काठमाडौँ – भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पुनः हिरासतमा बस्नुपर्ने भएको छ। भुटानी शासकले १० वर्ष जेलमा राखेर देश निकाला गरेका रिजाल नेपालको हिरासतमा बस्नुपर्ने भएको हो।
भुटानी शरणार्थी समस्या समाधानका लागि नेपाल सरकारको नेतृत्वलाई हारगुहार गर्दागर्दै रिजाल नक्कली भुटानी शरणार्थी मुद्दामा मतियारका रूपमा दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले नक्कली भुटानी शरणार्थी मुद्दामा सक्कली भुटानी नेता रिजाललाई विभिन्न कसुरमा मतियारका रूपमा दोषी ठहर गरेको हो।
जिल्ला अदालतले रिजाललाई सरकारी लिखत किर्ते, ठगी, सङ्गठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ। विभिन्न कसुरमा छुट्टाछुट्टै कैद र जरिवाना तोकिए पनि एकीकृत सजायको सिद्धान्तअनुसार उनलाई जम्मा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।
तर, उनले पीडितबाट रकम लिएको भने अदालतले पुष्टि गरेको छैन। अदालतको फैसलाअनुसार रिजालले रकम नलिएको पुष्टि भए पनि विभिन्न कसुरमा मतियार बनेको ठहर गरिएको हो।
रिजाल भुटानी शरणार्थी समस्या सुरु भएदेखि नै नेपालीभाषी भुटानीहरूको अधिकार, मानवअधिकार र स्वदेश फिर्तीको पक्षमा आवाज उठाउँदै आएका नेता हुन्। दक्षिण भुटानको लामिडाँडा क्षेत्रबाट जनप्रतिनिधिका रूपमा निर्वाचित भएका रिजाल पछि भुटानी राजाको सल्लाहकार परिषद्का सदस्यसमेत बनेका थिए।
भुटानमा नेपालीभाषी समुदायमाथि लागू गरिएका भाषा, पोसाक, नागरिकता तथा जनगणनासम्बन्धी नीतिको विरोध गर्दै बहुभाषिक र बहुसांस्कृतिक राज्यको पक्षमा आवाज उठाएपछि उनी भुटानी सत्ताको निशानामा परेका थिए। सन् १९८८ मा राजनीतिक अभियोग लगाइएपछि उनी भुटानबाट बाहिरिएका थिए।
नेपाल आएपछि पनि भुटानी सरकारको दबाबमा तत्कालीन पञ्चायत सरकारले उनलाई झापाको बिर्तामोडबाट पक्राउ गरी भुटानलाई हस्तान्तरण गरेको थियो। सन् १९८९ मा पक्राउ गरी भुटान पुर्याइएका रिजालले त्यहाँ करिब १० वर्ष जेल जीवन बिताए। उनलाई जन्मकैदको सजाय सुनाइएको थियो। पछि भुटान–नेपाल वार्तामार्फत शरणार्थी समस्या समाधान गर्ने भनिएपछि सन् १९९९ डिसेम्बर १७ मा उनी जेलमुक्त भएका थिए।
जेलमुक्त भएपछि पनि उनले भुटानी शरणार्थी समस्या समाधानका लागि निरन्तर पहल गरे। पटकपटक भुटानी राजालाई भेट्ने प्रयास सफल नभएपछि उनी भारतको सिलिगुडी, कोलकाता र दिल्ली हुँदै सन् २००३ मा पुनः काठमाडौँ आएका थिए। त्यसपछि नेपालमै निर्वासित जीवन बिताउँदै आएका रिजालले भुटानी शरणार्थीको स्वदेश फिर्तीका लागि निरन्तर आवाज उठाउँदै आएका छन्।
नेपाल सरकारले समेत उनलाई निर्वासित भुटानी शरणार्थी नेताका रूपमा विभिन्न सुविधा उपलब्ध गराएको थियो। २०६१ सालमा सरकारले अन्तर्राष्ट्रिय भ्रमणका लागि ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो। त्यसपछि उनले जेनेभामा संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्च आयोग (यूएनएचसीआर) को बैठकमा समेत सहभागिता जनाएका थिए।
२०६२/६३ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले रिजाललाई जीवन निर्वाहका लागि मासिक एक लाख रुपैयाँ, एउटा गाडी र सुरक्षाकर्मीसहितको सुविधा उपलब्ध गराएको विवरणसमेत सार्वजनिक भएका छन्।
नक्कली शरणार्थी प्रकरणमा कसरी मुछिए?
