अर्को पारिवारिक हत्या: अस्थिर सम्बन्धको भयावह रूप

अर्को पारिवारिक हत्या: अस्थिर सम्बन्धको भयावह रूप

1.8k
SHARES

काठमाडौं — पछिल्ला महिनामा परिवारभित्रै हत्या हुने घटना दोहोरिन थालेका छन्। अस्थिर सम्बन्ध र हिंसात्मक प्रवृत्तिले परिवार नै टुटफुटको अवस्थामा पुगेका छन्।

अस्ति भरखर गत जेठ १४ गते बुटवल उपमहानगरपालिका–११ होराइजन चोकस्थित मिलीजुली पथमा ३४ वर्षीय सुजन कोइरालाले आफ्नी पूर्वपत्नी दीपा बस्याल, सात वर्षीया स्नेहा र चार वर्षीया छोरी हिमानीको धारिलो हतियार प्रयोग गरी हत्या गरे।

कोइरालाले पूर्वपत्नीलाई घरमै बोलाएर हिंसात्मक व्यवहार गरे। अर्कैसँग विवाह गरेकी पूर्वपत्नी दीपलाई घरमा बोलाउनुको कारण खुलेको छैन।

जेठ २५ गते, चितवनमा २९ वर्षीया तेस्रोलिंगी महिला विकास विक (कन्चन) को कुटपिटबाट हत्या भयो। उनी आफ्ना समलिङ्गी पार्टनर मितेन्द्र बैठा धोबीसँग लिभिङ टुगेदरमा थिइन्।

घटनाको रात १ बजे मृत्यु भएको र मितेन्द्रले ‘लडेपछि मृत्यु’ भएको दाबी गरे पनि, कन्चनकी दिदी दुर्गा विकले जिल्ला प्रहरी कार्यालय चितवनमा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिइन्। जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान भइरहेको जनाएको छ।

२०८० फागुन ९ गते काठमाडौँको नागार्जुन नगरपालिका–६, भैरव टोलमा राजु विश्वकर्मा (काजी) ले आफ्नी श्रीमती र दुई छोरीको हत्या गरी आत्महत्या गरे।

सोलुखुम्बुको दूधकुण्ड घर भएका ३८ वर्षीया ईश्वरी श्रेष्ठ, आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या उनै काजीले गरेको भनियो।

पछिल्लो पारिवारिक हत्याको घटना भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा शनिवार मध्यरात घटेको हो। भोजपुर नगरपालिका–२ हेलौचाका ३० वर्षीय राजेन्द्र राईले आफ्नी पत्नी मनिषा गिरी (१७), ससुरा बेलबहादुर गिरी (६८), सासू मञ्जु गिरी (४५) र साला सपन गिरी (९) को हत्या गरे।

राजेन्द्रले घटना गराएको जानकारी आफैँ प्रहरीलाई दिए। पेटमा धारिलो हतियारको चोट लागेको अवस्थामा फोला परेका हत्या गर्ने राजेन्द्रलाई पक्राउ गरिएको प्रहरी निरीक्षक उमेश यादवले जानकारी दिए।

राजेन्द्र र मनिषाबीच करिब नौ महिनाअघि प्रेम विवाह भएको थियो। पछिल्लो समय सम्बन्ध बिग्रँदै जाँदा मनिषा माइतीघरमै बस्दै आएकी थिइन्। राईले बयानमा सासूले छुरा देखाएर आक्रमण गरेपछि त्यही छुरा खोसेर चारै जनाको हत्या गरेको भनेका प्रहरी निरीक्षक यादवले बताए।

आइतबार मुचुल्का उठाएपछि शव पोस्टमार्टमका लागि धरान पठाइएको छ। सोमबार मात्रै पोस्टमार्टम प्रक्रिया सम्पन्न हुने प्रहरीले जनाएको छ।

परिवारबीच बेमेल, कमजोर आर्थिक अवस्थाले निम्त्याएका परिघटना, सामाजिक परिवेश, साँघुरिएको पारिवारिक मेल, सामाजिक सञ्जाल, वैदेशिक रोजगारी लगायतका कारणले पारिवारिक हत्याका घटना बढ्दै गएको पूर्व डिआइजी हेमन्त मल्लले बताए। यसबारे सरकारले गहन अध्ययन गर्न जरुरी रहेको उनको भनाइ छ।

नेपालजस्तो समाजमा पारिवारिक सम्बन्ध सामाजिक संरचनाको आधार मानिन्छ। त्यही सम्बन्ध हिंसात्मक रूपमा भाँचिनु गम्भीर चिन्ताको विषय बनेको छ।

समाचार शेयर गर्नुहोस्
1.8k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.