान चलाइरहेको र निर्वाचन कानुन संशोधनका लागि सर्वोच्च अदालतमा रिट दायर गरेको मायाको पहिचान नेपालले मिसन ८४ को भ्रममा नपर्न आग्रह गर्यो।
तेस्रोलिङ्गीहरूको मिसन ८४ : भ्रममा नपर्न गरे आग्रह
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक लागि वर्ष २०८१ मा उद्यमी बनाउने योजना सरकारी अधिकारीले सार्वजनिक गरे। मायाको पहिचान नेपालले गरेको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उद्यमी बनाउने योजना सुनायो।
यौनिक तथा लैङ्गिक समुदाय : गणनाका लागि खबरदारी, उद्यमी बन्ने मौका
फेब्रुअरी २४ देखि २८ सम्म एसियाभरका झन्डै ६०० लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक कार्यकर्ता र मानवअधिकार रक्षकहरू काठमाडौँमा भेला भए। समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रोलिंगी र अन्तरलिंगीहरुको अन्तर्राष्ट्रिय सङ्गठन इल्गा एसियाको १० औँ सम्मेलनमा सहभागी हुन भेला भएका थिए उनीहरू।
‘विविधतामा गतिशीलता : न्यायसङ्गत, समावेशी, र दिगो एसियाको लागि एकता’ भन्ने नारा थियो सम्मेलनको। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि सुरु भएको सम्मेलनको नारा र छलफल गर्ने एजेन्डा भने अघिल्लो सम्मेलन भन्दा केही फरक थिएनन्। विभेद, लाञ्छनाविरुद्ध एकबद्ध भएर उभिने अघिल्लो सम्मेलनको जस्तै समान एजेन्डा सम्मेलनले पारित गर्यो।
अन्तर्राष्ट्रिय मानवअधिकार रक्षकहरू नेपालको ऐतिहासिक पहिचान बुझ्ने अवसरबाट वञ्चित
कोशी प्रदेश सभाका सभामुख अमिर विष्टले अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र राष्ट्रको सम्पत्ति बन्नुपर्ने बताए। उनले वृत्तचित्रलाई पुस्तकका रूपमा प्रशासन गर्न निर्माता एवं निर्देशक सुनिलबाबु पन्तलाई सुझाव दिए।
अजिमा र ६ लैङ्गिक पहिचानसम्बन्धी वृत्तचित्र हेरेपछि सभामुख विष्टले नीति निर्माण गर्ने तहमा बस्नेहरूलाई देखाउन सके भावी दिनमा एउटा पुँजी हुन सक्ने बताए।
कोशीका सभामुखको प्रतिक्रिया,’अजिमा वृत्तचित्र भावी दिनमा राष्ट्रको सम्पत्ति हुन सक्छ’
वर्ष २०८१ मा तेस्रोलिंगीहरुले मागेर वा बधाई दिएर लिने दानमा पनि कमिसन लिने ठेकेदारको खोजी भयो। न्यूरोडको व्यापारिक कम्प्लेक्समा आर्सीवाद मागेर १४/१५ हजार रुपैयाँ उठ्थ्यो उनको।
‘हाम्रो भाषामा ममी भन्ने चलन छ। उहाँले कुन साइडमा जाने भनेर भन्नु भन्थ्यो। न्यूरोडका कम्प्लेक्समा जान छुट थियो। एक घण्टामा १४/१५ हजार रुपैयाँ उठ्थ्यो त्यो टाइममा,’उनले भने,’कहाँबाट आउनु भयो? उहाँहरू नेपाली भन्नुहुन्छ। आइडेन्टी केही छैन उहाँहरूको। त्यसमा छानबिन गर्नै पर्ने हो। सङ्घले गर्नुपर्ने हो। सङ्घले केही पनि नगरेको अवस्था छ अहिले।’
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि व्यवसाय प्रवर्धन तालिम पुस्तिका तयार भयो। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक उद्यमीहरूलाई आधारभूत तहबाट व्यवसाय स्थापना गर्न र आफ्नो पहिचान तथा अनुभवसँग सम्बन्धित चुनौतीहरू पार गर्दै अघि बढ्न तालिम पुस्तिकाले चरणबद्ध निर्देशन प्रदान गर्ने मायाको पहिचान नेपालले जनाएको छ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि व्यवसाय प्रवर्धन तालिम पुस्तिका विमोचन
स्वास्थ्यमा जटिल समस्या निम्त्याउने हर्मोनको जथाभाबी विक्री वितरण रोक्न संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले नेपाल सरकारसँग माग गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित सरकारी निकायहरूको पन्तले ध्यानाकर्षण पनि गराएका छन्।
तेस्रोलिंगी महिला नैना प्यारालाइसिस भएर थला परेकी छन्। शरीरको बायाँ भाग नचल्दा उनको सहारा ह्विलचियर बनेको छ। नाच्ने, गाउने विगत सम्झेर उनी रुन बाध्य छिन्। प्यारालाइसिस भएर थला परेकी उनी पहिलेकै अवस्थामा फर्कन उपचार गराइरहेकी छन्।
महिला बन्न हर्मोन खाँदा प्यारालाइसिस
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नेपाल भ्रमणको निम्तो दिए। अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पको महिला वा पुरुष दुई लिङ्ग मात्रै हुने कार्यकारी आदेश दुराशयपूर्ण रहेको उनीहरूले बताए।
तेस्रोलिंगीबारे बुझ्न ट्रम्पलाई नेपाल भ्रमणको निम्तो
नयाँ वर्ष २०८२ को सुरुमा एसियाकै पहिलो समलिंगी सभासद् सुनिलबाबु पन्तले निर्माण गरेको वृत्तचित्र अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान झापाको दमकमा बुधबार विशेष स्क्रीनिङ हुँदैछ। दिउँसो ३ बजे डिम्याक्स सिनेमा हल, दमकमा विशेष स्क्रीनिङ हुन लागेको पन्तले जानकारी दिए।
यस्तै बिहीबार बैशाख ४ गते दिउँसो ३ बजे पथीभरा सिनेमा हल, विर्तामोडमा अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्रको विशेष स्क्रीनिङ हुनेछ।
प्रवेश निशुल्क रहेको र मातृसत्तात्मक परम्पराहरूमा अन्तर्दृष्टिबारे छलफल हुने पन्तले जानकारी दिए। नेपालको सांस्कृतिक र लैङ्गिक विविधताको गहिरो अध्ययन गर्ने अवसरको लाभ उठाउन पन्तले अनुरोध गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.