भुटानी शरणार्थीको पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएका रिजाल नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएपछि यो विषय थप चर्चामा आएको थियो।
अनुसन्धानका क्रममा रिजालको नाम जोडिएपछि उनी २०८० जेठ ४ गते पक्राउ परेका थिए। पछि उच्च अदालत पाटनले उनलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। उच्च अदालतले जाहेरवालासहितका मानिसबाट रिजालले रकम लिएको पुष्टि नभएको, अभियोग दाबीको कसुरमा उनको प्रत्यक्ष सहभागिता पुष्टि हुन नसकेको तथा उनी निर्वासित शरणार्थी नेता भएकाले अन्य देशमा भागेर जाने अवस्था नदेखिएको आधारसमेत उल्लेख गरेको थियो।
उच्च अदालतको आदेशपछि १५ लाख रुपैयाँ धरौटी दाखिला गरी उनी मुद्दाको पुर्पक्षका क्रममा तारिखमा रहँदै आएका थिए। अहिले काठमाडौँ जिल्ला अदालतको फैसलाले भने उनलाई विभिन्न कसुरमा मतियार ठहर गर्दै कैद सजाय तोकेको हो।
रिजालको हकमा अदालतको फैसलाको सजायसम्बन्धी पूर्णपाठमा विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय तोकिएको छ। अदालतका अनुसार सरकारी लिखत किर्ते कसुरमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, ठगीको मतियारमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, राज्यविरुद्धको कसुरको मतियारमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तथा सङ्गठित अपराधको मतियारतर्फ १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना हुने ठहर भएको छ।
अदालतले एकीकृत कसुरमा सबैभन्दा बढी सजाय सङ्गठित अपराधको मतियारतर्फको १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना भएको तथा त्यसपछिको ठूलो सजाय किर्तेतर्फको सजायको आधा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना हुने गरी जम्मा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको छ।
साथै रिजालले ८ सय रुपैयाँ क्षतिपूर्ति शुल्क दाखिला गर्नुपर्ने फैसलामा उल्लेख छ।
फैसलाको पूर्णपाठमा भनिएको छ– “माथि ठहर खण्डमा लेखिए बमोजिम प्रतिवादी टेकनाथ रिजाललाई लिखत किर्ते तर्फ १ (एक) वर्ष कैद र रु. १०,०००।– (दश हजार) जरिवाना हुने, ठगीको मतियारमा १ (एक) वर्ष कैद र रु.१०,०००।– (दश हजार) जरिवाना हुने, साथै राज्य विरुद्धको कसूरको मतियारमा ६ (छ) महिना कैद र रु.५०००।– (पाँच हजार) जरिवाना हुने तथा सङ्गठित अपराधको मतियार तर्फ १ (एक) वर्ष ६ (छ) महिना कैद र रु.१५०००।– (पन्ध्र हजार) जरिवाना हुने ठहरी एकीकृत कसुरमा निज प्रतिवादीलाई प्रस्तुत मुद्दामा सबै भन्दा बढी सङ्गठित अपराधको मतियारमा १ वर्ष ६ महिना कैद र रु.१५०००।– (पन्ध्र हजार) जरिवाना भएको तथा त्यस भन्दा पछिल्लो ठूलो सजाय किर्ते तर्फको सजायको आधा ६ (छ) महिना कैद र रु.५०००।– जरिवाना गरी जम्मा २ (दुई) वर्ष कैद र रु.२००००।