प्रधानमन्त्री ओलीलाई चिठ्ठी : फेरी ‘आइ लव यु’ भन्न पाऊँ

प्रधानमन्त्री ओलीलाई चिठ्ठी : फेरी ‘आइ लव यु’ भन्न पाऊँ

2.6k
SHARES

आदरणीय प्रधानमन्त्री के.पी.ज्यू,

मन अमिलो बनाएरै भए नि ढोग गरे सम्म चैँ भने है, स्वीकार गरिदिनुहोस्। मैले पनि जीवनमा एक पटक आत्माबाट के पी बा “आइ लव यु,यु आर द वेस्ट” भनेको छु र त्यो बेलाको बोली गौरवको बोली थियो। नेपालीको मनबाट आएको आवाज थियो। आशाको दियो थियो। भरोसा थियो र देश प्रेमको नारा थियो। हो केपी बा तपाइको बोलीको नेपाली जनताको आशाको दियो थियो१ जुन दिन तपाइले भारतको अघोषित नाकाबन्दीको डटेर सामना गर्नु भयो त्यो दिन तपाइको तस्बिरकै भए नि पूजा गर्दै “केपी बा आइ लव यु’’ छाती फुलाएर भनेका थियौ। तपाईँको राजनीतिक यात्रा प्रेरणादायक छ। १९७० मा कम्युनिस्ट पार्टीमा प्रवेश गर्नु, १४ वर्ष जेल जीवन बिताउनु, र लोकतन्त्रको स्थापनाका लागि तपाईँको योगदान उल्लेखनीय छ। तपाईँ समेत सहभागी राजनीतिक नेतृत्वमा नेपालले नयाँ संविधान प्राप्त गर्‍यो। जसले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दिशामा अग्रसर गर्‍यो।

फेरी पनि मनबाट भन्न मन छ “के पी बा आइ लव यु, यु आर द वेस्ट’’ तर खोइ त्यो अवसर दिनु भएको? खोइ तपाइका बचन र बाचा पुरा गरेको? खोइ राज नेता बन्न खोजेको? खोइ जन नेताको भार पुरा गरेको? तपाईँ राजनेता बन्ने बाटोमा लाग्नुभयो होला, तर जननेताको मूल्य र मर्म बिर्सनुभयो। जहाँ जनताको आँसु बुझिन्छ, जहाँ जनता सरकार भएको महसुस गर्छ, त्यहाँ मात्र जननेता हुन्छ।

के पी बा अब हामीले सरर रेल देखि पानी जहाज भुली सक्यौ। फ्याट्ट थिच्दा बल्ने स्विच पनि बिर्सिसक्यौ। समृद्ध नेपाल आएकै थिएन भनिसक्यौ!

आदरणीय केपी बा!

हाम्रो सरकार छ भनेर हामीले कहिले महसुस गर्ने? एयरपोर्टमा दैनिक हजारौँ युवा बिदेसिन छाडेको दिन कहिले देख्न पाउने? मधेसका नेपालीले कहिले इज्जतका साथ नेपाली भएर बाच्ने पाउने? नेपालीले कहिले नेपाली भएर देशमै बस्न पाउने? अनि फेरी नेपाली जनताले कहिले केपी बा आइ लव यु भन्न पाउने?

प्रधानमन्त्री ज्यु, सुशासनको नारा त निकै घन्कियो, तर सुशासनको अनुभूति कहिले गर्न पाउने? गिरी बन्धु, भुटानी शरणार्थी प्रकरण, हुँदा हुँदा पोखरा विमानस्थलका दोषीलाई कहिले कानुनको दायरामा ल्याउने? तपाई आफू भ्रष्टाचार गर्नु हुन्न तर यी सब भ्रष्टहरूलाई कहिले कानुन समक्ष ल्याएर ठेगान लाउने? तपाइकै क्याबिनेटका गृहमन्त्रीलाई मानव तस्करको आरोप लाग्दै गर्दा कहिले राजीनामा गराएर अनुसन्धानलाई सहयोग गर्ने वातावरण सृजना गर्ने?

दुई तिहाइको सरकार छ भन्ने कहिले आभास दिलाउने? भ्रष्ट र तस्करहरूलाई कहिले कानुन समक्ष ल्याउने? सहकारी, मिटरब्याजी, सुकुम्वासीहरूको समस्या समाधान कहिले गर्ने? संविधान संशोधनका लागी बनेको यो गठबन्धनले कहिले संशोधन गर्ने र नेपालीले नेपाली भएर जिउन पाउने?

यसो गरौँ केपी बा, सक्नु हुन्छ सुशासन तर्फ लागौँ देश विकासको खाका अगाडि बढाउ। सक्नु हुन्न राजनीतिबाट संन्यासको घोषणा गर्नु होस। म चैँ यो कदको स्वागत गर्दै पुन केपी बा आइ लव यु भन्छु१

केपी बा यसो गरौँ न, त्यो एउटा गैरजिम्मेवार अराजक व्यक्तिले झैँ “जेठ १५ गते काठमान्डु एमालेले कब्जा गर्नु पर्छ, आन्दोलनमा सिधै घुसपैठ गराउँछु’’ भन्ने जस्ता अभिव्यक्ति फिर्ता लिइदिनुस् न, अनि तपाइको क्याबिनेटका गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा काण्ड र गृहमन्त्रीको संलग्नता बारे राजीनामा लेखाएर अनुसन्धानमा सहयोग गराइदिनुहोस्।

किनकि नेता शेखर कोइराला र सुनिल शर्माले समेत गृहमन्त्री लेखकको राजीनामा मागिरहेका छन्। “तपाइलाई के ले र किन छेकिरहेछ प्रधानमन्त्री ज्यु?” प्रधानमन्त्रीज्यू, तपाईँको योगदानको म सम्मान गर्छु। तर, वर्तमान परिस्थितिमा सुधार आवश्यक छ। सुशासन, पारदर्शिता, र जनताको अपेक्षाको सम्मान गर्दै अघि बढ्नुहोस्। यदि तपाईँले सुधारको मार्ग अवलम्बन गर्नुहुन्छ भने, म फेरि एक पटक ‘केपी बा, आइ लभ यु’भन्न सक्नेछु।

(यो चिठ्ठी एक नागरिकको दृष्टिकोणबाट लेखिएको हो, थापा एक स्वतन्त्र नागरिक हुन।)

समाचार शेयर गर्नुहोस्
2.6k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.