"/>
काठमाडौं – भुटानी शरणार्थी नेता तथा पूर्वराजबन्दी टेकनाथ रिजाल नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीका रूपमा अदालत धाइरहेका छन्। शरणार्थी समस्याको समाधानका लागि निरन्तर आवाज उठाउँदै आएका उनीमाथि नै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दायर भएपछि त्यसले व्यापक चासो र बहस उत्पन्न गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रिजाललाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका थिए। तर, मुद्दाको अन्तिम किनारा नलागेकाले उनी अहिले पनि काठमाडौं जिल्ला अदालतमा नियमित तारेख धाइरहेका छन्।
रिजाललाई समेत प्रतिवादी बनाइएको उक्त मुद्दामा बुधबार उनका कानुन व्यवसायीले बहस गरेका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासमा रिजालका कानुन व्यवसायी राजकुमार सुवालले रिजालले वर्षौंदेखि भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानका लागि राज्यका विभिन्न निकाय, प्रधानमन्त्री, मन्त्री, राजनीतिक नेतृत्व तथा सरकारी अधिकारीहरूसमक्ष निरन्तर पहल गर्दै आएको उल्लेख गरे।
तेस्रोदेश पुनर्वास कार्यक्रम सम्पन्न भएपछि पनि स्वदेश फिर्ती हुन नसकेका भुटानी शरणार्थीहरूको सम्मानजनक र दीर्घकालीन समाधान खोज्न उनले निरन्तर पहल गरिरहेको अवस्थामा उल्टै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको जिकिर सुवालले गरे।
उनका अनुसार रिजाल स्वदेश फिर्तीको मागमा निरन्तर अडिग रहने शरणार्थी नेता हुन्। आफ्ना नागरिकको भविष्य र अधिकारका विषयमा चिन्ता व्यक्त गर्दै राज्यका विभिन्न निकायमा हारगुहार गरिरहेका व्यक्तिमाथि योजनाबद्ध रूपमा प्रपञ्च रचेर आरोप लगाइएको दाबी उनले अदालतमा प्रस्तुत गरे।
कानुन व्यवसायी सुवालले बहसका क्रममा तत्कालीन सभामुख देवराज घिमिरेलाई टेकनाथ रिजालले लिखित रूपमा बुझाएको अपिल नै इजलासमा वाचन गरेर सुनाएका थिए। उक्त अपिलमार्फत रिजालले भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान, स्वदेश फिर्तीको अधिकार र शरणार्थीहरूको अवस्थाबारे राज्यको ध्यानाकर्षण गराएको उल्लेख गरिएको थियो।
के छ त टेकनाथ रिजालले तत्कालीन सभामुखलाई बुझाएको अपिलमा?
जब–जब मानिसलाई अप्ठेरो परिस्थितिले घेर्छ तब–तब उसले आफ्नो नजिकको ‘पन’ खोज्छ र सहाराको अपेक्षा गर्दछ। त्यसैको परिणाम स्वरूप नेपाली भाषी भुटानी नागरिकहरू पनि त्यही ’पन’ को खोजीमा रगतको साइनोबाट केही आशा भरोसाको अपेक्षा गर्दै भुटान छोड्नु पर्दा पनि तेस्रो मुलुक नगई विगत ३० वर्ष देखि नेपालकै शरणागत भएर बसिरहेका छन्। उनीहरूको न आफ्नू केही परिचय छ, न त नेपाल सरकारले नै कुनै परिचय दिएको छ।
परिचय विहीन हुनुका कारणले आज पनि उनीहरू जीवनका आधार भूत कुराहरूबाट वञ्चित हुन परेको छ। कष्टकर जीवनयापन गर्नुको विकल्प नै नभएको अवस्था छ। उनीहरू आज पनि नारकीय जीवन बिताउन अभिशप्त छन्। धेरैका परिवारका सदस्य तथा आफन्तहरू तेस्रो मुलुकमा पुनर्वास भई उतैको नागरिकको हैसियतमा बसिसकेका छन्। तर आफ्नोपन, भाषा र संस्कृतिसँग नजिक रहेको मुलुकमा ३० औँ वर्ष बसिसक्दा पनि उनीहरूबाट बिछोडिएर नेपालमै रहेका ती आफन्तहरू कसैको पनि आज सामान्य परिचयपत्र पनि बन्न सकेको छैन। हामीले हाम्रो पीडाको यो रोदन अब कसलाई सुनाउने?
