डाक्टर र नर्स कुटेको आरोपमा नाबालकसहित चार जना नियन्त्रणमा

डाक्टर र नर्स कुटेको आरोपमा नाबालकसहित चार जना नियन्त्रणमा

भिडियो गेम खेल्न नदिएको विषयमा विवाद

104
SHARES
दिउँसो डाक्टर र नर्समाथि कुटपिट गरेपछि राति अस्पताल र फार्मेसीमा तोडफोड । तस्बिर : मानबहादुर/पहिचान डटकम

कालीकोट – कालीकोटको पलाँता गाउँपालिका–९ थिर्पूस्थित पलाँता अस्पतालमा चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पतालमा तोडफोड गरेको आरोपमा प्रहरीले एक नाबालकसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

शुक्रवार दिउँसो अस्पताल परिसरमा दुई बालकले भिडियो गेम खेलेर बिरामीलाई डिस्टर्ब गरेको भन्दै सम्झाउने क्रममा विवाद सुरु भएको थियो। विवाद उग्र बनेपछि चिकित्सकसहित तीन जना कुटिएका थिए। राति सोही समूहले पुनः अस्पतालमा प्रवेश गरी तोडफोड गर्नुका साथै थप तीन जनामाथि आक्रमण गरेको अस्पताल प्रशासनले जनाएको छ।

पलाँता अस्पतालका व्यवस्थापक जन्मऋषि न्यौपानेका अनुसार दिउँसो अस्पतालमा कार्यरत डा. अलि हैदर राईन, स्टाफ नर्स शान्ता गिरी र सुरक्षा गार्ड गजेन्द्र बममाथि कुटपिट भएको थियो। राति भने अनमी उषा शाही, अहेव विष्णु रोकाया र सुरक्षा गार्ड दर्न दमाईमाथि आक्रमण भएको उनले बताए।

‘दिउँसो डाक्टरसहितलाई कुटपिट गरे। राति आएर तीन जनालाई कुटे,’ न्यौपानेले भने, ‘दिउँसोको विषयलाई लिएर राति अस्पतालमाथि आक्रमण गरेर तोडफोड भयो।’

घटनापछि प्रहरीले रातभर अस्पतालमा सुरक्षा दिएको थियो। जिल्ला प्रहरी कार्यालय कालीकाेटका प्रहरी नायब निरीक्षक (डिएसपी) हिमबहादुर खत्रीका अनुसार अस्पतालमा कार्यरत चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि दिउँसो कुटपिट भएपछि राति पुनः आक्रमण र तोडफोड भएको हो।

घटनामा संलग्न रहेको आरोपमा पलाँता–९ थिर्पूकी ३२ वर्षीया मैना बम, स्थानीय तपेन्द्र बम, मैनाका पति सुशीलकुमार बम र उनका १३ वर्षीय छोरालाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी खत्रीले बताए।

‘सामान्य विवादले उग्र रूप लिएर कुटपिट र तोडफोड भएको पाइयो,’ उनले भने, ‘थप अनुसन्धान गर्दैछौं।’

क्वाटरमा सरेपछि विवाद

अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी यसअघि कुटपिट र तोडफोड गर्ने सुशीलकुमार बम र मैना बमको घरमा भाडामा बस्दै आएका थिए। उनीहरू करिब एक साताअघि अस्पताल व्यवस्थापन समितिको निर्णयअनुसार अस्पतालकै क्वाटरमा सरेका थिए।

अस्पताल प्रमुख डा. राईनका अनुसार स्वास्थ्यकर्मी क्वाटरमा सरेपछि घरधनी पक्षले चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई गालीगलौज गर्दै अपमानित गर्ने गरेका थिए।

‘अस्पताल व्यवस्थापन समितिको निर्णयअनुसार स्वास्थ्यकर्मीहरू क्वाटरमा सरेका थिए। त्यही रिसले निहुँ खोजेर कुटपिट गरे,’ उनले भने।

भिडियो गेम खेल्न नदिएको विषयमा विवाद

शुक्रवार दिउँसो बाजुराबाट आएका बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको बेला मैना बमका दुई छोराहरू अस्पताल परिसरमा आएर भिडियो गेम खेल्न थालेका थिए। अस्पताल प्रमुख डा. राईनका अनुसार बिरामीलाई डिस्टर्ब गरेको भन्दै सुरक्षा गार्ड गजेन्द्र बमले बालकहरूलाई अस्पताल परिसरमा भिडियो गेम नखेल्न सम्झाएका थिए। त्यसपछि पनि विवाद बढ्दै गएको उनले बताए।

‘बिरामीलाई डिस्टर्ब हुन्छ, बाबु यता नखेल भनेर गार्डले सम्झाउँदा मानेनन्,’ डा. राईनले भने, ‘मैले पनि बाबुहरू गइहाल भनेपछि आमाले गालीगलौज गर्न थालिन्।’

विवादका क्रममा स्टाफ नर्स शान्ता गिरीले सम्झाउन खोज्दा उनीमाथि आक्रमण भएको डा. राईनको भनाइ छ। गिरीमाथि आक्रमण भएपछि आफू छुट्याउन जाँदा आफूमाथि समेत कुटपिट भएको उनले बताए।

‘स्थानीय मैनाले हामीले दिएको जग्गा हो, त्यहीँ खेल भनेर मुख छाडिन्,’ डा. राईनले भने, ‘स्टाफ नर्स गिरीले अस्पतालमा डिस्टर्ब गर्न पाइँदैन भनेपछि सुरुमा आमा–छोरा मिलेर उनीमाथि आक्रमण गरे। म छुट्याउन जाँदा ममाथि पनि कुटपिट भयो।’

स्वास्थ्यकर्मीमाथि आक्रमण दुःखद : गाउँपालिका अध्यक्ष

पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले सामान्य विषयमा विवाद गरेर स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नु र अस्पतालको भौतिक संरचनामा तोडफोड गर्नु दुःखद भएको बताए। कुटपिटमा घाइते स्टाफ नर्स शान्ता गिरीले घरबाट अस्पतालको क्वाटरमा सरेको विषयलाई लिएर आफूहरूमाथि आक्रमण भएको बताइन्।

‘घरबाट अस्पतालको क्वाटरमा सरेको रिस पोख्न बालबालिकालाई अस्पताल परिसरमा डिस्टर्ब गर्न पठाउने गर्थे,’ गिरीले भनिन्, ‘किन डिस्टर्ब गर्छौ भनेर सम्झाउँदा कुटपिट गरे।’

जिल्ला प्रहरी कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार इलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी निरीक्षक सत्यनारायण चौधरीको कमान्डमा खटिएको टोलीले घटनामा संलग्न रहेको आरोपमा एक नाबालकसहित चार जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
104
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.