"/>
झापा – धेरै कार्यक्रमबारे जानकारी लिने अवसर पाए पनि ज्ञानवर्धक कार्यक्रममा सहभागी हुने अवसर पाएकी थिइनन्। लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जिएसएम) समुदायका बारेमा पनि बुझाइ सीमित थियो। तर, दुई दिने प्रशिक्षणमा सहभागी भएपछि आफूले लामो समयदेखि सुन्दै आएको तेस्रोलिंगी समुदायसम्बन्धी बुझाइ गलत रहेको प्रस्ट भए।
‘तेस्रोलिंगी भनेर जुन तरिकाले थाहा पाएको थिएँ, हिजो सुनेको त दन्त्यकथाजस्तै भयो,’ उनले भनिन्, ‘तेस्रोलिंगी भनेपछि सन्तान हुँदैन भन्ने सुनेको थिएँ। उहाँहरूलाई अर्कै लेबलको मान्छे भनेर बुझेको थिएँ। दुई दिनको प्रशिक्षणमा सहभागी भएपछि पहिला सुनेको कुरा गलत रहेछ भन्ने प्रस्ट भयो।’
उनका अनुसार तेस्रोलिंगी समुदाय पनि आफूहरूजस्तै मानिस हुन्। उनीहरूको स्वभावमा मात्र केही फरक रहेको आफूले बुझेको उनले बताइन्।
‘उहाँहरू पनि हामीजस्तै मान्छे हुनुहुँदो रहेछ। स्वभावमा मात्र अलिकति फरक रहेछ। मैले त्यति थाहा पाएँ। त्यति थाहा पाएर मलाई त खुसी लाग्यो। उहाँहरूले भोग्नुभएको पीडा सुनेर दुःख लाग्यो,’ उनले भनिन्, ‘कार्यक्रममा सहभागी गराउनुभएकोमा धन्यवाद।’
लिड नेपालले आयोजना गरेको दुई दिने कार्यशालामा सहभागी हुँदा आफूले फरक अनुभूति गरेको अर्की सहभागीले बताइन्। तेस्रोलिंगी समुदाय नेपाली समाजमा पिछडिएको र अपहेलित समुदाय हो भन्ने सुन्दै आए पनि कार्यक्रममार्फत उनीहरू पनि आफूहरू जत्तिकै नेपाली नागरिक भएको बुझ्न पाएको उनको भनाइ छ।
‘लिड नेपालले आयोजना गरेको दुई दिने कार्यशालामा रहिरहँदा आफूलाई फरक महसुस गरेको छु। तेस्रोलिंगी नेपाली समाजमा पिछडा वर्ग, अपहेलित समुदाय हो भन्ने सुनेका थियौँ। यो कार्यक्रमले उहाँहरू पनि हामी जत्तिकै हो, हामी नेपालकै नागरिक हौँ भन्ने बुझायो,’ उनले भनिन्।
समाजदेखि राष्ट्रसम्म जिएसएम समुदायका हक–अधिकार पनि आफूहरू जत्तिकै रहेको जानकारी पाएको उनले बताइन्। संविधानमा सुनिश्चित गरिएका हक–अधिकार स्थानीय सरकार र वडा कार्यालयले कार्यान्वयन गर्दै आवश्यक सुविधा प्रदान गर्नुपर्ने उनको भनाइ छ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा एक्सन एडको समन्वयमा मायाको पहिचान नेपाल, लिड नेपाल र समावेशी मञ्चले राजनीतिक अधिकार, चुनौती तथा सामाजिक समावेशीकरणका विषयमा कार्यक्रम सञ्चालन गर्दै आएका छन्। संयुक्त रूपमा सातै प्रदेशमा कार्यक्रम सञ्चालन भइरहेको उनीहरूले जानकारी दिएका छन्।
