लैङ्गिक अल्पसंख्यक समुदायको गाईजात्रा २०८३ स्थगित

लैङ्गिक अल्पसंख्यक समुदायको गाईजात्रा २०८३ स्थगित

46
SHARES

काठमाडौँ – राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घ नेपालले पूर्वनिर्धारित गाईजात्रा पर्व २०८३ स्थगित भएको जनाएको छ। रसुवामा अकस्मात् गएको बाढीका कारण राष्ट्रिय सङ्कट निम्तिएको भन्दै महासङ्घले भदौ १३ गते आयोजना हुने भनिएको ‘गाईजात्रा २०८३’ कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जानकारी गराएको हो।

यस कठिन समयमा उत्सवभन्दा मानवीय संवेदना, पीडित परिवारप्रतिको ऐक्यबद्धता र राष्ट्रिय शोकप्रति सम्मान गर्नु हाम्रो साझा जिम्मेवारी हो, महासङ्घले निकालेको विज्ञप्तिमा लेखिएको छ। महासङ्घले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनुहुने प्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइते एवं प्रभावित सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

नयाँ मिति तथा कार्यक्रमसम्बन्धी जानकारी परिस्थितिअनुकूल समयमा सार्वजनिक गरिने मायाको पहिचान नेपालको ब्रेकिङ ब्यारियर्स परियोजनामा कार्यरत बागमती प्रदेश समन्वय अधिकारी बाबु दुमी राईले बताए। उनले यस दुःखको घडीमा हामी सबै एकजुट बनौँ, मानवीय संवेदना र एकताको सम्मान गरौँ भनेका छन्।

रसुवामा अकस्मात् गएको बाढीले ठूलो जनधनको क्षति हुँदा सम्पूर्ण देश शोकमा डुबेको छ। यही शोकको घडीलाई सम्मान गर्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जिएसएम) समुदायले उत्सवका रूपमा मनाउँदै आएको गाईजात्रा कार्यक्रम स्थगित गरिएको हो।

नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जिएसएम) समुदायले ‘जीवनको उत्सव मनाऔँ, विविधतालाई सम्मान गरौँ, विविधतालाई आत्मसात् गरौँ’ भन्ने नाराका साथ गाईजात्रा उत्सव मनाउने तयारी गरेका थिए।

जिएसएम समुदायले पहिलो संविधान सभाका सदस्य सुनिल बाबु पन्तको नेतृत्वमा गाईजात्रालाई आफ्नो पहिचान, अधिकार, विविधता र अस्तित्वलाई सार्वजनिक रूपमा अभिव्यक्त गर्ने महत्त्वपूर्ण अवसरका रूपमा मनाउँदै आएको छ।

परम्परागत रूपमा गाईजात्रा मृतक आफन्तको सम्झनामा मनाइने पर्व भए पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि यो आफ्नो पहिचान र विविधतालाई उत्सवका रूपमा प्रस्तुत गर्ने, समाजमा रहेका विभेद र असमानताविरुद्ध आवाज उठाउने तथा समुदायबीच एकता र आत्मीयता अभिव्यक्त गर्ने महत्त्वपूर्ण अवसरका रूपमा स्थापित हुँदै आएको छ।

गाईजात्राका अवसरमा जिएसएम समुदायले विभिन्न सांस्कृतिक कार्यक्रम, र्‍याली तथा सिर्जनात्मक प्रस्तुतिमार्फत आफ्नो अस्तित्व, पहिचान र अधिकारका विषय सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। यस अवसरलाई समुदायले जीवन, विविधता, समानता, आत्मसम्मान र सामाजिक स्वीकृतिको उत्सवका रूपमा समेत लिँदै आएको छ।

तर, यस वर्ष रसुवामा अकस्मात् आएको बाढीबाट ठूलो जनधनको क्षति भई मुलुक शोकमा रहेका कारण पूर्वनिर्धारित गाईजात्रा २०८३ तत्कालका लागि स्थगित गरिएको महासङ्घले जनाएको छ। राष्ट्रिय सङ्कट र शोकको अवस्थालाई मध्यनजर गर्दै उत्सवभन्दा मानवीय संवेदना, पीडित परिवारप्रतिको ऐक्यबद्धता र राष्ट्रिय शोकप्रति सम्मानलाई प्राथमिकता दिइएको महासङ्घको भनाइ छ।

समाचार शेयर गर्नुहोस्
46
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.