शिक्षक र प्रहरीबीच घम्साघम्सी, एक लाख रुपैयाँको क्षति

शिक्षक र प्रहरीबीच घम्साघम्सी, एक लाख रुपैयाँको क्षति

पत्रकार सहित २६ जना घाइते, शिक्षकहरूले आन्दोलन नरोक्ने

2k
SHARES

काठमाडौं : विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मुख्य माग राखेर सडकमा उत्रिएका शिक्षक र प्रहरीबीच घम्साघम्सी भएको छ। ५ प्रहरी र एक पत्रकार सहित २६ जना घाइते भएका छन्।

चैत २० गते सुरु शिक्षकहरूको आन्दोलन २५ औँ दिनसम्म शान्तिपूर्ण थियो। २६ औँ दिनमा आइपुग्दा भने उग्र बन्यो। बानेश्वरमा भेला भएका शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोरा बर्सायो।

शनिवार शिक्षकहरुबीच नै आपसी विवाद हुँदा एक शिक्षकको टाउकोमा टुटुल्को उठ्ने गरी हातपात भएको थियो। आइतबार प्रहरीसँग घम्साघम्सी हुँदा शिक्षकहरूको टाउकोमा लाठी बर्सिएको छ।

घाइते मध्ये २१ जना साँझ डिस्चार्ज भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले झडपका क्रममा एक लाख रुपैयाँको क्षति भएको जानकारी दिए।

घाइतेमध्ये पत्रकार सबिना कार्कीको आँखामा गम्भीर चोट लागेको छ। सबिनासँगै अन्य चार जना शिक्षकको उपचार भइरहेको उनले जानकारी दिए।

शिक्षकहरूले हिजै आन्दोलन उग्र बन्ने र निषेधित क्षेत्र तोडिने सूचना दिएपछि १२ बजे नै रिपोर्टिङका लागि प्रदर्शनस्थलमा पुगेकी प्राइम टेलिभिजनमा कार्यरत पत्रकार सबिना कार्की प्रहरीले हानेको पानीको फोहोरा लागेपछि घाइते भइन।

पानीको फोहोरा लागेर ढलेपछि प्रहरीले नै बोकेर आफूलाई अस्पतालमा पुर्‍याएको पत्रकार कार्कीले बताइन।

शिक्षकहरूको आन्दोलनलाई लिएर सत्ता र प्रतिपक्ष भने आपसमा भिडिरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले शिक्षकहरूको मागलाई यथाशक्य सम्बोधन नगरे निकै नराम्रो रूप लिन सक्ने भन्दै सरकारलाई खबरदारी गरे।

सत्तारुढ दलका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीले शिक्षकहरूलाई उचाल्ने काम गरिरहेको आरोप लगाए।

शिक्षकहरूको आन्दोलन तत्काल नरोकिने देखेपछि सरकारले शिक्षा विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ। सत्तारुढ एमालेका सांसद छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयकका १६३ दफामध्ये १२७ वटा दफामा सहमति भइसकेको जानकारी दिए। उनले शिक्षा समितिले दिएको ३५ दिनको समय सीमाभित्र रहेर उपसमितिले काम सक्ने सुनाए।

शान्तिपूर्ण आन्दोलनका क्रममा शिक्षकहरू घाइते भएपछि बसेको नेपाल शिक्षक महासङ्घको आकस्मिक बैठकले आन्दोलन नरोक्ने निर्णय गरेको छ। महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सङ्घीय शिक्षा ऐन नआएसम्म आन्दोलन जारी रहने बताए।

आवासीय चिकित्सकहरूको प्रदर्शन जारी

शिक्षकको सडक आन्दोलन सुरु भएको भोलिपल्टैदेखि प्रदर्शनमा उत्रिएका आवासीय चिकित्सकहरूले २५ औँ दिनको प्रदर्शन गरेका छन्। शिक्षकको आन्दोलन २ बजे सकिने बित्तिकै माइतीघर मण्डलामा भेला भएका चिकित्सकहरू वर्षासँगै असिना झर्दा पनि नारा लगाउँदै बानेश्वर सडकको बिजुली बजार पुलसम्म पुगेर फर्किए।

चिकित्सा शिक्षा आयोगले गरेको निर्णय निजी मेडिकल कलेजले कार्यान्वयन नगर्दा चिकित्सकहरू बाध्य भएर सडक सङ्घर्षमा उत्रिएका हुन्। सोमबार पनि प्रदर्शन जारी राख्ने उनीहरूको तयारी छ।

नेपाल चिकित्सक सङ्घले समेत दबाब बढाए पछि आन्दोलनरत चिकित्सकहरूको माग सम्बोधनको विषयमा छलफल गर्न सोमबार चिकित्सा शिक्षा आयोगको बैठक बस्न लागेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए।

सोमबारको बैठकबाट केही न केही निकास निस्कने उनको भनाई छ। स्वास्थ्य मन्त्रीले समेत निर्देशन दिइसकेको अवस्थामा चिकित्सा शिक्षा आयोगले गरेको निर्णय निजी मेडिकलले नमानेमा निलम्बनमा पर्ने वा खारेज नै गर्न सकिने प्रवक्ता बुढाथोकीले सुनाए।

निजी मेडिकल सञ्चालकले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन्। स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका अध्यक्ष शेषराज घिमिरेले निजी मेडिकल कलेजहरू निर्वाह भत्ता दिने विषयमा तयार रहेको भन्ने खबर आए पनि औपचारिक रूपमा आफूहरूलाई केही जानकारी नआएको बताए।

प्रधानमन्त्रीको अध्यक्षतामा माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई ४८ हजार (सरकारी आठौँ तहसरह) सेवा–सुविधा दिनुपर्ने निर्णय गरेको थियो। सो निर्णय कार्यान्वयन नभएको भन्दै नेपाल चिकित्सक सङ्घको आह्वानमा शुक्रवार देशभरका सरकारी अस्पतालका आकस्मिक बाहेकका सेवाहरू नै ठप्प पारिएको थियो।

समाचार शेयर गर्नुहोस्
2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.