देशव्यापी रूपमा सञ्जाल विस्तार गर्दै लगेका तीनवटै संस्थाले ब्लु डायमन्ड सोसाइटीका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक सुनिल बाबु पन्तलाई अगाडि सारेका छन्। एसियाकै पहिलो समलिङ्गी सभासद् बनेका पन्तलाई दर्ता प्रक्रियामा रहेको राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घ नेपालले समेत साथमा राखेको छ। महासङ्घमा १५ वटा संस्था आबद्ध रहेको उनीहरूले जानकारी दिए।
उनीहरूका अनुसार जिएसएम समुदायको राजनीतिक अधिकारका लागि दल खोल्नेदेखि चुनावमा उम्मेदवार बन्नेसम्मका गतिविधिमा पन्तले सल्लाह दिँदै आएका छन्। लैङ्गिक पहिचानमा पन्तले नै स्थापना गरेको संस्था ब्लु डायमन्ड सोसाइटी कब्जा गरेको समूहबाट समाजलाई दिग्भ्रमित गराउने गतिविधि हुन नदिन जिएसएम समुदाय सचेत देखिएका छन्।
तेस्रोलिंगी पहिचानमा गौरव
आफ्नो तेस्रोलिंगी पहिचानमा गौरव व्यक्त गर्ने क्रम बढेको छ। समलिङ्गी र अन्तरलिंगीहरू पनि संवैधानिक अधिकार कार्यान्वयनका लागि एकजुट भएर लागेका छन्। पहिचान पाउन थालेको जिएसएम समुदाय आफ्नो पहिचान निर्धक्कसँग राख्न थालेको छ।
उनीहरू आफ्नो पहिचान लुकाएर बस्ने अवस्थामा मात्र छैनन्। ‘बिरालाले के लुकाएजस्तो’ गरेर बस्नुपर्ने अवस्था नरहेको उनीहरू बताउँछन्। दिउँसो केटा र राति केटी बनेर सडकमा उभिनुपरेको वास्तविकता सुनाउन पनि उनीहरू हिचकिचाउँदैनन्।
एक समय यौन सम्पर्कका लागि केटा पार्टनर खोज्दै राति सडकमा उभिनुपरेको वास्तविकता एक जना तेस्रोलिंगीले कार्यक्रममा सुनाए। व्यक्तिको पहिचान हुँदाहुँदै पनि लुकेर बसेकाहरू राति सडकमा आउने गरेको उनले बताए।
उनको अनुभव सुनेर कार्यक्रममा सहभागीहरू छक्क परे। राति सडकमा उभिनुपर्ने कारण खुलाउँदै उनले अहिले भने ब्युटीपार्लर सञ्चालन गरिरहेको जानकारी दिए।
कार्यक्रममा अर्का एक जना समलिङ्गीले आफूलाई बुझ्ने आमाको निधनपछि भोग्नुपरेको दर्दनाक वास्तविकता सुनाए। ‘पुरुष भएर जन्मिएँ। हुर्कँदै जाँदा डिफरेन्ट छु भन्ने थाहा भयो। सानो छँदा ममीको सल लगाएर नाच्ने, मेकअप गर्ने, मेहन्दी लगाउने रुचि थियो। सानैदेखि त्यस्तो हाउभाउ थियो,’ उनले आफ्नो अनुभव सुनाउँदै भने।
हिँड्दा महिलाको जस्तो लचक आउने गरेको भन्दै कतिपयले आफूलाई टिप्पणी गर्ने गरेको उनले बताए। ‘हिँड्दा महिलाको जस्तै लचक आउँथ्यो। कतिपयले तिम्रो त हाम्रोभन्दा लचक छ भन्थे। त्यो लचक कहाँबाट आउँछ भनेर कतिले कमेन्ट गर्थे। म सोच्थेँ, म छोरी मान्छे त होइन, छोरा मान्छे नै हो। तर किन छोरी मान्छेको जस्तो लचक आउँछ, बोल्दा किन महिलाको पक्षमा बोल्छु?’ उनले भने।
आफू अरूभन्दा फरक छु भन्ने थाहा भए पनि आफू एलजीबीटीआईक्यू समुदायभित्र पर्छु भन्ने जानकारी भने त्यतिबेला नभएको उनले बताए। अहिले जस्तो सामाजिक सञ्जालको पहुँच नभएको र पाठ्यक्रममा समेत यस्ता विषय समावेश नगरिएको उनको भनाइ छ।
