‘साक्षरता मात्र बढाउने शिक्षाले समग्र विकास सम्भव छैन’

‘साक्षरता मात्र बढाउने शिक्षाले समग्र विकास सम्भव छैन’

1.6k
SHARES

सुर्खेत : कर्णाली विकास केन्द्रद्वारा आयोजित ‘एजुकेसन एक्स्पो’ ले साक्षरता मात्र बढाउने शिक्षा प्रणालीले मुलुकको समग्र विकास सम्भव नहुने निष्कर्ष निकालेको छ। एक्स्पोले व्यावसायिक, व्यवहारिक र सीपमुखी शिक्षामा आधारित पाठ्यक्रम निर्माणको आवश्यकता औँल्याउँदै सरकारलाई नीति निर्माणमा ध्यान दिन सुझाव दिएको छ।

केन्द्रले सार्वजनिक गरेको घोषणापत्रमा कर्णालीका अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न, शिक्षकहरूको क्षमता अभिवृद्धि, बालमैत्री शैक्षिक पूर्वाधारको विकास तथा उद्यमशीलता र नवप्रवर्तनमा आधारित शिक्षा प्रणाली निर्माणमा सरकारको ध्यानाकर्षण गराइएको छ।

कर्णालीका विद्यालयहरूमा गुणस्तरीय शिक्षाको अभाव, उच्च शिक्षामा पहुँचको सीमितता र दक्ष जनशक्ति उत्पादनमा आएको कमजोरीलाई सम्बोधन गर्न एक्स्पोले सङ्घीय, प्रदेश तथा स्थानीय सरकारलाई नीतिगत परिवर्तन र प्रभावकारी कार्यक्रम ल्याउन आग्रह गरेको छ।

यस एक्स्पोको निष्कर्षलाई सार्वजनिक छलफलमार्फत सरकारको नीति निर्माण प्रक्रियामा समावेश गर्नुपर्ने आवश्यकता औँल्याउँदै, आयोजकले कर्णालीको शैक्षिक भविष्य उज्यालो बनाउने निष्कर्ष कार्यान्वयनका लागि सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको बताए।

तीन दिनसम्म सञ्चालन भएको एक्स्पोमा कर्णालीको समग्र शैक्षिक अवस्थामाथि बहुआयामिक छलफल र गहन विचार–मन्थन गरिएको थियो। कार्यक्रममा मन्त्री, सचिव, विज्ञ, अन्तर्राष्ट्रिय तथा स्थानीय सङ्घ–संस्थाका प्रतिनिधिसहित १३ जना प्यानलिस्टहरूबीच विभिन्न सत्रमा अर्थपूर्ण बहस सम्पन्न भएको थियो।

कार्यक्रमले कर्णालीको शैक्षिक सुधारका लागि शिक्षामा आमूल परिवर्तन अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। एक्स्पोका सत्रहरू “अब कर्णाली जाग्छ: शिक्षामा पुनर्विचार, भविष्यको पुनर्निर्माण”, “व्यवहारिक, व्यावसायिक शिक्षा र नवप्रवर्तन”, “स्रोत, सीप र शिक्षा” लगायतका विषयमा केन्द्रित रहे।

वैशाख ३ गतेदेखि सुरु भएको उक्त एक्स्पो तीन दिनसम्म सञ्चालन भएको थियो।

समाचार शेयर गर्नुहोस्
1.6k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.