सारा शुलमैनको क्रान्तिकारी पुस्तक ‘वैचारिक द्वन्द्व दुर्व्यवहार होइन’ले आजको विश्वभरि फैलिएको एक खतरनाक प्रवृत्तिप्रति औँला ठड्याउँछ – सामान्य वैचारिक असहमतिको अवस्था वा द्वन्द्वलाई ‘दुर्व्यवहार’को रूपमा अतिरञ्जित गर्दै, त्यसका माध्यमबाट अरूलाई दोष दिने, बहिष्कार गर्ने, र आफूलाई सधैँ पीडितको रूपमा स्थापित गर्ने प्रवृत्ति। सारा शुलमैनका यी विश्लेषणहरू नेपालमा बढ्दो ट्रान्स आन्दोलनभित्र देखिएको आन्तरिक सङ्घर्षसँग गहिरो रूपले प्रतिबिम्बित हुन्छन्, जहाँ केही ट्रान्स अधिकारकर्मीहरूले सुनिलबाबु पन्तलाई विचारात्मक असहमति होइन, व्यक्तिगत दमनकारीको रूपमा चित्रण गर्दै रद्द गर्न खोजिरहेका छन्।
नेपालका खुलेर आएका पहिलो समलैंगिक सांसद, ब्लु डायमन्ड सोसाइटीका संस्थापक, र पछिल्लो समय ‘मायाको पहिचान नेपाल’ मार्फत समावेशी आर्थिक अधिकार, स्वास्थ्य र पर्यटन प्रवर्द्धनमा क्रियाशील सुनिलबाबु पन्तमाथि पछिल्ला वर्षहरूमा केही ट्रान्स कार्यकर्ताहरूले सङ्गठित बहिष्कार र दाताहरूमा ‘क्यान्सल’ गर्न दबाब दिने प्रयास गर्दै आएका छन्। यस्ता कार्यहरूले विचारको स्तरमा आवश्यक हुने संवाद, आलोचना, र सह-अस्तित्वको सम्भावनालाई पूरै अस्वीकार गर्छ।
तर सारा शुलमैनले चेतावनी दिन्छिन्—वैचारिक द्वन्द्व र दुर्व्यवहार एउटै कुरा होइनन्। जब आलोचना, असहमति वा फरक दृष्टिकोणलाई हिंसा वा अपमानका रूपमा व्याख्या गरिन्छ, तब व्यक्तिले केवल आफ्नो ‘पीडितपना’लाई हतियार बनाउँछ, जबाफदेहिता होइन।
विचारको ठाउँमा उन्मूलन : नेपालमा बहिष्कारको राजनीति
ट्रान्स आन्दोलनभित्र देखिएको यो प्रवृत्ति अब केवल व्यक्तिगत मतभेदको विषय होइन। अब यसले संस्थागत बहिष्कारको स्वरूप लिइसकेको छ-जहाँ पन्तसँग वैचारिक मतभेद राख्ने कार्यकर्ताहरू अन्य संस्थाहरूलाई दबाब दिन्छन्, ‘उहाँलाई बोलाउनु हुँदैन,’ ‘मिडियाले उहाँलाई नछापोस्,’ ‘दाताले उहाँलाई नदिउन्।’ यस्ता मागहरू आलोचनाका नाममा दमन हुन्। ती बहस होइनन्, संस्कृतिकै शुद्धीकरण अभियान हुन्।
सारा शुलमैन भन्छिन्, ‘जब समूहले आफूभित्रका समस्या हेर्न अस्वीकार गर्छ, उनीहरूले बाहिरी ‘दुश्मन’ सिर्जना गर्छन्, जसलाई दोष दिन सकियोस्।’ नेपालका केही ट्रान्स नेतृहरूले आज यही गर्दैछन्, स्व-आलोचना गर्नुको सट्टा, पन्तलाई ‘समस्या’को रूपमा चित्रण गर्दै आफैँको ‘पहिचान राजनीति’लाई सुरक्षित राख्ने प्रयास।
पूर्वीय र पाश्चात्य दृष्टिकोण : लिङ्ग पहिचानको विविधता
