अमेरिकामा भुटनिज समुदायमाथिनै प्रहार, सबैको एकताबद्ध प्रयास आवश्यक

अमेरिकामा भुटनिज समुदायमाथिनै प्रहार, सबैको एकताबद्ध प्रयास आवश्यक

देशको सीमा अलग भए पनि संस्कार, संस्कृति र भाषा मिल्नेहरू जति मिलेर बस्छन् त्यति नै त्यो हितकर र बलियो शक्ति बन्न सक्दछ।

100
SHARES

आज हामी यस्तो समयबाट गुज्रिरहेका छौँ जहाँ राजनीति, सामाजिक सञ्जाल र सार्वजनिक बहसका कारण आप्रवासी समुदायहरूलाई सजिलै निशाना बनाइन्छ। यस्ता परिस्थितिमा भावनामा बगेर प्रतिक्रिया दिनुभन्दा धैर्य, विवेक र एकताको प्रदर्शन गर्नु हाम्रो सबैभन्दा ठूलो शक्ति हो।

हामीले सम्झनुपर्छ कि हाम्रो समुदायको इतिहास सङ्घर्ष, परिश्रम र आत्मसम्मानको इतिहास हो। हामीमध्ये धेरैले विस्थापन, शरणार्थी जीवन र नयाँ देशमा पुनःस्थापनाका कठिन चरणहरू पार गरेका छौँ। आज अमेरिकाभरि हाम्रा समुदायका सदस्यहरू शिक्षक, स्वास्थ्यकर्मी, व्यवसायी, सैनिक, सरकारी कर्मचारी, विद्यार्थी, घरधनी र करदाता नागरिकका रूपमा योगदान गरिरहेका छन्। हाम्रो वास्तविक परिचय केही व्यक्तिका कार्यले होइन, हजारौँ परिवारको इमानदार जीवनशैली र योगदानले निर्धारण गर्छ।

वर्तमान राजनीतिक वातावरणमा केही समूह वा व्यक्तिहरूले आप्रवासी समुदायलाई चुनावी मुद्दा बनाउने प्रयास गर्न सक्छन्। यो नयाँ कुरा होइन। अमेरिकी राजनीतिक इतिहासमा विभिन्न समयमा विभिन्न समुदायहरूलाई दोषारोपणको केन्द्र बनाइएको छ। त्यसैले हरेक समाचार, सामाजिक सञ्जालको पोस्ट वा राजनीतिक अभिव्यक्तिलाई भावनात्मक रूपमा होइन, तथ्य र सन्दर्भका आधारमा बुझ्न आवश्यक छ।

यदि कसैले कानुन उल्लङ्घन गरेको छ भने निष्पक्ष अनुसन्धान र कानुनी कारबाही हुनुपर्छ। यसमा कुनै विवाद छैन। तर केही व्यक्तिका कार्यका कारण सम्पूर्ण समुदायलाई दोषी ठहर गर्नु न्यायको सिद्धान्तविरुद्ध हुन्छ। हामीले पनि गलत कामको बचाउ गर्नु हुँदैन, तर सामूहिक दोषारोपणलाई स्वीकार गर्नु पनि हुँदैन।

यस समयमा हाम्रो जिम्मेवारी तीन वटा छन्:

पहिलो, धैर्य राख्ने। उत्तेजनात्मक टिप्पणी, अफवाह वा विभाजनकारी सन्देशको प्रतिक्रिया आवेशमा दिएर होइन, संयमका साथ दिने।

दोस्रो, एकता कायम राख्ने। राजनीतिक विचार, सामाजिक हैसियत वा व्यक्तिगत सम्बन्धका आधारमा एकअर्कालाई विभाजित गर्नु हाम्रो हितमा छैन। हाम्रो समुदायको बल नै हाम्रो एकता हो।

देशको सीमा अलग भए पनि संस्कार, संस्कृति र भाषा मिल्नेहरू जति मिलेर बस्छन् त्यति नै त्यो हितकर र बलियो शक्ति बन्न सक्दछ।

तेस्रो, सकारात्मक योगदानलाई अझ बलियो बनाउने। हाम्रा बालबालिकाको शिक्षा, व्यवसाय, घरपरिवारको स्थायित्व, नागरिक सहभागिता र स्थानीय समुदायप्रतिको सेवामा ध्यान केन्द्रित गरौँ। यही उपलब्धिहरूले हाम्रो वास्तविक पहिचान निर्माण गर्छन्।