अघि १९९० को दशकमा हामी दक्षिण भुटानीहरूलाई नाङ्गेझार अवस्थामा निष्कासन गरिँदा हामीले कतिपय आफन्त जनहरूलाई बाटो बाटै गुमायौ। कति भुटानी सेनाद्वारा पक्राउ परे, एकै परिवारका कतिका पुरुष जति सबै जेलनेल परे, कति सर्वसाधारण सेनाका गोलीको सिकार भए भने कतिपय भारत भूमिमा पक्राउ परे र हराए। तिनको आजका दिनसम्म कुनै खोजखबर छैन।
कति पय गर्भवती महिलाले बाटोबाटै नवजात शिशुहरू गुमाए। आज देशभित्र के कति आफन्तजनहरू जीवितै होलान्। रहेकाहरू पनि के कस्तो परिस्थितिमा जीवन गुजारा गर्न बाध्य छन्। नेपाली भुटानीका शरणार्थी समूह र भुटान भित्रका मानिसहरू आवतजावत गर्नबाट वञ्चित गरिएकाले भुटानबाट छुटेका परिवारले एक पटक पनि भेटघाट गर्न पाएका छैनन्। सीमाभित्र जबरजस्ती छिर्न खोजेमा जेलमा परिहाल्ने बाध्यता छ। मर्दापर्दा पनि टाढैबाट महिनौँपछि सुनेको भरमा काज क्रिया गर्न र चित्त बुझाउन विवश छौ। बिनाकारण लामो समयदेखि भुटानका विभिन्न जेलमा बन्दी रहेका आफन्तजनको अवस्था कस्तो छ। मरे, मारिए या बाँचिरहेका छन्, त्यसको खोजखबर गरिदिने कुनै निकाय छैनन्।
आज नेपाल सरकार, शरणार्थी हेर्ने निकायहरू IMO, UNCHR,CARITAS, LUTHERAN पनि नेपालमा रहेका भुटानीहरूको समस्या समाधान प्रति उत्तरदायी भएको देखिएन। हामीले पहिलेदेखि नै तेस्रो मुलुकमा पुनर्वास कार्यक्रम मात्र यो समस्याको पूर्ण समाधान होइन भन्दै आएका छौँ। नेपाल भुटानबिचका वार्ताले निरन्तरता पाई निकालेका निष्कर्ष नै दीर्घकालीन हुनेमा हामी विश्वस्त थियौँ र छौँ। विगतमा पनि नेपाल सरकारले भुटान सरकारसँग गरेका सबै वार्ताहरू औचित्यहीन भएका र भुटान सरकारले नै वार्ताको टेबलबाट भागेका कारणले आज नेपालमा बाँकी रहेका भुटानी शरणार्थीहरूको जीवन अत्यन्त अपहेलित, उपेक्षित र आफ्नो परिचय पनि नभएको अवस्थामा छ। यो परिचय विहीनताको अवस्थाले गर्दा उनीहरूले कतै कुनै रोजगार पाउने अवस्था पनि रहन सकेको छैन।
भुटानबाट एकैसाथ लखेटिएका मध्ये लगभग एक लाख भन्दा बढी शरणार्थीहरू तेस्रो मुलुकमा गएर त्यहीँको नागरिकको हैसियतमा परिचयपत्र प्राप्त गरिसकेको अवस्थामा यहाँ बाँकी रहेकाहरूले पनि आफ्नो निस्सा खोज्नु कुनै अनौठो कुरा होइन। देश फर्कने आशयले हारगुहार माग्दै तेस्रो मुलुक नगएका वा आन्दोलनमा ऐक्यबद्धताका कारणले कतै जान नचाहेका भुटानीहरू आज यहाँ बसिरहेकामा पश्चात्ताप गरिरहेका छन्।
आज पनि ८० हजार नेपाली भाषी भुटानीहरू भुटान भित्रै अनागरिकको जीवन बिताउन बाध्य बनाइएका छन्। भुटान सरकारले बेलाबेलामा बनाउने नयाँ नियम कानूहरूमा नेपाली भाषी प्रति गरिने व्यवहार अत्यन्तै निन्दनीय छ। त्यहाँ रहेका नेपाली भाषी भुटानीहरू अझै पनि ढुक्क हुन सकिरहेको अवस्था छैन। कोभिड १९ को प्रकोप फैलिनु अगाडि सम्म भुटानबाट छुटफुट रूपमा नेपाल आउने क्रम जारी नै थियो।
