ओहायोमा भुटानी-अमेरिकी नेताहरूको प्रतिवाद: “समुदायमाथि योजनाबद्ध बदनाम”

ओहायोमा भुटानी-अमेरिकी नेताहरूको प्रतिवाद: “समुदायमाथि योजनाबद्ध बदनाम”

92
SHARES

कोलम्बस,ओहायो – ओहायोस्थित भुटानी-अमेरिकी समुदायका अगुवाहरूले हालै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत फैलाइएका “तथ्यहीन, सनसनीपूर्ण र अपमानजनक” आरोपहरूको कडा शब्दमा खण्डन गरेका छन्।

भुटानीज कम्युनिटी अफ सेन्ट्रल ओहायोको पहलमा आयोजित भेलामा उनीहरूले मेडिकेड ठगीसँग जोडेर सिङ्गो समुदायलाई लक्षित गरिएको प्रचारलाई “भ्रमपूर्ण र नियोजित” भन्दै अस्वीकार गरेका हुन्।

समुदायका कार्यकारी निर्देशक सुदर्शन प्याकुरेलसहितका प्रतिनिधिहरूले एक अनलाइन रिपोर्टमा उल्लेख गरिएको “८१ प्रतिशत समुदाय सरकारी सुविधामा निर्भर” र “१९ प्रतिशतले स्वास्थ्य व्यवसाय सञ्चालन” गर्ने दाबीलाई पूर्ण रूपमा बनावटी र तथ्यविहीन बताएका छन्।

निर्देशक प्याकुरेलले कुनै पनि प्रकारको गैरकानूनी गतिविधिको समर्थन नगर्ने स्पष्ट पार्दै मेडिकेड ठगीका आरोपमाथि निष्पक्ष र पारदर्शी अनुसन्धानको माग गरेका छन्।

उनीहरूले काउन्टी र सार्वजनिक वित्तीय अभिलेख उद्धृत गर्दै ओहायोमा बसोबास गर्ने भुटानी-अमेरिकी घरधुरीमध्ये करिब २३ प्रतिशतले मात्र कुनै न कुनै सार्वजनिक सहायता लिने गरेको स्पष्ट पारे। जुन राष्ट्रिय औसत (करिब २१ प्रतिशत) सँग नजिक रहेको उनीहरूको दाबी छ।

रेनोल्ड्सबर्ग सिटी काउन्सिलका अध्यक्ष भुवन प्याकुरेलले भने, “यी आरोपहरू केवल झुटा मात्र होइनन्, हाम्रो समुदायविरुद्ध नकारात्मक धारणा सिर्जना गर्ने उद्देश्यले योजनाबद्ध रूपमा प्रस्तुत गरिएका छन्।”

प्रतिनिधिहरूले भुटानी-अमेरिकी समुदाय ओहायोको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने समूह भएको दाबी गरेका छन्।

उपलब्ध तथ्यांकअनुसार:

• वार्षिक रूपमा करिब ८०० मिलियन डलर बराबरको आर्थिक गतिविधि (ज्याला, उपभोग, कर र व्यवसायमार्फत)।

• उच्च रोजगारी दर भएका समुदायहरूमध्ये एक।

• उत्पादन, स्वास्थ्य सेवा, ढुवानी र खुद्रा व्यापारजस्ता क्षेत्रमा स्थिर श्रमशक्ति।

उनीहरूका अनुसार, यी तथ्यहरूले समुदायलाई “निर्भर” होइन, “योगदानमुखी” समूहका रूपमा चिनाउँछन्। “यदि कसैले अपराध गरेको छ भने उसलाई कानुनी दायरामा ल्याइनुपर्छ,” उनीहरूले भने, “तर केही व्यक्तिको आधारमा सिङ्गो समुदायलाई दोषी ठहर गर्नु न्यायसङ्गत हुँदैन।”

सरकारसँग पारदर्शिताको माग

उनीहरूले स्थानीय, राज्य र सङ्घीय सरकारलाई यस्ता भ्रामक प्रचारको प्रतिवाद गर्न आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न आग्रह गरेको छ। साथै, दुवै राजनीतिक दलका नेताहरूलाई विभाजनकारी भाष्यको सार्वजनिक रूपमा निन्दा गर्न पनि आह्वान गरिएको छ।

ओहायो स्टेट युनिभर्सिटीकी डक्टरल क्यान्डिडेट झुमा आचार्यले भनिन्, “हामी ओहायोका गर्विलो बासिन्दा हौँ। बनावटी प्रचारले हाम्रो समुदायलाई विभाजित गर्न वा दशकौँको परिश्रमलाई मेटाउन सक्दैन।”

सम्बन्धित समाचार:

मेडिकेड ठगीको आरोप अमेरिकी कंग्रेससम्म पुग्दा भुटानी-अमेरिकी समुदायमा तरङ्ग

समाचार शेयर गर्नुहोस्
92
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.