काठमाडौँ – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनासँग सम्बन्धित मुद्दामा काठमाडौँ जिल्ला अदालतमा पूर्ण सुनुवाइ जारी छ। सुनुवाइका क्रममा नेपाल सरकारका तर्फबाट सरकारी वकिल तथा जाहेरवालाका कानुन व्यवसायी र प्रतिवादी पक्षका कानुन व्यवसायीको लगातार बहस भइरहेको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ तथा जाहेरवाला पक्षका आठ जना कानुन व्यवसायीले बहस सम्पन्न गरेपछि सोमबारदेखि प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले आफ्नो बहस सुरु गरेका हुन्।
जाहेरवाला गजेन्द्र बुढाथोकी, रामकुमार रेग्मीलगायतका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई तथा मञ्जु खाँडसमेतलाई प्रतिवादी बनाउनुपर्ने माग गर्दै निवेदन दर्ता गरेका थिए। साथै, प्रतिवादीहरूको सम्पत्ति रोक्का गर्नुपर्ने माग पनि जाहेरवाला पक्षले गरेको छ।
सरकारी पक्षले राज्य शक्तिको आडमा अपराध भएको भन्दै जाहेरवालाहरूले दिएको उजुरीले राज्यलाई सहयोग पुगेको दाबी गरेको छ। बयानका क्रममा भुटानी शरणार्थीको तेस्रोदेश पुनर्वास कार्यक्रमकै समयमा पनि नेपाली नागरिक शरणार्थी बनेर गएको उल्लेख भएकाले थप जानकारी उपलब्ध गराइए राज्यलाई थप सहयोग पुग्ने सरकारी पक्षको जिकिर छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासमा प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले भने जाहेरवालालाई नै प्रतिवादी बनाउनुपर्ने तर्क प्रस्तुत गरेका छन्। उनीहरूले पैसा उठाएको आरोपसमेत अस्वीकार गरेका छन्।
पूर्वगृहसचिव टेकनारायण पाण्डे, केशव दुलाल, केशव तुलाधर, निराजन खरेल, सानु भण्डारी र इन्द्रजित राईका कानुन व्यवसायीहरूले बहस गरेका छन्। इन्द्रजित राईका कानुन व्यवसायीको बहस बिहीबार पनि जारी रहनेछ।
बुधवार सानु भण्डारीका कानुन व्यवसायीले भण्डारीबाट बरामद गरिएको डायरीको विषयलाई प्रमुख रूपमा उठाए। उक्त डायरी विवादास्पद रहेको दाबी गर्दै टोपबहादुर रायमाझीका छोराबीच व्यावसायिक कारोबार नभएको भए सानु भण्डारी यो मुद्दामा नजोडिने जिकिर गरे। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि यस मुद्दाका प्रतिवादी हुन्।
भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानका लागि गठित कार्यदलका संयोजक बालकृष्ण पन्थीसँग सामान्य चिनजान भएको आधारमा मात्र भण्डारीलाई प्रतिवादी बनाइएको दाबी उनका कानुन व्यवसायीले गरे। “कार्यदलले पनि प्रभाव र दबाब परेको भनेको छैन,” भण्डारीका कानुन व्यवसायीले इजलासमा भने, “रामकुमार रेग्मीले ठेक्का लिएर पैसा उठाए।”
भुटानी शरणार्थी नेता टेकनाथ रिजालले बाटोबाटै कार्ड बनाएको र पैसा उठाइरहेको भन्दै गौशाला प्रहरी वृत्तमा दिएको निवेदनमा सानु भण्डारीको नाम नरहेको दाबी पनि उनका कानुन व्यवसायीले गरे। पैसा उठाउने काम रामकुमार रेग्मीले नै गरेको उनीहरूको जिकिर थियो।