– (बिस हजार) जरिवानाको सजाय हुने ठहरी निजले रु.८००।–(आठ सय) क्षतिपूर्ति शुल्क दाखिला गर्नु पर्ने गरी फैसला भएकोमा निज प्रतिवादीलाई लागेको कैद र जरिबानाको लगत कसी कैदको हकमा निज प्रतिवादी मिति २०८०।०२।०४ मा पक्राउ परी उच्च अदालत पाटनको मिति २०८०।०८।१५ को आदेशानुसार मिति २०८०।०८।१७ गते यस अदालतमा धरौटी रकम दाखिला गरी मुद्दा पुर्पक्षको लागि तारेखमा रहेकोमा निज प्रतिवादीलाई भएको कैद सजाय मध्ये ६ (छ) महिना १३ (तेह्र) दिन भुक्तान भैसकेको र बाँकी १ वर्ष ५ महिना १७ दिन कैद बेरुजु देखिँदा उक्त बेरुजु कैद असुल उपर गर्नू।”
अर्थात् अदालतको गणनाअनुसार रिजालले यसअघि भुक्तान गरेको ६ महिना १३ दिन कैद कट्टा गर्दा अब १ वर्ष ५ महिना १७ दिन कैद असुल गर्न बाँकी रहेको ठहर भएको छ।
१५ लाख धरौटीबाट जरिवाना कट्टा
अदालतले रिजालले उच्च अदालत पाटनको आदेशअनुसार राखेको १५ लाख रुपैयाँ धरौटीबाट फैसलाले तोकेको २० हजार रुपैयाँ जरिवाना र ८ सय रुपैयाँ क्षतिपूर्ति शुल्क कट्टा गरी फिर्ता गर्न आदेश दिएको छ।
फैसलाको पूर्णपाठमा बाँकी १४ लाख ७९ हजार २०० रुपैयाँ भने मुद्दाको अन्तिम किनारा भई कैद लगत असुल भएपछि प्रतिवादीको निवेदन परे नियमानुसार फिर्ता दिनू भनिएको छ।
अदालतको फैसलामा भनिएको छ–“निज प्रतिवादीलाई फैसलाले ठहरेको रु.२०,०००।–(बिस हजार) जरिवाना र रु.८००।–(आठ सय) क्षतिपूर्ति शुल्क निज प्रतिवादीले उच्च अदालत पाटनको आदेशानुसार यस अदालतमा राखेको धरौटी रकम रु.१५,००,०००।– (पन्ध्र लाख) बाट कट्टा गरी असुल जनाउनु र बाँकी रु.१४,७९,२००।- रकम फिर्ता पाउँ प्रतिवादीको निवेदन परे प्रस्तुत मुद्दाको अन्तिम किनारा भै कैद लगत असुल भएपछि नियमानुसार फिर्ता दिनू।”
भुटानमा नेपालीभाषी भुटानीहरूको अधिकारका लागि सङ्घर्ष गर्दा त्यहाँको जेलमा एक दशक बिताएका र नेपालमा निर्वासित जीवन बिताउँदै आएका रिजाल नक्कली भुटानी शरणार्थी प्रकरणमा भने मतियारका रूपमा दोषी ठहर भएका छन्।
उनले पीडितबाट रकम लिएको पुष्टि नभए पनि अदालतले लिखत किर्ते, ठगी, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधमा मतियारको भूमिका रहेको ठहर गर्दै २ वर्ष कैद, २० हजार रुपैयाँ जरिवाना तथा ८ सय रुपैयाँ क्षतिपूर्ति शुल्क तोकेको हो।
रिजालले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो देशमा पुनर्स्थापना गराउने कार्यबारे पहिलादेखि नै जानकारी रहेको अदालतसमक्ष बयान दिएका थिए।
काठमाडौँ जिल्ला अदालतले रिजालको यही बयानलाई समेत आधार बनाउँदै उनी नक्कली भुटानी शरणार्थीसम्बन्धी किर्ते कागज बनाउने कार्यमा संलग्न रहेको ठहर गरेको छ।
फैसलाको पूर्णपाठअनुसार रिजालले मौकामा तथा अदालतमा बयान गर्दा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो देशमा पुनर्स्थापना गराउने प्रयास हुँदै आएको कुरा आफूलाई पहिलादेखि नै थाहा भएको बताएका थिए। उनले उक्त कार्यमा सहप्रतिवादी टोपबहादुर रायमाझी योजनाकारका रूपमा संलग्न रहेको भनी पोलसमेत गरेका थिए।