‘फरक छु भन्ने त थाहा थियो, तर एलजीबीटीआईक्यूभित्रै पर्छु भन्ने थाहा भएन। अहिले जस्तो सोसल प्लेटफर्म पनि थिएन। पाठ्यक्रममा पनि समावेश गरिएको थिएन,’ उनले भने।
विद्यार्थीले लैङ्गिक तथा यौनिक विविधताका विषयमा प्रश्न गर्दा शिक्षकहरू नै अनकनाउने अवस्था रहेको उनले स्मरण गरे। त्यतिबेला आफू केटी साथीहरूसँग बढी घुलमिल हुने गरेको उनले बताए।
कक्षा ८ को बोर्ड परीक्षा सकेपछि एक जना दिदीसँग घुम्न जाँदा आफूलाई गरिएको टिप्पणीले आफूभित्रको पहिचानबारे भने तत्काल बुझ्न नसकेको उनको भनाइ छ। ‘कक्षा ८ को बोर्ड परीक्षा सकेपछि एक जना दिदीसँग घुम्न जाँदा किन ऊसँग गएको? ऊसँग हिँड्दा तिमीलाई पनि छक्का भन्छन् भन्नुभयो। त्यतिबेला पनि थाहा भएन म यो कम्युनिटीबाट बिलङ गर्छु भनेर,’ उनले भने।
एसएलसी दिने बेलामा समेत आफूलाई केटीजस्तो देखिएको भन्दै साथीहरूले टिप्पणी गर्ने गरेको उनले बताए। तर, त्यसबेला आफूले त्यसलाई गम्भीर रूपमा नलिएको र पढाइमै केन्द्रित रहेको उनको भनाइ छ।
‘एसएलसी दिने बेलामा पनि उ त कस्तो केटीजस्तो छ, हामीजस्तो छैन, कि छक्का हो भनेर कमेन्ट गरे। त्यतिबेला पनि माइन्ड गरेको थिइनँ। पढाइमा नै फोकस थिएँ त्यतिबेला,’ उनले भने।
कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाएपछि भने इन्टरनेट र सामाजिक सञ्जालका माध्यमबाट आफूजस्तै व्यक्तिहरूबारे बुझ्ने अवसर पाएको उनले बताए। त्यतिबेला ‘मिग’ नामको एप चल्ने र त्यसमा च्याट रुम हुने गरेको उनले बताए।
‘११ र १२ कक्षामा फुल स्कलरसिप छात्रवृत्ति पाएँ। त्यतिबेला मिग भन्ने एप चल्थ्यो। मिगमा च्याट रुम हुन्थ्यो। गे च्याट रुम हुन्थ्यो। त्यहाँ गएर अलि बुझ्ने भएँ। के लाग्थ्यो भने हामी मात्रै हो यस्तो मान्छेहरू,’ उनले आफ्नो अनुभव सुनाए।
“पुरुष भएर पुरुषलाई मात्रै मन पराउने मान्छे हुँ। सुरुमा आफूलाई किन यस्तो हुन्छ भन्ने बुझ्न सकेको थिइनँ। गे च्याटरुममा साथीहरू भेटेपछि बिस्तारै आफू समलिङ्गी पुरुष भएको बुझेँ।”
उनले आफ्नो यौनिक पहिचान बुझ्दासम्म समाजले समलिङ्गी व्यक्तिलाई हेर्ने दृष्टिकोण र परिवारको डरले धेरै कुरा मनभित्रै लुकाउनुपरेको बताए। आफ्नो पहिचानकै कारण उनले रोजगारीदेखि पारिवारिक जीवनसम्म विभिन्न समस्या भोग्नुपरेको अनुभव सुनाए।
“मैले पहिले नै भोगिसकेको थिएँ। आइडेन्टिटी खोलेर हिँड्दा कसैले काम दिएन,” उनले भने, “त्यसपछि मैले हिँडाइ, बोलाइ परिवर्तन गरेँ। हात्तीका देखाउने दुईवटा दाँत भनेजस्तै गरेँ।”