तर सन् २०११ यता नेपालले भुटानी शरणार्थीको नाम दर्ता गर्न बन्द गरेका कारण नेपालमा पछिल्ला दिन थपिएका शरणार्थीको सङ्ख्या यकिन हुन सकेको छैन। यस तर्फ पनि नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। विगतमा भुटानबाट लखेटिएका नागरिकहरूका आफन्तजनलाई विभिन्न बहानामा तिमीहरू भुटानी नागरिक होइनौ भनी निगरानीमा राख्ने, दुर्व्यवहार गर्ने, जेलमा थुन्ने जस्ता गतिविधिहरू भुटानी सरकारले कायमै राखेको ब्यहोरा यहाँलाई जानकारी गराउन चाहन्छु।
यहीबिचमा पनि भुटान फर्किन पाउनु पर्छ भनी मेरो आन्दोलन चलिरहँदा भुटानी शरणार्थीलाई तेस्रो देश पुनर्स्थापना गरिने भन्ने आशयका साथ मेरो आन्दोलनलाई त्यत्तिकैमा समाप्त गर्ने काम भयो। अझ पनि नेपालमा बाँकी रहेका भुटानीहरूको समस्या दीर्घकालीन रूपमा समाधान होस् भन्ने मेरो चाहना हो। आज आफ्नै परिवारसँग वियोग भएर रहेका तर आश्रय स्थलमा भने आफ्नो कुनै पहिचान नभएका नेपालमा बाँकी रहेका भुटानी शरणार्थी र तिनीहरूका सन्तानको अन्धकारमय भविष्य प्रति म ज्यादै नै चिन्तित छु।
नेपाल भुटान वार्ता असफल भएको मौका छोपी अन्तर्राष्ट्रिय सङ्घ संस्था, पत्रकार बुद्धिजीवी तथा अन्तर्राष्ट्रिय रेडक्रस समुदायको टोलीले भुटानको जेल भ्रमण गर्न सम्म छोडेको अवस्था छ। भुटानले बन्दीहरूको अवस्थाबारे सहयोग नगरेका कारण यो टोलीको भ्रमण स्थगित गरेको हो भन्ने समाचार छ।
ती असहाय बन्दीहरू र भुटानले विदेशीको संज्ञामा राखेर हेय दृष्टिले हेर्ने गरेकाहरूका लागि आज हामी मरेतुल्य महसुस गर्न थालेका छौ। यस्तै वेदना बोकी शरणार्थी क्याम्पमा जीवन गुजारा गरिरहेका हजारौँ मानिसको उद्धार गर्ने योजना अन्तर्गत एक लाख भन्दा बढी मानिस तेस्रो देशमा गए भने सोही हुलमा मिसाएर कयौँ सङ्ख्यामा नेपाली नागरिक समेत पठाइएको लज्जास्पद घटना हाम्रो सामु छर्लङ्ग छ।
यसरी भुटानीका नाममा नेपाली नागरिकलाई पठाउन थालेको छिद्र भइरहेका कारण आज शिविरमा रहेकाहरूले त्यसको मार बेहोर्नु परेको हो भन्दा कुनै अत्युक्ति नहोला। चुनेर दोस्रो देश लगिएका मध्ये कतिपय सिधासाधा गाउँले नागरिक तीनका छोरा नाति भुटानी जेलमा छाडिएका थिए र जीवित छन् भन्ने झिनो आशा मात्र बाँकी छ। नेपाल भुटानको दुई पक्षीय वार्तापछि भारतको पनि सदा सहायता रह्यो भने मात्र शरणार्थी समूहले भुटान फर्किने वातावरण बन्ला तर यो दुई पक्षीय वार्ता दिनानुदिन आफ्नै षडयन्त्र र विश्व राजनीतिको भुमरीमा मुछिएर गौण बन्दै गइरहेको दुखद अनुभूति हामीलाई भइरहेको छ।