रिजालले अर्का सहप्रतिवादीहरू केशवप्रसाद दुलाल र सानु भण्डारीले भुटानी शरणार्थीहरूलाई नेपाल सरकारले स्वदेश फर्काउन लागेको भन्ने विश्वास दिलाएको बताएका थिए।
उनीहरूले मन्त्रालयबाट पठाएको कार्ड भनी २०/२५ वटा कार्डमा आफूले सही गरी दिएको पनि रिजालले बयानमा उल्लेख गरेका थिए। अदालतले रिजालको यही बयानबाट केही मानिसहरूले नेपालमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो देशमा पठाउने गरी गलत कार्य गरिरहेको उनलाई थाहा भएको देखिएको ठहर गरेको छ।
भुटानी शरणार्थीको हकहितमा क्रियाशील व्यक्तिका रूपमा रिजालले त्यस्तो कार्यबारे जानकारी पाएपछि पनि कुनै कदम नचालेको अदालतको ठहर छ।
रिजालले गौशाला प्रहरी कार्यालयमा दिएको निवेदनबारे भने फैसलाको पूर्णपाठमा उल्लेख गरिएको छैन। उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै रकम उठाउने कार्य भइरहेको भन्दै तत्काल रोक्न माग गरेका थिए। उनले तत्कालीन सभामुखसमक्ष समेत उक्त कार्य रोक्न अपिल गरेका थिए। रिजालका कानुन व्यवसायीले उक्त अपिल इजलाससमक्ष वाचनसमेत गरेका थिए।
फैसलामा भुटानी शरणार्थीको समस्या समाधान एवं व्यवस्थापनमा कुनै जिम्मेवारी तथा जबाफदेही नरहेका व्यक्तिहरू केशवप्रसाद दुलाल र सानु भण्डारीले मन्त्रालयबाट पठाएको कार्ड भनेकै आधारमा रिजालले नक्कली भुटानी शरणार्थी कार्डमा सही गरेको उल्लेख छ।
रिजालको बयान ब्यहोराबाट नै निजले नक्कली किर्ते कागज बनाउने कार्यमा संलग्न रहेको देखिएको अदालतले ठहर गरेको छ।
अभियोगमा गृह मन्त्रालयमा अभिलेखमा रहेको बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदनसमेत रिजाल संलग्न भई किर्ते गरेको दाबी गरिएको थियो। तर, उक्त प्रतिवेदन किर्ते गर्ने कार्यमा रिजालको संलग्नता रहेको भन्ने कुरा वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन नसकेको अदालतले स्पष्ट गरेको छ।
अदालतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै ठगी धन्दा चलाउने प्रतिवादीहरूलाई सहयोग पुग्ने गरी रिजालले नक्कली भुटानी शरणार्थी कार्डमा हस्ताक्षर गरेको ठहर गरेको छ।
मिसिल संलग्न ३२ जना नेपाली नागरिकलाई भुटानी शरणार्थी भनी रिजालले प्रमाणित गरी दिएकोसमेत फैसलामा उल्लेख छ।
यही आधारमा रिजालले मुलुकी अपराध संहिता, २०७४ को दफा २७६(१) र (२) बमोजिम लिखत किर्तेसम्बन्धी कसुर गरेको अदालतले ठहर गरेको हो।
ठगी गरेर रकम लिएको पुष्टि भएन
अदालतले रिजालले ठगी गरी रकम लिए–खाएको भने पुष्टि हुन नसकेको स्पष्ट गरेको छ। रिजालमाथि ठगी, सङ्गठित अपराध एवं राज्यविरुद्धको कसुर गरेको अभियोग थियो। वादी नेपाल सरकारले सङ्गठित रूपमा ठगी गर्ने कार्यमा रिजालको भूमिका नीति निर्माण तहको रहेको दाबी गरेको थियो।
