‘समावेशी उत्सव पात्रो’ सार्वजनिक : नेपाली मौलिकता र विविधताको उत्सव मनाउने नयाँ पहलकदमी

‘समावेशी उत्सव पात्रो’ सार्वजनिक : नेपाली मौलिकता र विविधताको उत्सव मनाउने नयाँ पहलकदमी

1.6k
SHARES

काठमाडौं — नेपाली कला, संस्कृति र पहिचानलाई सम्मान गर्दै, समावेशिता र विविधतालाई आत्मसात् गर्ने उद्देश्यसहित ‘२०८२/८३ सालको समावेशी उत्सव पात्रो‘ सार्वजनिक गरिएको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायहरूको पहिचान सहितको हक अधिकारको वकालत गर्दै आएका मायाको पहिचान नेपाल, लिड नेपाल, इनक्लुसिभ फोरम नेपाल लगायतका संस्थाहरूको सहकार्यमा सार्वजनिक गरिएको यो पात्रो मौलिक संस्कार र परम्परालाई केन्द्रमा राखेर तयार पारिएको हो।

पश्चिमेली शैलीमा जुन महिनालाई ‘प्राइड मन्थ’ भनेर मनाउने चलन बढ्दो छ। तर आयोजक संस्थाहरूको भनाइ छ — “प्राइड हाम्रो जीवनशैली हो, केवल एक महिनाको उत्सव होइन। हाम्रो समुदायसँग मौलिक संस्कार, परम्परा र उत्सवहरू छन्, जसले विविधता, प्रतिरोध, आत्मसम्मान र समावेशीपनलाई जीवन्त बनाउँछन्।”

समावेशी पात्रोमा नेपाली संस्कृति र कृषि परम्परालाई आत्मसात् गर्दै असार १५ मा रोपाइ पर्व, साउन १५ मा खिर खाने दिन, र साउन १९ मा घण्टाकर्ण चतुर्दशीलाई आत्मरक्षा र सांस्कृतिक प्रतीकका रूपमा उत्सव मनाउने उल्लेख छ।

संविधान सभाका पूर्व सदस्य एवं एलजीबीटीआईक्यू+ अभियन्ता सुनिल बाबु पन्तको नेतृत्वमा सन् २००४ देखि लैङ्गिक बहुलताको उत्सवका रूपमा मनाउन थालिएको गाईजात्रा यस वर्ष पनि साउन २५ गते व्यङ्ग्य, स्मृति र पहिचानको उत्सवका रूपमा मनाइनेछ।

त्यसैगरी, साउन/भदौमा धामी दिवस, मारुनी र लाखे नृत्य, तेस्रोलिङ्गी सौन्दर्य प्रतियोगिता तथा रेनबो सांस्कृतिक पर्वहरू आयोजना गरिने उल्लेख छ।

संवैधानिक पहिचानको सम्मान

यो वर्षको असोज २ गते — संविधान दिवसलाई आयोजक संस्थाहरू मायाको पहिचान नेपाल, लिड नेपाल, इनक्लुसिभ फोरम नेपाल लगायतले “संवैधानिक पहिचानको उत्सव” भनेर मनाउने घोषणा गरेका छन्।

यस दिन नेपालले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लागू गर्दै सबै नागरिकलाई समान रूपमा हक र अधिकार सुनिश्चित गरेको थियो। यिनै संवैधानिक उपलब्धिहरूमध्ये लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान, नागरिकता, र समान अधिकारको ग्यारेन्टी एक ऐतिहासिक उपलब्धिको रूपमा स्थापित भएको छ।

२०६४ साल चैत २८ गते, नेपालको पहिलो संविधानसभा निर्वाचनमा सुनिल बाबु पन्त लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको तर्फबाट निर्वाचित हुँदै एसियाकै पहिलो खुल्ला रूपमा समलिङ्गी अधिकारकर्मी सांसद बनेका थिए। पन्तको पहल र निरन्तर सङ्घर्षको परिणामस्वरूप संविधान निर्माण प्रक्रियामा नै यौनिक र लैङ्गिक विविधता समेटिएको हो।

नेपालको संविधानले पुरुष र महिला बाहेक अन्य लैङ्गिक पहिचानमा नागरिकता प्रदान गर्ने प्रावधानसहित, राज्यका सबै निकायमा समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छ। नेपालको संविधानलाई विश्वकै प्रगतिशील र समावेशी संविधानका रूपमा चिनाउने आधारहरूमध्ये एक मानिन्छ।

