झापा – लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकारबारे बोल्दा आफूलाई आक्षेप लाग्ने गरेको राजनीति नेतृ भूमिका कोइरालाले बताएकी छन्। आक्षेपहरू आउँदा पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकारका विषयमा बोल्न नछोडेको उनले तितो अनुभव सेयर गरेकी छन्।
कोशी प्रदेशको झापा जिल्लाकी भूमिकाले आफू अविवाहित रहेको खुलाएकी छन्। विवाह नगरेको र तेस्रोलिंगीहरुको कार्यक्रममा सहभागी भइरहँदा तथा उनीहरूको कार्यक्रममा बोल्दा ‘यो पनि त्यही समुदायकी हो कि’ भन्नेहरू रहेको उनले बताइन्।
‘विवाह गरेको छैन। तेस्रोलिंगीहरुको कार्यक्रममा सहभागी भइरहँदा, उहाँहरूको कार्यक्रममा बोल्दा यो पनि त्यही समुदायकी हो कि भन्नेहरू छन्,’ उनले भनिन्, ‘आक्षेपहरू आइरहन्छ।’
उनले राजनीतिमा लागिसकेपछि आक्षेपहरू आए पनि डटेर लड्नुपर्ने बताइन्। आफ्नो समुदाय वा महिलाको विषय मात्रै नभएर सबैको हक–अधिकार र उत्थानका लागि काम गर्नुपर्ने उनको भनाइ छ। ‘राजनीतिमा लागिसकेपछि डटेर लड्नुपर्छ। कम्तीमा हाम्रो विषय मात्रै हैन, महिलाको विषय मात्रै हैन, हामीले सबैको विषय उत्थान गर्नुपर्छ,’ उनले भनिन्।
उनका अनुसार नुमा लिम्बु चञ्चलाले तेस्रोलिंगी समुदायका लागि आवासको आवश्यकता रहेको प्रस्ताव राखेकी थिइन्। चञ्चलाको प्रस्तावलाई आफूले प्रदेश मन्त्रालयसम्म पुर्याएर कुराकानी गरेको र आफ्नो पहलमा प्रदेश सरकारले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि बजेट विनियोजन गरेको उनले बताइन्।
‘चञ्चलाले एउटा आवासको पनि आवश्यकता परेको छ भन्नुभयो। चञ्चलाको प्रस्ताव मैले प्रदेश मन्त्रालयमा पुर्याएँ। कुराकानी गरेँ,’ उनले भनिन्।
नगरपालिकामा आवास निर्माणका लागि आफू र चञ्चलाले कुरा राखेको पनि उनले बताइन्। नगरपालिकाले ‘पहिला पैसा ल्याउनुहोस्, जग्गा त दिइहाल्छौँ नि’ भन्ने जवाफ दिएको उनले सुनाइन्।
‘नगरपालिकामा आवास निर्माणका लागि कुरा राख्यौँ। नगरपालिकाले पहिला पैसा ल्याउनुहोस्, जग्गा त दिइहाल्छौँ नि भन्ने जवाफ दिए। हामीले क्रमागत रूपमा २५ लाख पैसा प्रदेशबाट ल्याउन सफल भयौँ। सहरीबाट जग्गा थुप्रै ठाउँमा देखाइयो,’ उनले भनिन्।
तर आवास निर्माणका लागि जग्गा खोज्ने क्रममा स्थानीयको विरोध आएको उनले बताइन्। सात नम्बर वडामा घर किन्ने विषयमा सबै कुरा लगभग मिलिसकेपछि स्थानीयले तेस्रोलिंगीका लागि आवास बनाउने विषयमा विरोध गरेको उनको भनाइ छ।
‘सात नम्बर वडामा घर किन्ने विषयमा सबैको लगभग सहमति भैसकेपछि त्यहाँका स्थानीयले, ए, तेस्रोलिंगीहरुको यो हुँदैन, हुँदैन भने,’ उनले भनिन्।
उपमेयरले थुप्रै पहल गरे पनि कर्मचारी र स्थानीयको कारण आवासका लागि छुट्टाइएको रकम खर्च हुन नसकी फ्रिज भएर गएको उनले सुनाइन्। ‘उपमेयरले थुप्रै पहल गर्नुभयो। तर कर्मचारी र स्थानीयले गर्दा त्यो पैसा फ्रिज भएर गयो,’ उनले भनिन्।
उनले तेस्रोलिंगी समुदायका विषयमा अझै पनि समाजको बुझाइ अलग रहेको बताइन्। उनीहरू पनि आफूहरूजस्तै मान्छे भएको बुझाइ समाजको तल्लो तहसम्म पुर्याउनुपर्ने उनको भनाइ छ।
‘अहिले पनि बुझाइमा अलग छ। कम्तीमा तलसम्म यो विषय पुग्नुपर्छ। उहाँहरू हामीजस्तै मान्छे हो नि, त्यस्तो होइन, हामीले अलग गर्नु हुँदैन भन्ने चेतना तलसम्म लिएर जानुपर्छ,’ उनले भनिन्।