तर, अदालतले रिजाल सङ्गठित ठगीको कसुरमा नीति निर्माणको भूमिकामा रहेको भनी विश्वास गर्न र देख्न सकिने कुनै वस्तुनिष्ठ आधार प्रमाण पेश नभएको जनाएको छ।
सरकारले हचुवाका भरमा रिजाललाई सङ्गठित अपराधको नीति निर्माण भूमिकामा रहेको भनी उल्लेख गरेको अदालतको फैसलामा भनिएको छ।
अदालतका अनुसार रिजालको आफ्नै बयानबाट नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने आश्वासन दिलाइएको देखिन्छ।रिजालले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी भन्ने पहिचान खुल्ने गरी नामको सूची प्रमाणित गरी दिएको अदालतले जनाएको छ।
त्यस्तै, सहप्रतिवादीले दिएको कार्डमा पनि रिजालले सही गरी दिएको फैसलामा उल्लेख छ। उक्त कार्ड देखाएर नेपाली नागरिकलाई विश्वासमा पारिएको अदालतको ठहर छ। सङ्गठित रूपमा ठगी गर्ने कार्यमा संलग्न अन्य प्रतिवादीलाई रिजालले सहयोग पुर्याएको अदालतले निष्कर्ष निकालेको छ। त्यसकारण रिजालले आरोपित कसुरमा मतियारको भूमिका निर्वाह गरेको अदालतले ठहर गरेको हो।
अदालतले रिजाललाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९(१) र (२) बमोजिम ठगीको मतियार ठहर गरेको छ। त्यस्तै, सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१), (२) र (३) को खण्ड (क) बमोजिम सङ्गठित अपराधको कसुरमा समेत मतियार ठहर गरिएको छ।
मुलुकी अपराध संहिता, २०७४ को दफा ५१(१) र (२)(क) बमोजिम राज्यविरुद्धको कसुरमा समेत रिजाललाई मतियार ठहर गरिएको छ। अदालतले एउटै वारदातबाट सिर्जित अलग–अलग कसुरको मतियार रही सजाय गर्ने प्रयोजनका लागि एकीकृत कसुरतर्फ मतियारमा समेत सजाय हुने कसुर गरेको ठहर गरेको छ।
भुटानी शरणार्थीको हकहितका लागि लामो समयदेखि क्रियाशील रिजाल नक्कली भुटानी शरणार्थी प्रकरणमा रकम लिएर ठगी गरेको अभियोगमा भने दोषी ठहर नभए पनि नक्कली कार्डमा हस्ताक्षर गर्ने, नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा प्रमाणित गर्ने तथा अन्य प्रतिवादीलाई सहयोग पुर्याएको आधारमा लिखत किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा मतियार ठहर भएका हुन्।
‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने योजना मेरो होइन’
रिजालले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने योजना आफ्नो नभएको बयान दिएका थिए। उनले आफू स्वयं भुटानी शरणार्थी भएको र विगत लामो समयदेखि भुटानी शरणार्थीको अधिकारका लागि आवाज उठाउँदै आएको बयान दिएका थिए।
रिजालले अदालतमा गरेको बयानमा प्रतिवादी सानु भण्डारी र केशवप्रसाद दुलालसँग आफ्नो चिनजान रहेको बताएका छन्। निजहरू नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने समेतको योजना बनाई आफ्नो बिर्तामोडमा रहेको घरमा भेट्न आएको उनले बताएका छन्।
