ज्योतिले भनिन्, ‘म एचआइभी सङ्क्रमित होइन’

ज्योतिले भनिन्, ‘म एचआइभी सङ्क्रमित होइन’

1.9k
SHARES

काठमाडौं-यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायकी सदस्य ज्योति थापाले आफू एचआइभी सङ्क्रमित भएको अभिव्यक्ति नदिएको बताएकी छन्। अधिकारकर्मी थापालाई एचआइभी सङ्क्रमित भएको समाचारका लिङ्कहरू आइरहेको र आफूले सच्याउन आग्रह गरिरहेको बताइन।

नेपालमा एचआइभी कार्यक्रमको वर्तमान अवस्थाबारे पत्रकार अन्तरक्रिया कार्यक्रममा आफूले नबोलेको कुरा समाचारमा आएको सुनाइन।

अधिकारकर्मी थापा हाम्रो समान पहुँच संस्था भक्तपुरमा कार्यरत छिन्। “मैले यौनिक तथा लैंगिक अल्पसंख्यक एचआइभी संक्रमितको अवस्थाबारे बताएको थिए, म आफू एचआइभी संक्रमित भनेको थिइन,” उनले पहिचानसँग भनिन्, “गलत लेखिदिएछन्, गलत समाचार वाचन गरेछन्।”

उनले गलत समाचार सच्याउन आग्रह गरेको बताइन्। आफू एचआइभी संक्रमित नभएको प्रष्ट पार्दै भनिन्, “म एचआइभी संक्रमित होइन।”

यस विषयमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले समेत चासो राखेको छ। केन्द्रले आफ्नो एआरटी सेन्टरमा परीक्षण गरेर मात्र एचआइभी संक्रमितको तथ्यांक दिने गरेको बताएको छ। व्यक्ति वा संस्थाले निकालेका तथ्यांक आधिकारिक नहुने केन्द्रका सूचना अधिकारी लोक राज पाण्डेले बताए। उनले केन्द्रकै एआरटी सेन्टरमा परीक्षण गरेर पुष्टि भएकाको मात्रै तथ्यांक राख्ने गरिएको प्रष्ट पारे।

“एचआइभी संक्रमित पुष्टि नभएको व्यक्तिले एचआइभी संक्रमित हुँ भनेर हुँदैन,” उनले पहिचानसँग भने, “व्यक्ति वा संस्थाहरूबाट आउने डाटामा केन्द्रले इन्टरटेन नै गर्दैन।” उनले वर्षमा २५ सयदेखि ३ हजारको संख्यामा एआरटी सेन्टरमा आउने गरेको बताए।

अधिकारकर्मी थापाले बोल्दै नबोलेको एचआइभी संक्रमित भएको समाचार आएको बताइन। ‘यसले मलाई केही असर परेको छैन,’उनले भनिन्,’पत्रकारले मन गढन्ते नलेखिइदिए हुन्थ्यो भन्ने मात्र हो।’

उनले बजेट कटौती हुँदा नेपाल सरकारको प्राथमिकतामा नपरेका कतिपय क्षेत्रमा असर देखिने बताएकी थिइन्। उनले भनेकी थिइन्, “कन्डम पनि छैन, प्रेभ पनि खान पाइएको छैन भने अवश्य संक्रमण बढ्छ।”

यो पनि : एचआइभी जोखिममा समलिङ्गी–तेस्रोलिंगी समुदाय

समाचार शेयर गर्नुहोस्
1.9k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.