तेस्रो देश पुनर्वास पश्चात् भुटानले नेपाली भाषीमाथि गरेका ज्यादती र कुकृत्यहरू विश्वसामु ढाकछोप भैसकेको छ भन्ने ठानिएको छ। अध्यकालमा भुटान र नेपालको वार्तामा खटिएका नेपाली टोली सबै नै भुटानको इतिहासबारे अनविज्ञ रहेको हाम्रो ठहर छ। हाम्रो इतिहास र हामीसँग भएको लिखित प्रमाणको लेखाजोखा नगरी भुटानसँग वार्ता गर्नु हाम्रो लागि दुर्भाग्य थियो। त्यसैले अब आउँदा दिनमा गठन हुने टोलीका सदस्यहरू बिना अनुभवका व्यक्ति तैनाथ गरिए र यो गहन जिम्मेवारी सुम्पिएको खण्डमा हाम्रो जीवन लीला माथि नै सङ्कट थपिएला भन्ने चिन्ताले हामीलाई सताएको छ।
भुटानको वार्ता टोली नेपालबाट रातारात भागेर भारत हुँदै भुटान पुग्नुका पछिको कारण पहिल्याउन अति जरुरी छ। भुटानी टोलीले नेपाल छोड्नु भुटानी राजाको इसारा बिना सम्भव थिएन। वार्ताबाट भाग्नुभन्दा एक दिनअघि भुटानका गुप्तचर प्रमुख ग्याम दोर्जी गोप्य रूपले खुदुनाबारी क्याम्प प्रवेश गरेर फर्केको खबर स्वर्गीय रनबहादुर बस्नेतलाई थियो।
नेपाली वार्ता टोलीका सामु भुटानी टोली लत्रिसकेको त्यो अवस्थामा भागेर जित्ने रणनीति अन्तर्गत भुटानले द्यगचमभल मजबचष्लन को बखेडा निकालेको घटना सायद हामी कसैबाट पनि लुकेको छैन।
भुटानी उपगृहमन्त्री दागो छिरिङ र भुटानका लागि तत्कालीन भारतीय राजदूत बिच सन् १९८८ को सुरुमा भएको सम्झौता अनुरूप भुटानले जातीय सफाइको अभियान आरम्भ गरेको घटना स्मरण गराउँदै भुटानी राजा जिग्मीसिङ वाङ्चुक दिल्लीसँग लम्पसार परेर गिडगिडाउन थालेको घटनापछि एकाएक भारतीय गुप्तचरहरूको शरणार्थी क्याम्पभित्र प्रवेश हुन थाल्यो।
त्यसपछि क्याम्पभित्रैबाट स्थायी समाधानको सूक्ष्म नारा फस्टाएको र सोही मौकामा अमेरिका लगायत विश्वका अरू ६ देशले भुटानी शरणार्थीलाई आफ्नो देशमा लगेर बसाउने घोषणा गरे, जसले गर्दा नेपाल भुटान बिचको वार्तालाई झन् अपाङ्ग बनाइदियो। विश्वको यो कदम अपूरै छ र यसले क्षणिक समाधान देखिएता पनि कालान्तरमा यो भुटानको सम्पूर्ण राजनीतिक, आर्थिक र सामाजिक तथा न्यायिक प्रणालीसँग जोडिएको मुद्दा हुनाले तेस्रो देशको कार्यक्रम थालनी हुनु अगावै भुटानी जेलका बन्दीहरू रिहाइ हुनुपर्छ र परिवार मिलनको वातावरण सुनिश्चित हुनुपर्छ भन्ने हाम्रो अडान थियो।
भुटानभित्र अल्झाएर राखिएका ८० हजार नेपाली भाषी नागरिकलाई तिमीहरू देशद्रोहीका सन्तानले यहाँको नागरिक हक दाबी गर्ने औचित्य छैन भन्ने घोषणा गरी राखिएको छ। भुटानी राजाको एकल आदेश बमोजिम सेना खटाएर दक्षिण भुटानमा राज्य आतङ्क मच्चाउँदा सेनाद्वारा गराइएका हत्या, हिंसा बलात्कार, आगजनी लगायत पुस्तौपुस्ताका भुटानी सन्ततिले जोहो गरी राखेको चलअचल सम्पत्तिको क्षतिपूर्तिबारे नभै तेस्रो देश पुनर्वासको कार्यक्रमबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थियौ। तर त्यसताका हाम्रो पुकारको वास्ता नगरिएका प्रतिफल यी भुटानी राजनीतिसँग जोडिएका स्वयं राजसत्ताले थालेको जनसंहार आज संसारको मुद्दा जहाँको त्यही रहेको हो।