अन्य प्रतिवादी इन्द्रजित राई र टोपबहादुर रायमाझीसँग पनि आफ्नो चिनजान रहेको रिजालले बताएका छन्। प्रतिवादी गोविन्दकुमार चौधरी, अशोक पोखरेल र रामशरण केसीसँग भने सामान्य चिनजान रहेको उनले बताएका छन्।
प्रतिवादीमध्येका रामशरण केसीले भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी विभिन्न व्यक्तिहरूबाट रकम उठाएका रहेछन् भन्ने आफूले थाहा पाएको रिजालको बयान छ।
गजेन्द्र बुढाथोकीसमेतको जाहेरीका सम्बन्धमा आफ्नो कुनै संलग्नता नरहेको उनले बताएका छन्। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने योजना आफ्नो नभएको रिजालले बताएका छन्।
आफूले जाने–बुझेसम्म उक्त योजना नेपाल सरकारको माथिल्लो तहबाट बनाइएको उनको दाबी छ। ‘म आफैँ भुटानी शरणार्थी भएको र विगत लामो समयदेखि म भुटानी शरणार्थीको अधिकारका लागि आवाज उठाइरहेको छु। तर पनि भुटानी शरणार्थीहरूको व्यवस्था मिलाउने सन्दर्भमा केही प्रगति पनि भएको छैन,’ रिजालले बयानमा भनेका छन्।
उक्त योजनाबारे आफूले सानु भण्डारी र केशवप्रसाद दुलालबाट थाहा पाएको उनले बताएका छन्। निजहरू सो विषयमा कुरा गर्न आफ्नो घर आएको पनि उनले बताएका छन्।
रिजालकाे बयान अनुसार आफूले सानु भण्डारी र केशवप्रसाद दुलाललाई भुटानी शरणार्थीहरूले धेरै दुःख पाइरहेको अवस्थामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कुरा किन भइरहेको छ भनेर प्रश्न गरेका थिए।
‘भुटानी शरणार्थीहरूले धेरै दुःख पाइरहेका छन्। अझ तपाईँहरू नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लाने कुरा गर्दै हुनुहुन्छ। मैले नेपाल सरकारबाट निर्णय भएको सुविधा त पाएको छैन। यो कसरी सम्भव रहेको छ?’ भनी आफूले प्रश्न गरेको उनको बयान थियो।
त्यसको जवाफमा आफूले पाउने सुविधा पाउने र सबै कुरा मिलाइसकेको उनीहरूले बताएको रिजालको बयान छ। सबै भुटानी शरणार्थीलाई अमेरिका वा विदेश पठाउने र त्यसमा नेपाली नागरिकलाई समेत नक्कली भुटानी शरणार्थी बनाई अमेरिका वा तेस्रो देश लैजाने योजना रहेको उनीहरूले बताएको रिजालले बताएका छन्।
‘हामी सबै सरकारी तवरबाट मिलाउँछौँ। केही सुविधा र रकम लिएर भुटानीहरूलाई र नेपालीहरूलाई पनि मिलाएर लैजाने हो,’ उनीहरूले भनेको रिजालले बयानमा उल्लेख गरेका छन्। त्यसपछि आफूले यस्तो कुरा आफूलाई केही थाहा नहुने बताएका थिए।
सरकारले नै यस्तो नीति र कानुन बनाएर लैजाने काम गर्छ भने आफूले भन्नु केही नरहेको रिजालको भनाइ थियो। लामो समयदेखि दुःख पाएर बसेका भुटानी शरणार्थीहरूसँग कुनै पनि रकम लिन नमिल्ने उनले बताएका थिए।
उनीहरूलाई सहज र सरल रूपमा अमेरिका वा अन्य देशमा उनीहरूको रोजाइअनुसार जाने व्यवस्था मिलाउने भए आफ्नो समर्थन रहेको रिजालले बताएका छन्। त्यसका लागि आफूलाई कुनै रकम पनि नचाहिने र त्यस्तो कुरा आफूलाई नभन्न उनले भनेका थिए।