हामीले अरूलाई हाम्रो कथा लेख्न दिनु हुँदैन। हाम्रो कथा हाम्रो सङ्घर्ष, हाम्रो सफलता, हाम्रो संस्कृति र हाम्रो योगदानको कथा हो। केही व्यक्तिको आवाजले सम्पूर्ण समुदायको प्रतिनिधित्व गर्दैन। समुदायको प्रतिष्ठा कुनै एक व्यक्तिको हातमा छैन, यो हामी सबैको साझा जिम्मेवारी हो।

आज आवश्यक कुरा डर होइन, विवेक हो।

क्रोध होइन, धैर्य हो।

विभाजन होइन, एकता हो।

आफ्नो टाउको उच्च राख्नुहोस्। आफ्नो समुदायमाथि विश्वास राख्नुहोस्। सत्य, मेहनत र असल चरित्र अन्ततः कुनै पनि गलत आरोप वा पूर्वाग्रहभन्दा बलियो हुन्छन्।

हामीले कठिन समयहरू पहिले पनि पार गरेका छौँ। यो चुनौती पनि पार गर्नेछौँ। एकताबद्ध, जिम्मेवार र सम्मानजनक समुदायका रूपमा हामी भविष्यतर्फ अझ मजबुत भएर अघि बढ्नेछौँ।

नेजाका अध्यक्ष सुरज बुढाथोकीसँग गरिएको कुराकानी अनुसार आप्रवासी समुदायकोबीचमा आपसी सद्भाव, विश्वास र एकताको आवश्यकता बढेर गएको छ। घटना विशेषलाई जोडेर एक पछि अर्को आप्रवासी समुदायलाई नै केन्द्र बनाएर प्रहार गर्ने प्रवृत्ति बढेर गएको छ।

आप्रवासीहरू प्रति तुलनात्मक रूपमा अनुदार देखिने खालका नीतिगत व्यवस्था लागू हुने क्रम बढिरहेको अवस्थामा आप्रवासी समुदायहरूकाबीचमा सुव्यवस्थित सम्बन्धको खाँचो झन् बढ्न पुग्दछ। समग्र आप्रवासी, क्षेत्रगत रूपमा भूगोलले जन्मभूमि नजिक पर्ने देशहरूबाट आएकाहरू, संस्कार र संस्कृतिले जोड्नेहरूकाबीच अझ घनिष्ठता सम्बन्ध अहिलेको आवश्यकता बनेको छ।

अझ त्यसमा पनि नेपालीभाषीहरु वा भनौँ नेपाललाई आफ्नो समुदायको उद्गगम ठान्नेहरूकाबीचमा सद्भावपूर्ण मित्रवत् सम्बन्ध र एकताको आवश्यकता रहन्छ। देशको सीमा अलग भए पनि संस्कार, संस्कृति र भाषा मिल्नेहरू जति मिलेर बस्छन् त्यति नै त्यो हितकर र बलियो शक्ति बन्न सक्दछ।

पछिल्लो समय अमेरिकाको ओहायो राज्यमा मेडिकेड दुरुपयोगको घटना सार्वजनिक भैरहँदा त्यसमा केही भुटानी समुदायभित्रका व्यवसायीहरूको नाम जोडिएको छ, व्यक्तिगत, कम्पनी वा व्यावसायिक रूपमा जोडिएका पात्रहरूको समुदायलाई त्यसमा मुछ्ने काम भएको छ।

कानुनी शासनको दृष्टिकोणले विश्वकै उत्कृष्ट देशमा रहेको सन्दर्भमा अनुसन्धानले दोषी ठहर भएकाहरूले कारबाही भोग्नेछन्, दोषी नभए सफाइ पाउनेछन्, अनुसन्धान प्रभावकारी हुनुपर्दछ यसमा दुई मत रहँदैन।

