कांग्रेस महाधिवेशनको भव्य उद्घाटन, देउवाको कुर्सी खाली, गगनको तारिफ

कांग्रेस महाधिवेशनको भव्य उद्घाटन, देउवाको कुर्सी खाली, गगनको तारिफ

79
SHARES

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको भव्य उद्घाटन भएको छ। १० वर्षपछि खुलेको खुलामञ्च कांग्रेस महाधिवेशनमा सहभागी सत्ता र प्रतिपक्षी दलका नेताहरूले गुञ्जायमान बनाएका छन्।

‘परम्पराको सम्मान, परिवर्तनको सङ्कल्प’ नारासहित आइतबारदेखि कांग्रेसको १५औँ महाधिवेशन सुरु भएको हो। जलवायु न्यायका लागि बिरुवामा पानी हालेर कांग्रेसको महाधिवेशन उद्घाटन गरिएको छ।

सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताए। संसद् र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उनले उल्लेख गरे।

जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले समेत यही खुलामञ्चबाट भाषण गरेको स्मरण गर्दै थापाले खुलामञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको बताए। ‘खुलामञ्चले मतभेदलाई एकै ठाउँमा राख्न सहयोग गर्छ,’ उनले भने।

थापाले अब यस्ता खुलामञ्च देशका विभिन्न ठाउँमा आवश्यक रहेको बताए। ‘संसद् अहिले खुला छैन। प्रधानमन्त्रीले जनताको कुरा नसुनेसम्म खुला रहँदैन,’ उनले भने।

सत्तामा रहेकाहरूले जनताको प्रश्न सुन्नुपर्ने र जनतासँग संवाद गर्नुपर्ने भन्दै थापाले लोकतन्त्रमा जनताको आवाजलाई बन्द गर्न नहुने बताए। ‘संसद् बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ थापाले भने।

सभापति थापाले बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ भन्ने विश्वासका साथ १५औँ महाधिवेशनबाट नयाँ ऊर्जा र सङ्कल्प लिएर बाहिरिनुपर्ने बताए।

‘बदलिएको कांग्रेसले यो देश पनि बदल्छ भन्ने विश्वास लिएर यो महाधिवेशनबाट जानुपर्ने छ। यो सफल पारेर ऊर्जा लिएर जानुपर्ने छ,’ थापाले भने।

उनले राजनीतिलाई ‘म्युजिकल चियर’ जस्तो बनाइएको बताए। प्रधानमन्त्री बन्ने, फेरि प्रधानमन्त्री बन्ने, मन्त्री बन्ने र फेरि त्यही पदमा दोहोरिने प्रवृत्तिले राजनीतिक नेतृत्वप्रति जनताको विश्वास कमजोर बनाएको उनको भनाइ थियो।

कांग्रेसले विगतमा धेरै निर्वाचन जितेको र धेरै निर्वाचन हारेको उल्लेख गर्दै उनले हारलाई निराशाको कारण बनाउन नहुने बताए। अहिलेको महाधिवेशनलाई पार्टीले नयाँ बाटो तय गर्ने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो।

राजनीतिक अधिकार सुनिश्चित गरेपछि त्यसलाई नागरिकको जीवनमा अनुभूत हुने सेवा, अवसर र आर्थिक विकाससँग जोड्न नसके लोकतन्त्रप्रतिको विश्वास कमजोर हुने उनले बताए। ‘डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ,’ उनले भने, ‘पुल ढल्यो भने विश्वास ढल्छ।’

कांग्रेसले पुरानो पुस्ता र नयाँ पुस्ताबीच पनि पुलको काम गर्नुपर्ने थापाको भनाइ थियो। नयाँ पुस्ताको आकाङ्क्षा र पुरानो पुस्ताको राजनीतिक अनुभवलाई जोडेर पार्टीलाई अघि बढाउनुपर्ने उनले बताए।

सभापति थापाले महाधिवेशन बाहिर रहेका नेताहरूलाई नरिसाउन आग्रह गरे। महाधिवेशनमा शेरबहादुर देउवाका लागि कुर्सी राखिएको थियो। कांग्रेसले महाधिवेशन उद्घाटन गर्न निवासमै पत्र पुर्‍याएको थियो।

तर, देउवा महाधिवेशनमा नआएर २१ वर्षपछि अर्को महत्त्वपूर्ण अवसर गुमाएका छन्। देउवा असन्तुष्टहरूको पनि एउटा गुटको मात्रै नेताका रूपमा देखिएका छन्।

थापाले पूर्वसभापति देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताए। थापाले देउवालाई लिनका लागि पार्टीका नेताहरू कति पटक जाने र कसरी जाने भन्ने प्रश्नसमेत उठाए।

‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ। तर आउनुभएन। कति पटक जाने हो, लिन कसरी जाने हो?’ थापाले भने।

थापाले नयाँ नेतृत्वसँगै कांग्रेसले विगतका विषयमा स्पष्ट समीक्षा गर्दै अघि बढ्नुपर्ने सङ्केत गरे। उनले पार्टीभित्र रहेका सबैलाई समेट्ने र बाहिरिएका नेताहरूका सम्बन्धमा पनि स्पष्ट धारणा बनाउनुपर्ने बताए।