उनले स्नातक तहको अध्ययन पूरा गरेका थिए। पढाइ सकेपछि परिवारलाई सहयोग गर्न रोजगारी गर्नुपर्ने अवस्था आयो। तर, उनको हिँडाइ र बोलाइमा केही फरक देखिएको भन्दै काम गर्ने ठाउँमै अपमानित हुनुपरेको उनले बताए।
“मेरो हिँडाइ, बोलाइ अलिकति फरक थियो। काम गरेको धेरै ठाउँमा ‘छक्का’, ‘हिजडा’ जस्ता शब्द प्रयोग गरेर कामबाटै निकालियो,” उनले भने।
आफूमाथि भइरहेको विभेदबारे उनले आमालाई भनेका थिए। उनकी आमा विराटनगरमा बस्नुहुन्थ्यो र छोराको यौनिक पहिचानबारे जानकार पनि हुनुहुन्थ्यो। तर, आमाको अचानक निधन भएपछि उनको जीवनमा सबैभन्दा ठूलो सहारा गुम्यो।
“ममी बिरामी हुनुभयो। बिरामी भएको १५ दिनमै निधन भयो। मलाई बुझ्ने मान्छे एक जना ममी मात्र हुनुहुन्थ्यो,” उनले भने, “बाबा कडा हुनुहुन्छ। बाबाको छेउमा गएर म यस्तो मान्छे हुँ भनेर भन्न सक्दिनँ।”
आमासँग खुलेर आफ्ना दुःख, पीडा र पहिचानका कुरा गर्न सक्ने भए पनि आमाको निधनपछि उनी एक्लिए। आफूभित्र लुकाएर राखेको पीडा बिस्तारै डिप्रेसनतर्फ गएको उनले बताए।
“भित्रभित्र लुकाएको पीडा डिप्रेसनमा गयो। कसलाई सुनाउनु, कसलाई सुनाउनु?” उनले भने।
डिप्रेसनको अवस्थामै गलत सङ्गतमा पुगेको उनको भनाइ छ। त्यतिबेला सही र गलत छुट्याउनसमेत कठिन भएको उनले बताए।
त्यतिबेला उनी विराटनगरमा बस्थे। भारतको जोगबनी नाका नजिकै भएकाले लागुऔषधको पहुँचसमेत सहज थियो। गलत सङ्गतका कारण उनले लागुऔषध प्रयोग गर्न थाले। परिवारबाट पकेट खर्च माग्दा पैसा पाउने भएकाले त्यसैबाट ठूलो रकम खर्च हुन थालेको उनले बताए।
“एकै दिनमा १० हजार, १५ हजारसम्म सकेँ। बाबा सरकारी जागिरे हुनुहुन्थ्यो। पैसा आइहाल्थ्यो,” उनले भने।
उनका अनुसार एकपटक कार्यालयबाट उनका बाबालाई छोराको खर्च अस्वाभाविक रूपमा बढिरहेको जानकारीसहितको विवरण पठाइयो। त्यसबेला उनले महिनामा करिब साढे दुई लाख रुपैयाँसम्म खर्च गरेको आफूलाई पछि थाहा भएको बताए।
छोराले यति ठूलो रकम कहाँ खर्च गरिरहेको छ भन्ने चासो बाबालाई भयो। उनका अनुसार लागुऔषध प्रयोग गर्न थालेपछि उनको तौलसमेत ११० किलोबाट घटेर ६० किलोमा पुगेको थियो।
“पहिला यस्तो हेल्दी भएको बच्चा किन यस्तो भयो भनेर बाबाले सोध्न थाल्नुभयो। पैसा कहाँ जाँदैछ? केमा खर्च भइरहेको छ? केही किनेको पनि छैन, केही गरेको पनि छैन, ल्यापटप पनि लिएको छैन,” उनले भने।
छोराको गतिविधिबारे बुझ्न बाबाले उनको निगरानीसमेत गर्न थाले। आफू कहाँ जाने, कोसँग भेट्ने र के गर्ने भन्ने जानकारी बाबासम्म पुग्ने गरेको उनले बताए।