संविधानले अधिकार सुनिश्चित गरे तापनि ती अधिकारको पूर्ण कार्यान्वयनमा अझै चुनौतीहरू विद्यमान छन्। उदाहरण स्वरूप, राज्यका निकायमा समावेशी कोटामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको समावेश हुन नसकेको विषयमा मायाको पहिचान नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ।

अदालतले यस रिटलाई अग्राधिकार दिएको छ, जसले समुदायको संवैधानिक अधिकारलाई कानुनी रूपमा व्याख्या र प्रवर्तन गर्न ढोका खोल्ने अपेक्षा गरिएको छ।

आयोजक संस्थाहरू भन्छन् —“संविधानमा लेखिएका अधिकारहरू कागजमै सीमित नहोस् भन्ने उद्देश्यले हामी संविधान दिवसलाई उत्सवको रूपमा मनाउँदैछौं। हामी यो दिनलाई केवल सम्झना होइन, अधिकार कार्यान्वयनको लागि ऐक्यबद्धताको दिवसको रूपमा समेत बुझ्दछौँ।”

संविधानमा लेखिएका हरेक शब्द केवल कानुनी हैन, समावेशी भविष्यको सपना पनि हो। नेपालको संविधान हाम्रो पहिचानको दस्ताबेज हो — आउनुहोस्, यसलाई सम्मानपूर्वक उत्सवका रूपमा मनाऔँ।

अधिकार र ऐतिहासिक उपलब्धिको उत्सव

२०६४ साल पुस ६ गते सुनिल बाबु पन्त विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दिएको ऐतिहासिक आदेशको सम्झनामा विशेष कार्यक्रम गरिनेछ। त्यही आदेशले नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको संवैधानिक पहिचानको ढोका खोलेको थियो।

यस्तै, २०८० असार १२ गते सर्वोच्च अदालतले समलिङ्गी जोडीहरूलाई अस्थायी अभिलेखसहित विवाह दर्ता गर्न अन्तरिम आदेश दिएपछि, लमजुङको दोर्दी गाउँपालिकाले माया गुरुङ्ग र सुरेन्द्र पाण्डेको विवाह दर्ता गरेर नेपाल दक्षिण एसियाको पहिलो विवाह समानता मान्य गर्ने मुलुक बनेको थियो। सो ऐतिहासिक उपलब्धिको सम्मान स्वरूप मङ्सिर १३ गतेलाई विवाह समानता दिवसका रूपमा मनाइने छ।

रेनबो उत्सव र अन्तर्राष्ट्रिय संवाद

असोज-कार्तिक महिनामा नेपाल रेनबो उत्सव, मित/मितिनी व्रत, तन्त्र यात्रा, रेनबो पदयात्रा र पिकनिक लगायतका विविध कार्यक्रम आयोजना गरिनेछ। अङ्ग्रेजी नयाँ वर्ष, माघी, महाशिवरात्रि, फागु पूर्णिमा, योमरी पुन्ही र मानव अधिकार दिवस पनि समावेशी उत्सवको हिस्सा हुनेछन्।

गत वर्ष जस्तै, यस वर्ष पनि रेनबो पर्यटन सम्मेलन र मिस्टर गे नेपाल २०२६ आयोजना गरिने छ।

पश्चिमेली ढाँचालाई प्रश्न, नेपाली मौलिकताको पक्षमा आग्रह

गत वर्षहरूमा काठमाडौँस्थित विभिन्न विदेशी दूतावासहरू र अन्तर्राष्ट्रिय निकायहरूले प्राइड उत्सवमा सहभागिता जनाउँदै आएका छन्। तर, आयोजक संस्थाहरूले यस वर्ष स्पष्ट सन्देश दिएका छन् — “हाम्रो उत्सव देखावटी रङ्ग होइन, जीवनशैली हो। हामीलाई विदेशी शैली होइन, नेपाली मौलिकता र समुदायसँगै सहकार्य गर्न आवश्यक छ।”

आयोजक संस्थाहरूले यो उत्सवलाई काठमाडौँ केन्द्रित नभई देशैभर फैलिनु पर्ने भन्दै ग्रामीण भेगका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायहरूसँग सहकार्य गर्न आग्रह गरेका छन्।

उनीहरूले आह्वान गरेका छन् -“हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो आवाजसँगै साँचो उत्सव मनाऔँ। प्राइड केवल रङ होइन, हाम्रो अस्तित्वको गौरव हो।”

प्राइड उत्सव : मानसिक स्वास्थ्य कि माइन्ड फ्रेस धन्दा?

समाचार शेयर गर्नुहोस्
1.6k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.