काठमाडौँ – देशभर सुरक्षा चुनौती बढ्दै गएको देखिएको छ। उपचारमा खटिएका चिकित्सकमाथि अस्पतालभित्रै आक्रमण हुन थालेको छ भने सार्वजनिक पदमा रहिसकेका व्यक्तिसमेत जङ्गलमा मृत अवस्थामा भेटिएका छन्।
कालीकोटमा स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पतालमा तोडफोड भएपछि अस्पताल नै बन्द भएको छ। कपिलवस्तुमा जङ्गलमा हराएको जानकारी गराएका पूर्वमेयर मृत अवस्थामा भेटिएका छन्। पछिल्ला यी घटनाले नागरिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
कालीकोटको पलाँता गाउँपालिकास्थित अस्पतालमा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि स्थानीयबाटै आक्रमण भएपछि सेवा नै प्रभावित भएको छ।
अस्पतालको बहिरङ्ग अर्थात् ओपिडी कक्ष अगाडि बसेर वाइफाइ चलाइरहेका स्थानीयलाई स्वास्थ्यकर्मीले बाहिर जान आग्रह गरेपछि विवाद सुरु भएको थियो।
विवादकै क्रममा मेडिकल अफिसर डाक्टर अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि शुक्रवार दिउँसो र बेलुकी क्वाटरमै पुगेर स्थानीय व्यक्तिहरूले हातपात गरेका थिए। उनीहरूले अस्पतालका उपकरणसमेत तोडफोड गरेका थिए।
कुटपिट र तोडफोडमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी पाँच दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटमा प्रमुख डिएसपी हिम बहादुर खत्रीले जानकारी दिए।
स्वास्थ्यकर्मीमाथि भएको आक्रमणपछि अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीको टोली सदरमुकाम झरेको छ। भाडामा बस्दै आएको घरबाट अस्पतालको क्वाटरमा सरेका चिकित्सक तथा कर्मचारी असुरक्षाका कारण सदरमुकाम फर्किएका हुन्।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै असुरक्षित भएपछि पलाँता गाउँपालिकाको अस्पताल बन्द भएको छ। घटनाबारे थप छलफल गर्न सोमबार सर्वपक्षीय बैठक बोलाउने तयारी छ।
कालीकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनाले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा समेत सुरक्षा चुनौती देखिएको छ।
कपिलवस्तुमा भने जङ्गलमा हराएको जानकारी दिएका पूर्वमेयर एवम् नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा भेटिएका छन्।शुक्रवार अन्दाजी २ बजेतिर घरबाट निस्किएका ६५ वर्षीय सिंहले दिउँसो ३ बजेर २९ मिनेटमा जङ्गलमा बाटो बिराएर हराएको जानकारी गराएका थिए। उनले आफू हराएको र उद्धारका लागि सहयोगसमेत मागेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोहर भट्टले बताए।
सहयोग माग गरेको झन्डै तीन घण्टापछि प्रहरीले खोजी सुरु गरेको थियो। शुक्रवार बेलुका ६ बजेदेखि खोजी सुरु गरेको प्रहरीले आइतबार मात्रै सिंहले सहयोग माग गरेको ठाउँ तिलौराकोट सामुदायिक वनमै शव फेला पारेको जनाएको छ।
सिंहको शरीरमा बाहिरी घाउचोट नदेखिएको प्रहरीले जनाएको छ। उत्तानो परेको अवस्थामा भेटिएको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको एसपी मनोहर भट्टले बताए।
पछिल्ला यी दुई घटनाले देशको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्। अस्पतालभित्रै स्वास्थ्यकर्मीमाथि कुटपिट हुनु र जङ्गलमा हराएको जानकारी गराएका पूर्वमेयर मृत अवस्थामा भेटिनुले नागरिकले आफ्नो सुरक्षाबारे चिन्ता गर्नुपर्ने अवस्था देखिएको छ।
कुटपिट, तोडफोड र अन्य भौतिक आक्रमणका घटना बढ्दै जाँदा सुरक्षा चुनौती थप गम्भीर बनेको छ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका गृहमन्त्री सुधन गुरुङले फिल्डमै खटिएर सेवा गर्ने बताउँदै आएका छन्।
कतिपय घटनास्थलमा गृहमन्त्री आफैँ पुगेर अवस्थाको निरीक्षणसमेत गर्दै आएका छन्। तर नागरिकले भने राज्यको सुरक्षा संयन्त्रबाट पर्याप्त सुरक्षाको प्रत्याभूति हुन नसकेको महसुस गरिरहेका छन्।
नागरिकको सुरक्षामा सरकारको ध्यान पर्याप्त नपुगेको र त्यसकै कारण अराजकता मौलाउन सक्ने टिप्पणीसमेत हुन थालेको छ।
जेनजी आन्दोलनपछि समाजमा कतै अराजकता र कतै त्रासको वातावरण देखिएको पूर्वप्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको भनाइ छ।
सुरक्षा चुनौती देखिएका हरेक घटनामा गृहमन्त्री स्वयं घटनास्थल पुग्नु मात्रै पर्याप्त नहुने सुरक्षा विज्ञहरूको तर्क छ। घटनापछि स्थलगत निरीक्षणसँगै सुरक्षा संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्ने र आपराधिक गतिविधिमा संलग्न समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउने जिम्मेवारी राज्य संयन्त्रको हो।
गृहमन्त्री गुरुङ घटनास्थलमा पुगेर अवस्था बुझ्ने गरे पनि त्यसले मात्रै नागरिकमा सुरक्षाको प्रत्याभूति हुन नसक्ने पूर्वप्रहरी महानिरीक्षक सिंह बताउँछन्।
पछिल्ला घटनाक्रमले सुरक्षा चुनौती केवल आपराधिक घटना नियन्त्रणको विषयमा सीमित नरही राज्यको सुरक्षा संयन्त्र कति प्रभावकारी रूपमा परिचालित छ भन्ने प्रश्नसमेत उठाएको छ।
नागरिकको जीउधनको सुरक्षा राज्यको पहिलो दायित्व हो। त्यसैले घटना भएपछि घटनास्थलमा पुग्नेभन्दा पनि सम्भावित जोखिमको पहिचान, सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन र दोषीमाथि तत्काल कानुनी कारबाहीमार्फत नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारका लागि चुनौती बनेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.