विदेशस्थित नेपालीलाई मतदान अधिकार : अध्यादेशको मस्यौदा तयार, समानुपातिकतर्फ भोट दिने व्यवस्था

विदेशस्थित नेपालीलाई मतदान अधिकार : अध्यादेशको मस्यौदा तयार, समानुपातिकतर्फ भोट दिने व्यवस्था

455
SHARES

काठमाडौँ – सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिलाउने तयारी अघि बढाएको छ। यो उद्देश्यका लागि सरकारले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरेको हो।

गृह मन्त्रालयका अनुसार विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी प्रबन्धबारे निर्वाचन आयोगसँग छलफल गर्ने तयारी भइरहेको छ। गृह मन्त्रालयका सहसचिव भरतमणि रिजालका अनुसार, विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन निर्वाचनसम्बन्धी कानुन संशोधनका लागि अध्यादेशको प्रारम्भिक मस्यौदा तयार भइसकेको छ।

विदेशमा रहेका नेपालीले आगामी निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत मतदान गर्न पाउनेछन्। तर त्यसका लागि अन्तिम मतदाता नामावलीमा नाम अनिवार्य हुनुपर्ने उनले स्पष्ट पारे।

सरकारको योजना कम्तीमा केही मुलुकमा रहेका नेपालीबाट भए पनि मतदानको अभ्यास सुरु गर्ने रहेको छ। यसका लागि ती मुलुकहरूसँग कूटनीतिक सहमति आवश्यक हुने र उनीहरूको प्रतिक्रियाका आधारमा अन्तिम निर्णय गरिनेछ। यस विषयमा परराष्ट्र मन्त्रालयले पनि सक्रिय भूमिका खेलेको छ। साथै नीति अनुसन्धान प्रतिष्ठानले पनि यसबारे विस्तृत अध्ययन गरिरहेको उनले बताए।

निर्वाचन आयोगले भने सरकारबाट आवश्यक बजेट, स्रोत–साधन र कानुनी जटिलता हटाइए विदेशस्थित नेपालीका लागि मतदानको व्यवस्था गर्न आयोग तयार रहेको जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक अभ्यासको निरन्तरताका लागि सबै नागरिकलाई निर्वाचन प्रक्रियामा सहभागी गराउनु राज्यको जिम्मेवारी भएको बताए।

दल दर्ताका लागि पुगेका नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिस्ट पार्टी नेपालका प्रतिनिधिहरूसँगको छलफलमा आयुक्त भण्डारीले देशको वर्तमान राजनीतिक जटिलता समाधानका लागि आयोग आफ्नो संवैधानिक दायित्व पूरा गर्न प्रतिबद्ध रहेको बताए।

देश विषम राजनीतिक सङ्कटबाट गुज्रिरहेको उल्लेख गर्दै उनले आउँदो निर्वाचनमा प्रतिस्पर्धाबाट टाढा रहने दलहरू लोकतान्त्रिक सीमारेखाभन्दा बाहिर रहने चेतावनी दिए। साथै, स्वस्थ प्रतिस्पर्धा र लोकतान्त्रिक मर्यादामा रही आगामी निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दलहरूलाई आग्रह पनि गरे।

समाचार शेयर गर्नुहोस्
455
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.