यस विवादमा विचार गर्नुपर्ने अर्को गहिरो तह हो-लैङ्गिक पहिचानसम्बन्धी सांस्कृतिक दृष्टिकोणको भिन्नता। पाश्चात्य (विशेष गरी अब्राहमिक संस्कृतिहरू-जस्तै यहुदी, इस्लाम, इसाई) ले लिङ्गलाई दुईवटा मात्र मान्छन् पुरुष र महिला। यो दृष्टिकोण आधुनिक ट्रान्स अधिकार आन्दोलनको धेरै पक्षमा प्रभावशाली देखिन्छ, जहाँ लिङ्ग पहिचानलाई व्यक्तिगत आत्मबोध मात्रको रूपमा हेरिन्छ।
तर पूर्वीय तथा आदिवासी संस्कृतिहरूमा, लिङ्गको परिभाषा अत्यधिक समावेशी र बहुआयामिक रहँदै आएको छ। बौद्ध धर्ममा कम्तीमा ५ लिङ्गहरूको वर्णन पाइन्छ। नेपालको मातृसत्तात्मक इतिहासमा ६ वा ७ लिङ्गसम्मको स्वीकृति थियो। हिन्दु धर्ममा पनि तृतीय प्रकृति वा शिव-शक्तिको अवधारणा रहेको छ, जसले दुईवटा भन्दा धेरै लिङ्गहरूको स्वीकृति र सम्मान गरिएको छ।
पन्तको दृष्टिकोण यस पूर्वीय विविधतालाई समेट्ने प्रयास हो-जहाँ लिङ्ग केवल यौन-अङ्गको उपज होइन, शारीरिक, सामाजिक, र सांस्कृतिक पहिचानको समुच्चय हो। तर आजका केही ट्रान्स नेतृहरूले पश्चिमी व्यक्तिगत पहिचानवादी दृष्टिकोण मात्रलाई ‘सही’ मान्दै, अरू सबै धारहरूलाई रद्द गर्न खोज्दैछन्।
आलोचना ‘डर’ होइन-प्रगतिका लागि अपरिहार्य औजार
प्रश्न उठ्छ: के हामी बहस गर्न सक्दैनौँ? के विचार फरक पर्नु ‘हिंसाु’हो? यदि सुनिल बाबु पन्तको दृष्टिकोण, रणनीति वा व्यवहारप्रति असहमति छ भने, त्यो कुरा बहसको माध्यमबाट सम्बोधन हुनुपर्छ। बहिष्कार र बहस नगर्ने रणनीतिले सामाजिक आन्दोलनको नैतिक शक्ति गुमाउँछ।
सारा शुलमैनले सही भन्छिन् – ‘असहमतिको सामना गर्न नसक्नु सत्ताको डर हो, न्यायप्रति प्रतिबद्धता होइन।’ यदि ट्रान्स आन्दोलनले आफूभित्रका आलोचनालाई सहन नसक्ने हो भने त्यो आन्दोलन पक्कै पनि मुक्तिको बाटोमा छैन।
निष्कर्ष
नेपालको ट्रान्स आन्दोलन अहिले दोबाटोमा छ। एकातर्फ, यो आन्दोलनले बहिष्कार, क्यान्सिल कल्चर (रद्द संस्कृति), र ‘पीडितपना’को हतियारिकरणमार्फत आफूलाई सबैभन्दा पीडित बनाउने दौडमा लाग्न सक्छ। अर्कोतर्फ, यसले बहस, आत्मसमीक्षा, र विचारको विविधतालाई अँगाल्दै, पूर्वीय समावेशी दृष्टिकोणमा आधारित परिवर्तनको बाटो अँगाल्न सक्छ।
सुनिल बाबु पन्तलाई ‘रद्द’ गर्नुले न्याय ल्याउँदैन- बरु यसले हाम्रो आन्दोलनबाट सबैभन्दा अनुभवी, विचारशील र प्रगतिशील आवाजहरूलाई मौन बनाउने काम गर्छ, त्यो पनि ठिक त्यही बेला जब हामीलाई तिनको आवश्यकता सबैभन्दा बढी छ।
किनभने, अन्ततः- (वैचारिक) द्वन्द्व दुर्व्यवहार होइन।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.