पछि आफूलाई टिकट काटेर झापाबाट बोलाइएको रिजालले बताएका छन्। एयरपोर्टमा विक्रम भन्ने गोविन्दकुमार चौधरी लिन गएको उनले बताएका छन्।चौधरीले आफूलाई टोपबहादुर रायमाझीको घरमा लगेको रिजालले बताएका छन्। टोपबहादुर रायमाझीको घरमा शरणार्थीको विषयमा कुराकानी भएको उनले बताएका छन्।
तर, त्यहाँ कुरा स्पष्ट नभएपछि प्रचण्डसँग भेट गराइदिने भन्दै आफूलाई प्रचण्ड निवासमा पुर्याइएको रिजालले बयान दिएका छन्। प्रचण्ड निवासमा आफू, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल गएको उनले बताएका छन्।
प्रचण्ड निवासमा आफूले भुटानी शरणार्थीको व्यवस्थापनसम्बन्धमा कुराकानी गर्न आएको बताएको रिजालको बयान छ। त्यस क्रममा प्रचण्डले आफू एकदमै व्यस्त रहेको बताएका थिए।
टोपबहादुर रायमाझीसँग सबै कुरा गर्न र सम्बोधन हुन सक्ने भए उनले समाधान गर्ने प्रचण्डले भनेको रिजालले बताएका छन्। त्यसपछि आफूलाई उनीहरूले भनेजस्तो रोकिएको सुविधा पनि प्राप्त भएको रिजालको बयान छ।
भुटानी शरणार्थीहरूका बारेमा विभिन्न निर्णयहरू सरकारी तवरबाट हुन थालेको उनले बताएका छन्। सरकारी अधिकारीहरू गएर शिविरमा तथ्याङ्क सङ्कलन गर्ने कामसमेत सुरु भएको उनले बताएका छन्।
त्यसपछि आफूलाई पनि उनीहरूले भनेजस्तो काम हुने रहेछ भन्ने सोचाइ आएको रिजालको बयान छ। आफूले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको रिजालले बताएका छन्।
प्रेमराज पन्थी भन्ने व्यक्तिलाई आफूले नचिनेको उनले बताएका छन्। गोकुल थापासँग आफ्नो चिनजान भए पनि प्रेमराज पन्थीसँग उनले उल्लेख गरेको शिवम् होटलमा कुराकानी भएको आफूलाई जानकारी नभएको रिजालको बयान छ।
तर, प्रेमराज पन्थीसँग नक्कली भुटानी शरणार्थीको विषयमा पटकपटक कुराकानी भएको उनले बताएका छन्। प्रेमराज पन्थीसमेत नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै रकम उठाउने कुरामा सानु भण्डारी र केशवप्रसाद दुलालजस्तै भूमिकामा रहेका व्यक्ति भएको रिजालले बताएका छन्।
पन्थीले गोकुल थापालाई कति रकम दिए भन्ने आफूलाई केही जानकारी नभएको उनले बताएका छन्। यस कामको सिलसिलामा विभिन्न व्यक्तिहरूले आफूलाई फोन सम्पर्क गर्ने र भेट्ने गरेको रिजालले बताएका छन्।
तर, भेट्दा र कुराकानी हुँदा आफूले भुटानीहरूसँग कुनै पनि रकम लिन नपाइने बताउने गरेको उनले बताएका छन्। भुटानीहरूलाई उनीहरूको इच्छाअनुसार अर्को देशमा पुनर्स्थापना गर्नुपर्ने आफ्नो धारणा रहेको रिजालको बयान छ।
‘मलाई सोबापत कुनै रकम दिनुपर्दैन। हाम्रो समस्या समाधान भए पुग्छ,’ आफूले भन्ने गरेको उनले बताएका छन्। केशव दुलाल र सानु भण्डारीले भुटानी शरणार्थीहरूको तथ्याङ्क सङ्कलन भएपछि छुट भएका र दर्ता हुन बाँकी भुटानीहरूको कार्ड बनाउनुपर्ने बताएका थिए। त्यसको अभिलेख राखी निर्णय गराउनुपर्ने उनीहरूले बताएका थिए।
