काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी मुद्दामा प्रतिवादीहरूको हकमा दायित्व कायम हुने गरी बिगो रकम भराई लिन पाउने फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादीबाट जाहेरवाला पीडितहरूले भराई लिन पाउने बिगो रकम भराउने फैसला गरेको थियो। सोही फैसलाको पूर्णपाठ अदालतले सार्वजनिक गरेको हो।
सरकारी लिखत किर्ते, सङ्गठित ठगी, सङ्गठित अपराध तथा राज्यविरुद्धको कसुरमा ३१ जना प्रतिवादी थिए। पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, बेचन झासहितका प्रतिवादीहरूको सजाय निर्धारण गरेको अदालतले कसबाट कति बिगो भराउने भन्ने फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।
फैसलाको पूर्णपाठअनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले ४० लाख रुपैयाँ बिगो रकम तिर्नुपर्नेछ। फैसलामा ५९ जना जाहेरवाला पीडितले पाउने बिगो रकम र उक्त रकमको दायित्व रहने प्रतिवादीको नामसमेत उल्लेख गरिएको छ।
पूर्णपाठअनुसार विवेक थापा, प्रदीप अर्याल, सन्देशजंग ठकुरी, सञ्जीव गौतम, सन्देश गौतम, खिमराज पौडेल, निर्मल केसी र माधव केसीले २०/२० लाख रुपैयाँ बिगो पाउनेछन्। यी सबै रकमको दायित्व प्रतिवादी सन्देश शर्मामाथि रहनेछ।
त्यस्तै, देवबहादुर केसी, मोहन पाण्डे, कमलबहादुर विष्टले १५/१५ लाख रुपैयाँ, तेजिना लम्सालले २० लाख रुपैयाँ, निर्मला लम्साल, वीरेन्द्रकुमार ओली, मिना राणा, सुशील वली, निकेश केसी, भविन्द्रप्रसाद पंगाली, टोपेन्द्र डाँगी, उज्ज्वल रिजाल, दीपक केसी, भरत केसी र तुलसीराम केसीले १५/१५ लाख रुपैयाँ बिगो पाउनेछन्। यी सबै रकमको दायित्व पनि प्रतिवादी सन्देश शर्मामाथि रहनेछ।
रामकुमार रेग्मीले १ करोड २ लाख ५० हजार रुपैयाँ, गौतम गिरीले ३ लाख रुपैयाँ, सुजल केसीले २५ लाख रुपैयाँ, मनीष डिसीले २० लाख रुपैयाँ, मुमकान्त पाण्डेले २० लाख रुपैयाँ, डम्बरबहादुर खत्रीले १५ लाख ५० हजार रुपैयाँ, यज्ञ वलीले २० लाख रुपैयाँ, असीम वलीले २० लाख रुपैयाँ, पदमसिंह खत्रीले २० लाख रुपैयाँ, महेन्द्र कुसारीले २० लाख रुपैयाँ, मनबहादुर खत्रीले २५ लाख रुपैयाँ र चन्द्रबहादुर खड्काले २० लाख रुपैयाँ बिगो पाउनेछन्। यी सबै रकमको दायित्व प्रतिवादी सन्देश शर्मामाथिनै रहने फैसलाको पूर्णपाठमा छ।
रोशन खरेलले ५२ लाख रुपैयाँ बिगो पाउनेछन्। उक्त रकमको दायित्व सागर राई, सानु भण्डारी र केशवप्रसाद दुलालमाथि रहनेछ। गोकुल भट्टराईले ५० लाख रुपैयाँ बिगो पाउनेछन्। उक्त रकमको दायित्व सागर राई र सानु भण्डारीमाथि रहनेछ।
सुमन दाहालले १ करोड १४ लाख रुपैयाँ बिगो पाउनेछन्। उक्त रकममध्ये गोविन्दकुमार चौधरीबाट २५ लाख रुपैयाँ र बाँकी ८९ लाख रुपैयाँ सानु भण्डारीबाट भराई लिन पाउने फैसलामा उल्लेख छ।
रविन्द्र कार्कीले २० लाख रुपैयाँ बिगो पाउनेछन्। उक्त रकमको दायित्व सागर राई र केशव दुलालमाथि रहनेछ। प्रदीप फुयालले ९ लाख रुपैयाँ र दिलीप गौतमले २२ लाख रुपैयाँ बिगो पाउनेछन्। प्रदीप फुयाल र दिलीप गौतमको रकमको दायित्व सागर राईमाथि रहनेछ।
खगेन्द्र थेवेले ३० लाख रुपैयाँ बिगो पाउनेछन्। उक्त रकमको दायित्व केशव दुलाल र सानु भण्डारीमाथि रहनेछ। भुवनसिंह लिम्बूले ९ लाख ५० हजार रुपैयाँ बिगो पाउनेछन्। उक्त रकमको दायित्व पनि केशव दुलाल र सानु भण्डारीमाथिनै रहनेछ।
लोकबहादुर डिसीले २० लाख रुपैयाँ बिगो पाउनेछन्। उक्त रकमको दायित्व सन्देश शर्मा, केशवप्रसाद दुलाल र सानु भण्डारीमाथि रहनेछ।
