कालीकोट – नेपालमै पहिलोपटक राष्ट्रियस्तरको पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। कालीकाेटकाे नरहरिनाथ गाउँपालिका-९ लालुमा आगामी कात्तिक ३ गते उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो।
कालीकोट जिल्ला पुल–अप होल्ड च्यालेन्ज समितिको आयोजनामा हुने प्रतियोगितामा देशका विभिन्न जिल्ला तथा क्षेत्रबाट खेलाडी सहभागी हुने समितिका संयोजक धीरबहादुर विष्टले जानकारी दिए।
प्रतियोगितामा ३० वर्षमुनिका महिला र पुरुष तथा ३० वर्षमाथिका महिला र पुरुष गरी चार विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। विजेताले नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। पुरस्कार राशि भने प्रतियोगिताको थप विवरणसँगै सार्वजनिक गरिने आयोजकको भनाइ छ।
स्ट्रेन्थ लिफ्टिङ (पावर सो) का अन्तर्राष्ट्रिय खेलाडी बिन्दमान लामिछानेले नेपालमा पहिलोपटक पुल–अप होल्ड च्यालेन्ज आयोजना गर्न लागिएको बताए। नेपालमा यस खेलको आधार तयार गर्दै यसको विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ।
“नेपालमा पहिलोपटक पुल–अप होल्ड च्यालेन्ज आयोजना गर्दैछौँ। यसलाई व्यवस्थित रूपमा अघि बढाउँदै नेपालमा यस खेलको आधार तयार गर्ने हाम्रो उद्देश्य हो,” लामिछानेले भने।
आयोजकले प्रतियोगितामार्फत खेलाडीको शक्ति, धैर्य र सहनशक्तिलाई राष्ट्रियस्तरको प्रतिस्पर्धामा प्रस्तुत गर्ने अवसर मिल्ने अपेक्षा गरेको छ। साथै, कालीकोटमा राष्ट्रियस्तरका खेल गतिविधि बढाउन र नयाँ खेलाडीलाई अवसर प्रदान गर्न प्रतियोगिताले सहयोग पुग्ने आयोजकको विश्वास छ।
समितिले देशभरका पुल–अप खेलाडीलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ। ‘आफ्नो सीमा जितौँ, इतिहास रचौँ’ भन्ने नारासहित आयोजना गर्न लागिएको प्रतियोगितामा उल्लेख्य खेलाडी सहभागी गराउने लक्ष्य आयोजकले राखेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.