“घरमा पुग्दा बाबाले तिमी यो मान्छेसँग यो ठाउँमा थियौ, यो ठाउँमा गएका थियौ भन्न थाल्नुभयो। पैसा कहाँ खर्च हुँदैछ, झुट नबोली भन भन्नुभयो,” उनले सुनाए।
त्यसपछि उनले आफू समलिङ्गी पुरुष भएको कुरा बाबालाई बताए।
“मैले बाबालाई भनेँ- म यस्तो मान्छे हुँ। स्कुलदेखि नै समाजका मान्छेबाट साथ पाइनँ। ममीको निधनपछि आफ्नो दुःख, पीडा पोख्न पनि पाएको थिइनँ। त्यसले गर्दा त्यस्तो सङ्गतमा पुगेँ,” उनले भने।
तर, उनले सोचेभन्दा फरक प्रतिक्रिया बाबाबाट पाए।
“तिमीले समाजको डर मान्नु पर्दैन, तिम्रो लागि म खडा छु भन्नुभयो बाबाले,” उनले भने।
बाबाले उनलाई पुनःस्थापना केन्द्रमा राखिदिए। तीन महिनासम्म त्यहाँ बसेपछि उनको अवस्थामा सुधार आएको उनले बताए। सुधार देखिएपछि बाबाले तीन महिनामै उनलाई पुनःस्थापना केन्द्रबाट निकालिदिए।
त्यसपछि उनले मोडलिङ र फोटोग्राफी सिके। केही समय त्यही क्षेत्रमा काम गरे। पछि विराटनगरमै पसल सञ्चालन गरे। तर, सहकारी भागेपछि पसलमा लगानी गरेको पैसा डुब्यो। त्यसपछि उनले मिटरब्याजमा समेत पैसा लिएर व्यवसाय चलाउने प्रयास गरे। व्यापार नहुँदा ऋण तिर्न सकेनन्।
आर्थिक र मानसिक तनाव बढ्दै गएपछि आफूले दुई पटक आत्महत्या प्रयाससमेत गरेको उनले बताए।
“बहिनीले बाबालाई भन्नु भनेर सुझाव दिइन्। त्यसपछि बाबालाई पैसा तिर्नुपर्ने कुरा गरेँ। बाबाले त्यो पैसा तिरिदिनुभयो,” उनले भने।
तर, रोजगारी र समाजमा स्वीकार्य हुने सङ्घर्ष भने रोकिएन। आफ्नो पहिचान खुलाएर हिँड्दा काम नपाएको अनुभव उनले सुनाए।
“मैले पहिले नै भोगिसकेको थिएँ। आइडेन्टिटी खोलेर हिँड्दा कसैले काम दिएन,” उनले भने, “त्यसपछि मैले हिँडाइ, बोलाइ परिवर्तन गरेँ। हात्तीका देखाउने दुईवटा दाँत भनेजस्तै गरेँ।”
उनले केही समय शिक्षण पेसासमेत गरे। तर, त्यो काम पनि धेरै समय टिकेन। त्यसपछि उनले आफ्नो पहिचानअनुसारको काम खोज्न थाले।
उनका अनुसार समाजले पुरुष र महिलालाई निश्चित ढाँचामा हेर्ने भएकाले समलिङ्गी पुरुषलाई आफ्नो पहिचानअनुसार बाँच्न अझै कठिन छ।
“मलाई गे भनेर चिन्दैनन्। केटा नै देख्छन्। किनकि समाजले त्यही चाहेको छ,” उनले भने।
लामो समय एउटै पेसामा टिकिरहन मन नलागेपछि उनी नयाँ अवसरको खोजीमा थिए। त्यही क्रममा एक जना साथीले उनलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकारका क्षेत्रमा काम गर्दै आएको लिड नेपालमा जागिरका लागि आवेदन दिन सुझाए।
उनले आवेदन दिए र लिड नेपालमा पुगेपछि आफ्नो जीवनमा अर्को महत्त्वपूर्ण परिवर्तन आएको बताए।
त्यहाँ पुगेपछि उनले समलिङ्गी पुरुष मात्रै होइन, तेस्रोलिंगी, अन्तरलिंगी र लेस्बियन समुदायका व्यक्तिहरूसँग पनि भेट्ने अवसर पाए।