रामशरण केसीले सानु भण्डारीलाई जग्गा कारोबारका लागि एक करोड रुपैयाँ दिएको दाबीसमेत कानुन व्यवसायीले गरे। भण्डारीका कानुन व्यवसायीले ठगीबाट प्राप्त रकम बैङ्कमार्फत जम्मा नहुने तर्क प्रस्तुत गर्दै घुसको लेनदेन सिंगापुरमा हुन थालेको सम्बन्धी समाचारको प्रसङ्ग पनि इजलासमा उठाए।
भण्डारीका कानुन व्यवसायीले सुनिता गौतमको प्रतिवेदनलाई मन्त्रिपरिषद्को प्रतिवेदन मानेर स्वीकार गर्नुपर्ने आधार के हो भनी प्रश्न उठाए। “बाटोमै तयार भएको प्रतिवेदनको जिम्मा राज्यले लिनुपर्ने हो ?” भन्दै उनले काम गर्ने व्यक्ति नै जाहेरवाला बनेर आएको उल्लेख गरे। यस प्रकरणमा जाहेरवालालाई नै प्रतिवादी बनाइनुपर्ने उनीहरूको जिकिर थियो।
प्रतिवादी भण्डारीका कानुन व्यवसायीले यो मुद्दालाई राज्यविरुद्धको अपराधभन्दा पनि मानव बेचबिखन तथा ओसारपसारको कोणबाट हेर्नुपर्ने तर्क गरे। राज्यविरुद्धको अपराध सम्बन्धी आरोप भावनात्मक रहेको भन्दै मानव बेचबिखनको घटना भए पनि सानु भण्डारी निर्दोष रहेको दाबी उनले गरे।
भण्डारीले ३ करोड ४५ लाख रुपैयाँ बुझाएको अभियोग लागेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईका कानुन व्यवसायीले पनि राईको पक्षमा इन्कारी बहस गरे। भण्डारीबाट बरामद डायरीमा राईलाई एक करोड ५० लाख रुपैयाँ बैङ्कमा, एक करोड रुपैयाँ त्रिपुरेश्वरस्थित घरमा र दुई करोड रुपैयाँ हिमालयन होटलमा बुझाएको उल्लेख भए पनि त्यसको पुष्टि नहुने जिकिर राईका कानुन व्यवसायीले गरे।
अदालतमा सानु भण्डारीले दिएको बयानमा “डायरी मेरो होइन” भनेको उल्लेख गर्दै राईका कानुन व्यवसायीले डायरीलाई प्रमाणका रूपमा स्वीकार गर्न नमिल्ने सम्बन्धी नजिरसमेत प्रस्तुत गरे। “डायरीको भेरिफिकेसन किन गरिएन?” भन्दै उनले प्रश्न उठाए। सानु भण्डारी र केशव दुलालसँग चिनजान भएको आधारमा मात्र शङ्काको भरमा कसैलाई दोषी ठहर गर्न नमिल्ने उनको तर्क थियो।
राईका कानुन व्यवसायीले इजलासमा उनको आयस्रोतसम्बन्धी विवरण पनि प्रस्तुत गरे। राई नेपाली सेनाबाट तीन पटक शान्ति सेनामा खटिएको, भक्तपुरस्थित जग्गा बिक्री गरेको तथा उनका आयस्रोत वैध रहेको जिकिर कानुन व्यवसायीले गरे।
राईसँग दुईवटा बयान लिइएको भए पनि पाँचवटा मुद्दा लगाइएको दाबी गर्दै उनका कानुन व्यवसायीले अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाए। “बयान लिँदा कलमको मसी सुकेको थियो?” भन्दै उनले व्यङ्ग्यात्मक प्रश्नसमेत गरे।
भुटानी शरणार्थी पुनर्वास तथा सेटलमेन्ट प्रक्रियामा राईको कुनै संलग्नता नरहेको दाबी गर्दै उनले बहस जारी राखे। अदालत प्रशासनका अनुसार इन्द्रजित राईका कानुन व्यवसायीको बाँकी बहस बिहीबार पनि हुनेछ।
सम्बन्धित समाचार :
नक्कली भुटानी शरणार्थी : उजुरीकर्तामाथि नै अनुसन्धान हुनुपर्ने प्रतिवादी पक्षको जिकिर
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.