मन्त्रालयबाट नै पठाएको कार्ड भन्दै उनीहरूले आफूलाई २०/२५ वटा कार्ड भरेर दिएको रिजालले बताएका छन्। नेपाल सरकारबाट नै निर्णय भएको भनेपछि आफूले उनीहरूले भरेका कार्डमा सही गरेको उनले बताएका छन्।
अन्य नेपाली नागरिकलाई भुटानी शरणार्थीको रूपमा अभिलेख राख्न फाराम भर्नुपर्ने भन्दै फाराम भराइएको रिजालले बताएका छन्। नेपालीहरूले भरेको उक्त फाराममा आफूलाई कुनै प्रमाणित गर्न नलगाइएको र आफूले पनि प्रमाणित नगरेको उनको बयान छ।
ती फाराम भरेका नेपालीहरू भुटानी भएको भन्दै भुटानी शिविरमा गएपछि मात्र उनीहरूको कार्ड बनाउने हो भनी आफूलाई भनिएको उनले बताएका छन्।तर, ती नेपालीहरू भुटानी शिविरमा नै जान नपाएको रिजालले बताएका छन्।
त्यही भएर नेपालीहरूको भुटानी कार्ड बनाएर आफूलाई सही गर्न लगाएको आफूलाई जानकारी नभएको र आफूले पनि नगरेको उनले बताएका छन्।इन्द्रजित राई र टोपबहादुर रायमाझीले पीडितहरूबाट रकम लिएकोबारे आफूलाई जानकारी नभएको रिजालले बताएका छन्।
तर, उनीहरू नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाई अमेरिका लैजाने कार्यमा नीति निर्माणको भूमिकामा रहेको भन्ने आफूले सुनेको उनले बताएका छन्। प्रतिवादी अशोक पोखरेल यस प्रकरणमा संलग्न रहेको र डिजाइन गरेको भन्ने आफूलाई जानकारी नभएको रिजालको बयान छ।
‘छुट भएका भुटानीको अभिलेख भएको कार्ड भनेर सही गरेँ’
भुटान मानव अधिकार संस्थाको सदस्यता कार्डमा सहीछाप गर्न आफूलाई सानु भण्डारी र केशवप्रसाद दुलालले भनेको रिजालले बताएका छन्। छुट भएका भुटानीहरूको अभिलेख भएको कार्ड भनी उनीहरूले भनेका कारण आफूले सही गरेको उनले बताएका छन्।
शरणार्थीको विषयमा कुरा गर्ने केशवप्रसाद दुलाल, सानु भण्डारी र टोपबहादुर रायमाझीजस्ता व्यक्तिहरूले सरकारी स्तरबाट नै काम हुने भन्दै सहयोग गर्न आग्रह गरेको रिजालको बयान छ।
उनीहरूले भनेजस्तै मन्त्रिपरिषद् र मन्त्रालयसमेतबाट सोहीबमोजिमका निर्णयहरू हुँदै गएको उनले बताएका छन्। प्रहरी प्रशासनबाट समेत यस्तो काम खुलमखुला भइरहेको उनले बताएका छन्। त्यसकारण यस्तो काम राम्रो होला भन्ने आफू विश्वस्त भएको रिजालले बताएका छन्।
आफू स्वयं पनि शरणार्थी भएको र सबै शरणार्थीको भलो हुने होला भन्ने विश्वास गर्दा आफू पनि यसमा जोडिएको उनले बताएका छन्। रिजालले यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। कसैबाट कुनै रकम पनि नलिएको उनले बताएका छन्। कसैलाई रकम दिनु पनि नभनेको उनको बयान थियो।
यो पनि : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउन टेकनाथले रकम नलिएको ठहर, परिचयपत्र किर्तेमा भने दोषी
भुटानी शरणार्थी मुद्दाको पूर्णपाठ : टोपबहादुरले ४० लाख तिर्नुपर्ने, कसको भागमा कति बिगो?
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.