उनका अनुसार तेस्रोलिंगी समुदायले कुनै कार्यक्रम आयोजना गर्दा सहभागी बोलाउन समस्या हुने गरेको छ। आयोजकले बोलाउँदा कार्यक्रमप्रति फरक व्यवहार हुने भएकाले आफूलाई मान्छे बोलाइदिन आग्रह गर्ने गरेको उनले बताइन्।
‘उहाँहरूले कुनै कार्यक्रम गर्नुपर्यो भने तपाईँले मान्छे बोलाइदिनु न भन्नुहुन्छ। किनभने उहाँहरूले बोलाउँदा, ए, तपाईँहरूको कार्यक्रम अ भन्ने खालको हुन्छ। मैले बोलाउँदा उहाँहरू त, ए, यो म भ्याउँदिन, आउँदिन भन्ने खालको अहिले पनि छ,’ उनले भनिन्।
समाजको तल्लो तहसम्म पुर्याउन सके मात्रै तेस्रोलिंगी समुदायप्रतिको दृष्टिकोणमा परिवर्तन आउने उनले बताइन्। ‘त्यो भैसकेपछि अझै यसलाई अब तलसम्म पुर्याइयो भने मात्रै, केही होइन रहेछ भन्ने कुराकानी आउँछ,’ उनले भनिन्।
जनप्रतिनिधिमा थोरै मतान्तरले पराजित रुद्रलाई देखाउँदै उनले भनिन्‘कम्तीमा वडा अध्यक्ष उहाँले जित्नुभएको भए पनि हामीले अलिकति राहत पाउँछौँ कि भन्ने अहिले देखेर महसुस भइराखेको छ।’
उनले महिला भएर सामाजिक विभेद खेप्नुपरेको अनुभव सुनाउँदै तेस्रोलिंगी समुदायले झनै धेरै विभेद खेप्नुपरेको हुनसक्ने बताइन्। ‘महिला भइराख्दा विभेद खेप्या छौँ भने झन् अझै उहाँहरूले त कति खेप्नु भा छ होला? उहाँहरूलाई भेट्न जाँदा हामीले खेप्नुपर्ने,’ उनले भनिन्।
चञ्चलालाई आफ्नै पार्टीमा प्रवेश गराएको प्रसङ्ग उल्लेख गर्दै उनले पार्टीभित्रबाट समेत प्रश्न उठ्ने गरेको बताइन्। उनले यस्तो व्यवहार बुझाइमा रहेको कमीका कारण भएको बताइन्।
नयाँ–नयाँ साथीहरूलाई सहभागी गराउँदै नयाँ एजेन्डासँग जोडेर लैजान सके तेस्रोलिंगी समुदायप्रतिको दृष्टिकोण सामान्य बन्दै जाने उनको भनाइ छ। ‘यो बुझाइमा कमी भएर हो। नयाँ–नयाँ साथीहरूलाई कम्तीमा नयाँ–नयाँ सेक्सनहरू, एजेण्डाहरुसहित यो नर्मल रहेछ भन्ने तिर जान्छ,’ उनले भनिन्।
तेस्रोलिंगी समुदायका विषयमा विद्यालय स्तरबाटै कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिइन्। विद्यार्थीहरूले विषय बुझेपछि अभिभावकलाई बुझाउन सक्ने र त्यसबाट आगामी दिनमा सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याउन सकिने उनको भनाइ छ।
‘अझै यो कार्यक्रम स्कुलतिर पनि लग्यो भने अझै सहज हुन्छ। कम्तीमा त्यहाँका विद्यार्थीहरूले बुझ्यो भने विद्यार्थीहरूले आफ्नो अभिभावकलाई बुझाउँछन्। भोलिका दिनमा परिवर्तन ल्याउन सकिन्छ र हेर्ने दृष्टिकोण अलग हुन्छ,’ उनले भनिन्।
उनले सार्वजनिक स्थानमा तेस्रोलिंगी समुदायका केही व्यक्तिको उपस्थितिलाई लिएर बन्ने सामाजिक धारणाले समेत समुदायमाथि असर पारिरहेको बताइन्। ‘जस्तै बेलुका त्यहाँ सडकमा बस्ने दुई–चार जना अलि त्यस्ता भइसकेपछि, हुन त महिला साथीहरू पनि हुनुहुन्छ, तर नाम कसको आउँछ भने अरू साथीहरूको आउँदैन, नाम चाहिँ उहाँहरूकै आउँछ,’ उनले भनिन्।
यसले तेस्रोलिंगी समुदायप्रति गलत बुझाइ र विकृति सिर्जना गरेको उनको भनाइ छ। ‘त्यसले पनि अलिकति विकृति चाहिँ ल्याएको छ। सडकमा बस्ने भन्ने आएको छ। अब अरू पनि छन्। तर नाम चाहिँ कसको भने उहाँहरूकै आउँछ। त्यसलाई पनि हामीले सहज बनाएर लिएर जानुपर्छ भन्ने नै लाग्छ,’ उनले भनिन्।
राजनीतिक नेतृ कोइरालाले युरोपियन युनियनको आर्थिक सहयोग तथा एक्सन एडको समन्वयमा मायाको पहिचान नेपाल, लिड नेपाल र समावेशी मञ्च नेपालको संयुक्त आयोजनामा झापाको दमकमा आयोजित कार्यक्रममा आफ्नो अनुभव सेयर गरेकी हुन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.