यो उपरोक्त घटना दोहोरिने र कालान्तरमा राजा आफै लज्जित हुँदै दुई पक्षको वार्ता पछिको परिणाम थेग्न गारो हुने आङ्कलनले भुटान वार्तामा बस्न र नेपालमा रहेको शरणार्थीहरूलाई कसै अवस्थामा भुटान फर्काएर लानुभन्दा नेपालका राजनैतिक दल तथा सम्बन्धित निकायलाई नाना बखेडा र जालझेल गरी यिनलाई नेपालकै नागरिकता दिलाई दिएर स्थायी रूपले बसाउने तब मात्र नेपालसँग वार्ता गरी अझ पानी माथिको ओभानो हुँदै ९० का दशकदेखि गैरभुटानी घोषणा गरेका ती ८० हजार भुटानीहरू माथि जाइलाग्ने भुटानी कूटनीतिक योजनासँग नेपालले होसियारी पूर्वक हाम्रो वेदना बुझिदेओस्, बोलिदियोस् र थाँतिरहेको दुई पक्षीय वार्ता यथाशीघ्र अधि बढाइदेओस् भन्ने हाम्रो विनम्र निवेदन छ।
अतः निम्न लिखित कार्यका निम्ति आवश्यक पहलकदमी लिनुभई यो समस्या समाधान गराउन नेपालको प्रधानमन्त्री भएका नाताले एवं सुरुवाती चरणमा वार्ताको थालनी पनि यहाँकै पहलमा भएको कारण यहाँकै कार्यकालमा यसको समाधानका निम्ति सत्प्रयास रही दियोस् भन्नेमा म पूर्ण विश्वस्त रहँदै निम्न कुराहरूमा आवश्यक व्यवस्था मिलाइ दिनु हुन निवेदन गर्दछु।
१. तेस्रो देश पुनर्वास भएकाहरूले शरणार्थी शिविरमा रहेका आफ्ना आमा बुबालाई आफूसँगै लान पनि नसक्ने अवस्था छ कतिपयको। तसर्थ त्यस्तो अवस्थामा रहेका तेस्रो मुलुकका भुटानीले लामो समय नेपालमै बसेर बा-आमाको रेखदेख गर्छु भन्दा पनि भिसाको समस्याले पिरोल्ने गरेको छ। नेपाली रगत बोकेका ती नागरिकलाई सम्बन्धित निकायले एक मानवीयताका नाताले सम्बोधन गर्न आवश्यक छ।
२. नेपाल सरकारले नवीकरण गरेर पुनर्वास गराउने बहानामा गैरशरणार्थी व्यक्तिहरूलाई समेत काठमाडौँको आसपासमै फोटो खिचेर दर्ता प्रक्रियालाई अघि बढाइएको पाइएको छ। यसरी नै भुटानी शरणार्थीहरूलाई समेत चाँडो गर्न फोटो खिचिदिने भन्दै काठमाडौँ बोलाई फोटो खिचेर लाखौँ रुपैयाँ असुल गरिरहेको पाइएको छ। उच्च मानवीय संवेदना विपरीतको यति निकृष्ट व्यापार मौलाइ रहँदा पनि नेपाल सरकारका जिम्मेवार अधिकारीहरू मौन देखिनु लज्जास्पद कुरा हो। पछि कुनै दिन यी पठाइएका मानिसहरू गैरशरणार्थी हुन् भन्ने तथ्य खुलेर बाहिर आएका दिन नेपाल सरकार माथिकै अन्तर्राष्ट्रिय विश्वसनीयतामा आँच आउँछ भन्ने यथार्थ मनन गर्न आवश्यक छ।