यो घटना सार्वजनिक भैरहँदा यसलाई अमेरिकी राजनीति र आउँदै गरेको मध्यावधि निर्वाचनसँग पनि जोडेर हेरिएको छ, त्यही अनुसार चर्चा परिचर्चा पनि भैरहेको छ, यसको पछाडि जे सुकै कारण रहे पनि विषय बाहिर आएपछि त्यसको छानबिन हुनु आवश्यक छ। र सँगसँगै व्यक्तिले गल्ती गर्दा त्यसको असर समुदायलाई पर्छ नै, त्यो अहिले पनि अमेरिकामा रहेको भुटनिज समुदायमा देखिएको छ।

भाषा, संस्कार र संस्कृति नेपालसँग जोडिएको उद्गम साइनो, लामो समय नेपालमा बसेको नेपाली भाषी भुटनिज समुदाय तेस्रो मुलुक पुर्नवास अन्तर्गत अमेरिका आएको छ। नेपाली भाषा बोल्नेहरू भुटानबाट नेपाल लखेटिएका थिए, अर्थात् नेपाली भाषी भुटनिजहरु नेपाल आएका थिए। र, उनीहरू नेपाली भाषी भुटनिज समुदाय हुन्, अझ कतिपय त नेपालमै जन्मिएकाहरू पनि छन्, जसले आफूलाई भुटनिज नेपाली भन्न रुचाउँछन्, यसमा गर्व ठान्छन् , यसलाई नेपाली समुदायले पनि अन्यथा लिनु भन्दा पनि यसलाई सकारात्मक रूपमा लिन आवश्यक छ।

नेपालीभाषीहरुको संख्या देखि लिएर हरेक कुरामा यसले बल नै पुग्दछ। अहिले जसरी ओहायोको मेडिकेड काण्डमा नेपाली भाषी भुटनिज समुदायका केही व्यक्ति जोडिएको बाहिरिएको छ, तर पुष्टि भैसकेको छैन त्यसलाई लिएर समग्र भुटनिज समुदायमाथिनै प्रहार हुने काम भएको छ, यो आप्रवासी तपाई हामी सबैको चिन्ताको विषय हो र हुनुपर्दछ।

अझ नेपाली समुदायले यसलाई गम्भीरताका साथ लिनुपर्दछ। तर भुटनिज समुदायका केही अगुवाहरूसँगको कुराकानीमा अमेरिकन नेपाली समुदाय तर्कन खोजेको वा भुटनिज समुदायसँग साइनो जोड्दा अन्यथा नै हुने हो कि भन्ने ढङ्गले प्रस्तुत हुन थालेको आशय उहाँहरूले अनुभूति गर्न थाल्नुभएको देखिएको छ।

समग्र समुदायलाई नै लाञ्छना लगाउनु आफैँमा सही होइन अझ त्यसमा पनि भुटनिज समुदाय जो नेपालसँग साइनो राख्नमा सुखद अनुभूति गर्दछ उहाँहरूलाई परेको यो अप्ठ्यारोमा हामीले साथ दिनुपर्दछ।

अवसरको देशमा वैधानिक रूपबाट आफूलाई अगाडि बढाउन र अवैधानिक काम जो कसैले पनि गर्नुहुँदैन। त्यस्ता गैरकानुनी काम जो कोही भए पनि त्यसलाई व्यक्तिगत रूपमा लिनुपर्दछ, समुदायलाई त्यसमा जोड्नुहुँदैन। र,अहिले फेरि समुदायलाई आरोपित गर्ने हिसाबले अघि बढ्न केही लागेका छन्।

यो बेला एउटा समुदायले अर्को समुदायलाई सहयोग गर्नु आवश्यक छ। व्यक्तिगत रूपमा लाञ्छना लगाउने काम भैरहेको छ, त्यसप्रति दुःख प्रकट गर्दछु। अमेरिकामा रहेर सामुदायिक पत्रकारिता गर्दै नेपाली भाषी भुटनिज समुदायका साथै नेपाली समुदायको गतिविधि समेत पत्रकारिता मार्फत सार्वजनिक गर्न दत्तचित्त भएर लागिरहेको छु। सामुदायिक पत्रकारितामा संलग्नहरूसँग सदैव साथ, सहयोग र सद्भाव रहनेछ। समुदायको उत्थानमा हामी सबैको एकताबद्ध प्रयासको आवश्यकता बढेर गएको छ।

समाचार शेयर गर्नुहोस्
100
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.