पलाँता अस्पताल बन्द, चिकित्सक र नर्स सुर्खेत रिफर

पलाँता अस्पताल बन्द, चिकित्सक र नर्स सुर्खेत रिफर

सर्वपक्षीय छलफल नहुने

97
SHARES
तस्बिर : मानबहादुर/पहिचान डटकम

कालीकोट – पलाँता गाउँपालिका–९ थिर्पूस्थित पलाँता अस्पताल अनिश्चितकालका लागि बन्द भएको छ। अस्पतालमा कार्यरत डाक्टर, स्टाफ नर्स तथा अन्य स्वास्थ्यकर्मी र कर्मचारीमाथि कुटपिट तथा अस्पताल परिसरमा तोडफोड भएपछि स्वास्थ्य सेवा बन्द भएको पलाँता गाउँपालिकाले जनाएको छ।

कुटपिटबाट घाइते अस्पतालमा कार्यरत डा. अलि हैदर राईन र स्टाफ नर्स शान्ता गिरी थप उपचारका लागि सोमबार बिहान सुर्खेत रिफर भएका छन्। उनीहरूलाई सदरमुकाम मान्मबाट बिहान सुर्खेत रिफर गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायले जानकारी दिए।

अध्यक्ष रोकायले अस्पताल बन्द भएको बताए। आक्रमणका बेला अस्पतालमा भर्ना भएका बिरामी नरहेको उनले जानकारी दिए। ‘आक्रमणमा संलग्न पक्राउ परेका छन्। अब कानुनी कारबाहीको प्रक्रियामा गएको छ,’ अध्यक्ष रोकायले पहिचानसँग भने।

उनले घटनाका विषयमा सर्वपक्षीय छलफल नहुने बताए। ‘कुटपिट र आक्रमण भएको छ, यसमा छलफल हुँदैन,’ उनले भने, ‘अब मुचुल्का उठाउने काम हुन्छ।’

गाउँपालिकाको स्वास्थ्य शाखाले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवाजस्तो संवेदनशील र मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा कार्यरत जनशक्तिमाथि आक्रमण हुनु अत्यन्त दुःखद, निन्दनीय तथा अस्वीकार्य कार्य भएको उल्लेख गरेको छ।

साउन २२ गते दिउँसो तथा राति पलाँता अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि हातपात भएको र अस्पताल परिसरमा तोडफोड गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू आफ्नो कर्तव्य निर्वाह गरिरहेको अवस्थामा राति ९ः३० बजे अराजक समूह अस्पताल परिसरभित्र अनधिकृत रूपमा प्रवेश गरी दुर्व्यवहार तथा कुटपिट गरेको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ।

पालिकाका अनुसार अस्पतालमा रहेका भौतिक संरचना तथा औषधि र अन्य उपकरणमा समेत क्षति पुगेको छ। जसबाट सेवाग्राहीले पाउने नियमित स्वास्थ्य सेवामा समेत अवरोध सिर्जना भएको र गैरकानुनी तथा अराजक गतिविधिले समाजमा अशान्ति फैलाउनुका साथै स्वास्थ्य सेवा प्रवाहमा बाधा पुगेको गाउँपालिकाको भनाइ छ।

शुक्रवार दिउँसो अस्पताल परिसरमा दुई बालकले भिडियो गेम खेलेर बिरामीलाई डिस्टर्ब गरेको भन्दै सम्झाउने क्रममा विवाद सुरु भएको थियो। विवाद उग्र बनेपछि चिकित्सकसहित तीन जना कुटिएका थिए। राति सोही समूहले पुनः अस्पतालमा प्रवेश गरी तोडफोड गर्नुका साथै थप तीन जनामाथि आक्रमणसमेत गरेका थिए।

पलाँता अस्पतालका व्यवस्थापक जन्मऋषि न्यौपानेले दिएको जानकारीअनुसार दिउँसो डाक्टरसहितलाई कुटपिट गरिएको थियो भने राति पुनः अस्पतालमा प्रवेश गरेर तीन जनालाई कुटपिट गरिएको थियो।

‘दिउँसो डाक्टरसहितलाई कुटपिट गरे। राति आएर तीन जनालाई कुटे,’ न्यौपानेले भने, ‘दिउँसोको विषयलाई लिएर राति अस्पतालमाथि आक्रमण गरेर तोडफोड भयो।’

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब निरीक्षक (डिएसपी) हिमबहादुर खत्रीका अनुसार घटनामा संलग्न रहेको आरोपमा पलाँता–९ थिर्पूकी ३२ वर्षीया मैना बम, स्थानीय तपेन्द्र बम, मैनाका पति सुशीलकुमार बम र उनका १३ वर्षीय छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गाउँपालिकाले घटनामा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसमक्ष माग गरेको छ। साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अस्पताल तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ।

पलाँता गाउँपालिका स्वास्थ्य शाखा, कालीकोटद्वारा जारी प्रेस विज्ञप्तिमा स्वास्थ्य संस्थालाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ। कालीकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनाले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा समेत सुरक्षा चुनौती देखिएको छ।

समाचार शेयर गर्नुहोस्
97
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.