समीर शिवाकोटीले १५ लाख रुपैयाँ, रोशन शिवाकोटीले १५ लाख रुपैयाँ र सुरज घिमिरेले ८ लाख रुपैयाँ बिगो पाउनेछन्। यी तीनै जनाको रकमको दायित्व सागर राईमाथि रहनेछ।
भेषराज शर्मा लम्सालले २९ लाख ९७ हजार रुपैयाँ बिगो पाउनेछन्। उक्त रकमको दायित्व केशवप्रसाद दुलाल र सानु भण्डारीमाथि रहनेछ।
प्रेमराज पन्थीले ३ करोड ६६ लाख रुपैयाँ बिगो पाउनेछन्। उक्त रकममध्ये टोपबहादुर रायमाझीबाट ४० लाख रुपैयाँ, इन्द्रजीत राईबाट १ करोड ५० लाख रुपैयाँ र बाँकी हुन आउने १ करोड ७६ लाख रुपैयाँ प्रतिवादी केशवप्रसाद दुलाल र सानु भण्डारीबाट भराई लिन पाउने फैसलामा उल्लेख छ।
जिमा शेर्पेनीले ३ लाख रुपैयाँ, तेन्जीपुटी शेर्पेनीले ३ लाख रुपैयाँ, जिमा शेर्माले ४ लाख रुपैयाँ, पेम्बा शेर्पाले ४ लाख रुपैयाँ, लमुडोमा शेर्पाले ७ लाख रुपैयाँ र सोनी शेर्पाले ६ लाख रुपैयाँ बिगो पाउनेछन्। यी सबै रकमको दायित्व प्रतिवादी आङटावा शेर्पामाथि रहनेछ।
प्रविण कार्कीले १ लाख ५० हजार रुपैयाँ बिगो पाउनेछन्। उक्त रकमको दायित्व केशवप्रसाद दुलालमाथि रहनेछ।
राजु केसीले २० लाख रुपैयाँ बिगो पाउनेछन्। उक्त रकमको दायित्व सन्देश शर्मामाथि रहनेछ। उद्धव तिवारीले ८ लाख रुपैयाँ बिगो पाउनेछन्। उक्त रकमको दायित्व सागर राईमाथि रहनेछ। कुलबहादुर बस्नेतले २० लाख रुपैयाँ बिगो पाउनेछन्। उक्त रकमको दायित्व सन्देश शर्मामाथि रहनेछ।
काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी मुद्दामा जाहेरवाला पीडितहरूले पाउने बिगो रकम र सो रकम भराउने दायित्व रहेका प्रतिवादीहरूको नाम फैसलाको पूर्णपाठमा स्पष्ट रूपमा उल्लेख गरेको छ।
नक्कली भुटानी शरणार्थी मुद्दाको फैसलाको पूर्णपाठअनुसार प्रतिवादीहरूबाट बरामद भएका मोबाइल तथा आईप्याड सामग्रीहरू जफत हुने ठहर गरेको छ। अदालतले प्रतिवादी शमशेर मियाले प्रयोग गरेको गाडी सरकारी गाडी भएकोले जफत गर्नुपर्ने नभएको ठहर गरेको छ।
त्यस्तै, अर्का प्रतिवादी टोपबहादुर रायमाझीको गाडी नै उक्त वारदात तथा कसुरमा अरू प्रतिवादीले प्रयोग गरेको भन्ने यकिन भएको नदेखिएको भन्दै निजको गाडी जफत नहुने ठहर गरेको छ।
कसुरदार ठहर भएका प्रतिवादीहरूले अपराध पीडित संरक्षण ऐन, २०७९ को दफा ४१ बमोजिम क्षतिपूर्ति शुल्क दाखिला गर्नुपर्ने समेत अदालतले ठहर गरेको छ।
फैसलाको पूर्णपाठअनुसार फरार रहेका प्रतिवादीहरू अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाईं, निरज राई, राजेश अर्याल, मोहनराज राई, बिनिता सावदेन लिम्बु र सुनिल बुढाथोकीको हकमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९८ बमोजिम मुल्तबीमा राख्ने ठहरी फैसला भएको छ।
अदालतले निज प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएमा वा निज स्वयं उपस्थित भएमा अथवा कानुनका म्याद व्यतीत भएपछि मुद्दा मुल्तबीबाट जगाई कारबाही किनारा गर्ने गरी हाल निज प्रतिवादीहरूका हकमा प्रस्तुत मुद्दा मुल्तबी दायरीमा दर्ता गरी नियमानुसार गर्न आदेश दिएको छ।
फैसलाको पूर्णपाठमा फरार रहेका आठै जना प्रतिवादीको हकमा मुद्दा मुल्तबीमा राखी उनीहरू अदालतमा उपस्थित भएमा वा कानुनका म्याद व्यतीत भएपछि मुद्दा पुनः जगाई कारबाही र किनारा गर्ने व्यवस्था गरिएको उल्लेख छ।
नक्कली भुटानी शरणार्थी मुद्दामा असार २३ गते कसुर ठहर गरेको अदालतले असार ३० गते सजाय निर्धारण गरेको थियो। अदालतले साउन २२ गते फैसला प्रमाणीकरण गरेको पूर्णपाठमा उल्लेख छ।
यो पनि : नक्कली भुटानी शरणार्थी : २० पीडितलाई १ करोड ९२ लाख बिगो भराउने फैसला
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.