“केटा भएर केटी भनेर हिँड्नेहरू पनि भेटेँ, तेस्रोलिंगीहरू भेटेँ। अन्तरलिंगी र लेस्बियन पनि भेटेँ। म जस्तो गेहरू पनि साथी पाएँ,” उनले भने।
समुदायका अन्य व्यक्तिहरूका अनुभव सुनेपछि आफूले भोगेको पीडा मात्र सबैभन्दा ठूलो रहेनछ भन्ने महसुस भएको उनले बताए। विशेषगरी तेस्रोलिंगी समुदायले भोग्दै आएको सामाजिक अपमान, विभेद र बहिष्करण अझ गहिरो रहेको उनले नजिकबाट बुझ्न पाए।
“मैले त केही होइन, तेस्रोलिंगीहरूले अझ धेरै पीडा भोगेका रहेछन् भन्ने थाहा पाएँ,” उनले भने।
लिड नेपालले आफूलाई कामको अवसर दिएको उनले बताए। कामसँगै आफ्नो समुदायको अधिकार, सम्मान र समावेशिताका लागि काम गर्ने अवसरसमेत पाएको उनको भनाइ छ।
अहिले उनी राजनीतिमा समेत समावेश हुने तयारीमा छन्। आफ्नो समुदायका लागि नीति निर्माण र राजनीतिक क्षेत्रमा पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यले आफू अघि बढिरहेको उनले बताए।
“राजनीतिमा केही गर्छु भनेर हिँडिरहेको छु। आफ्नो समुदायका लागि केही गर्न सकिन्छ भनेर काम गरिरहेको छु,” उनले भने।
उनको अनुभवले समलिङ्गी तथा तेस्रोलिंगी व्यक्तिले आफ्नो पहिचानका कारण भोग्नुपर्ने पीडा केवल व्यक्तिगत तहमा सीमित नभई परिवार, रोजगारी, शिक्षा, मानसिक स्वास्थ्य, आर्थिक अवस्था र सामाजिक स्वीकार्यतासँग जोडिएको देखाउँछ।
पहिचान लुकाउनुपर्ने बाध्यता, अपमानजनक शब्दको प्रयोग, रोजगारीबाट निकालिनुपर्ने अवस्था र परिवारसँग खुलेर कुरा गर्न नसक्ने परिस्थिति जस्ता कारणले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका धेरै व्यक्ति मानसिक तनाव र सामाजिक बहिष्करणको जोखिममा पर्ने गरेका छन्।
उनको जीवनयात्रामा भने परिवारबाट अन्ततः पाएको साथ र समुदायसँग जोडिएपछि आएको आत्मस्वीकृतिले नयाँ बाटो खोलिदिएको छ। व्यक्तिगत पीडाबाट गुज्रिएका उनी अहिले त्यही समुदायका अधिकार र राजनीतिक सहभागिताका लागि काम गर्ने उद्देश्यका साथ अघि बढिरहेका छन्।
समलिङ्गी, तेस्रोलिंगी र अन्तरलिंगीसहित लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले आफ्नो पहिचान लुकाउनुपर्ने बाध्यताबाट बाहिर निस्कँदै अधिकार र सम्मानका लागि सङ्गठित रूपमा आवाज उठाउन थालेका छन्। उनीहरूको मुख्य माग भनेको संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमै कार्यान्वयन हुनु, स्थानीय तहदेखि राज्यका सबै संरचनामा समान पहुँच सुनिश्चित हुनु र समाजमा रहेको गलत बुझाइ तथा विभेद अन्त्य हुनु हो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.