३. तेस्रो देश पुनर्वासकै क्रममा फोटो खिच्ने भनी आश्वासन पाएर पनि आफ्नो परिचय खुलाउने कार्ड नपाएकाहरूका बारेमा पनि गम्भीरतापूर्वक सम्बोधन गरियोस् भन्ने मेरो आग्रह छ।
४. नेपालले भुटानी शरणार्थीको दर्ता प्रक्रिया सन् २०११ म बन्द गरेता पनि भुटानले जालझेल कायमै राखेका कारण दुई वर्ष अघिसम्म पनि छिटपुट रूपमा भुटानीहरू नेपाल पसेका तथ्यहरू जीवितै छन्। तिनीहरू नेपालका पूर्व मेची देखि पश्चिम महाकाली सम्म ज्याला मजदुरी गर्दै जिउन बाध्य छन्। अतः तिनीहरूको नाम मात्र दर्ता गरिदिएको खण्डमा पनि कुनै दिन भुटान फर्कने वातावरण बनेमा सप्रमाण भुटान फर्किएर जान पाउँथे र ती सबैतिरबाट मारमा परेका भुटानी नागरिकहरूले पनि राज्यविहीन हुनुपर्ने थिएन।
५. विगत ३० वर्षदेखि राज्यविहीन भई नेपालमा शरण लिई बसेका र तेस्रो देश पुनर्वासका सन्दर्भमा परिवारसँग वियोग भएका साथै नेपाल सरकार र यु.एन.एच.सी.आर लगायत विश्व समुदायले दिइरहेको सुविधा समेत कटौती भई भोकै र तिर्खै झुपडीमा बस्न विवश शरणार्थीको समस्यालाई स्थायी तवरबाट सम्बोधन गरियोस् भन्ने जोडदार आग्रह गर्दछ।
६. हाल भुटानमै समेत भुटान सरकारको ज्यादतीले गर्दा नागरिकता पाउन नसकेर आफ्नै देशभित्र राज्यविहीन अवस्थामा नारकीय जीवन बाँच्न विवश ८० हजार नेपाली भाषी भुटानीहरू छन्। त्यसैले नेपाल भुटान वार्ताको पुनः थालनी होस् भन्ने आग्रह नेपाल सरकारसँग गर्दछु।
७. हाल नेपालमा रहेका शरणार्थी मध्ये जसजसलाई शरणार्थी परिचयपत्र दिएको छ, तिनीहरू र तिनका परिवारलाई यथाशीघ्र विनामोल परिचयपत्र नवीकरण गरिदिने व्यवस्था भइदियोस्।
८. नयाँ दर्ताका लागि विगत धेरै वर्ष अघिदेखि प्रतीक्षारत शरणार्थीहरूको पहिचान गरी तिनलाई पनि परिचयपत्र दिने व्यवस्था मिलाइयो, शरणार्थी पहिचान गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गरियोस् र भुटानी शरणार्थी समूहका अग्रजहरूको पनि उपस्थित गरिने व्यवस्था होस्।
९. भुटानी शिविरबाट तेस्रो देश गएका भुटानीहरूले आफ्नो जन्मभूमि भुटानभित्र खुल्ला रूपले आउजाउ गर्नका लागि भिसाको अनुमति दिन सम्बन्धित देशसँग नेपालले परामर्श गरिदियोस्।
१०. नेपाल र भुटानको वार्ताले समाधान ननिस्केसम्म वा नेपालमा शरणार्थी शिविर रहुन्जेलसम्म नेपाल बाहिर गएका शरणार्थीका परिवारले भिसा लिएर खाँचो परेका बेला आफ्ना सन्ततिसँग चाहेको अवधिभरि बस्न पाउने गरी खुकुलो भिसाको निःशुल्क प्रबन्ध मिलाइयोस्।
११. नेपालले कुनै पनि अवस्थामा बाहिर गएका वा नेपालमा रहेका भुटानी शरणार्थीहरूलाई नेपाली नागरिकता दिने सम्बन्धी सोच बन्द गरी नेपाल भुटानबिच यथाशीघ्र वार्ताको थालनी गरियोस् भन्ने म विनम्र अनुरोध गर्दछु।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.