थापाले कांग्रेसले अब निराशा र निन्दाको राजनीतिबाट बाहिरिनुपर्ने बताए। ‘एउटा सङ्कल्प गरौँ– निराश र निन्दक भएर होइन, कर्मबाट, आफ्नो पहिचानबाट स्थापित गर्ने गरी सङ्कल्प गर्नेछौँ,’ उनले भने।

गगनको तारिफमा अधिकांश नेता

कांग्रेस महाधिवेशनमा मन्तव्य दिएका अधिकांश नेताहरूले गगन थापाको तारिफ गरे। अब देश हाँक्ने नेता गगन नै भएको बताए।

विशेष महाधिवेशनबाट बदलिएको कांग्रेसले देश बदल्ने अठोट व्यक्त गरेको छ। यो अठोट पहिले भएको भए आफू पनि कांग्रेस हुन्थे होला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भने।

लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब छोडिदिँदा राम्रो हुने सुझाव पनि दिए। लामिछानेले कचकच र गनगन गर्नेलाई छोड्दा फरक नपर्ने ढाडस दिए। उनले व्यक्ति बचाउन लोकतन्त्र कमजोर बनाउन नहुने उल्लेख गरे।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभङ्ग गरेर नयाँ इतिहासतर्फ अघि बढाएको बताए।

प्रचण्डले गगन थापालाई बधाई दिँदै उनको नेतृत्व गर्ने क्षमता आफूले यसअघि नै देखेको बताए।

‘गगनजीलाई बधाई छ। गगनजीमा नेतृत्व गर्ने क्षमता छ। अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ। आज त्यही देखिरहेको छु,’ प्रचण्डले भने।

विषम राजनीतिक परिस्थितिका बीच थापा कांग्रेसको नेतृत्वमा आउनु आफैँमा ‘क्रमभङ्ग’ भएको उनको भनाइ छ। ‘यो क्रमभङ्ग हो। निरन्तरतामा क्रमभङ्ग गरेर तपाईँ पार्टीको नेतृत्वमा आउनुभएको छ,’ उनले भने।

प्रचण्डले देश अप्ठ्यारोमा रहेको बताए। लोकतन्त्र, संविधान नै अप्ठ्यारोमा रहेको प्रचण्डले बताए। सरकारका गतिविधिका कारण स्वेच्छाचारिता एवं अराजकतातिर देश गइरहेको प्रचण्डको भनाइ थियो।

प्रचण्डको शङ्कालाई रास्वपा सभापति लामिछानेले जवाफ दिए। लोकतन्त्रको मूल्य र मान्यताबाट डेग नचल्ने लामिछानेले उल्लेख गरे।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा हुनुपर्ने बताए।

भट्टराईले मुलुकलाई आगामी २० वर्षभित्र विकसित देशको स्तरमा पुर्‍याउने लक्ष्यसहित साझा विकास योजना बनाउनुपर्ने बताए।

मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो समयमै विकासमा ठूलो फड्को मारेको उदाहरण दिँदै उनले नेपालले पनि त्यहीअनुसार दीर्घकालीन योजना बनाउनुपर्ने बताए।

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने बताए।

भण्डारीले मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भू–राजनीतिक संक्रमणबाट गुज्रिरहेको बताए। उनले वर्तमान चुनौती सामना गर्न प्रमुख राजनीतिक दलहरूबीच सहकार्य र राष्ट्रिय एकता आवश्यक रहेको बताए।

भण्डारीले वर्तमान संविधानलाई आवश्यकता र समयअनुसार संशोधन तथा परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अझ बलियो र प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताए।

पोखरेलले कांग्रेस सभापति गगनकुमार थापा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आफूहरूसँगै रहेको स्मरण गरे। त्रिचन्द्र क्याम्पसको सभादेखि नै आफूहरू सँगै उभिएको उल्लेख गर्दै उनले थापा कांग्रेसको नेतृत्वमा आउनु सकारात्मक भएको बताए।

‘गगनकुमार थापा गणतन्त्र ल्याउने नेतृत्वको आन्दोलनमा हामीसँगै थियौँ। त्रिचन्द्र क्याम्पसको सभाबाट हामी सँगै उभिएका थियौँ। अहिले पुरानो पार्टी कांग्रेसको नेतृत्वमा आउनुभएको छ। यो एकदमै सकारात्मक कुरा हो,’ पोखरेलले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्ने भन्दै लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए।

लिङ्देनले अहिले देखिएका राजनीतिक समस्या संविधान र गणतान्त्रिक व्यवस्थासँग पनि जोडिएको भन्दै त्यसबारे पुनर्विचार गर्ने बेला आएको बताए।

‘अहिलेको समस्या संविधान र तपाईँहरूले ल्याएको गणतान्त्रिक व्यवस्थामा समेत छ। यसमा पनि सोच्ने बेला आएको छ,’ उनले भने।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशन पार्टीको नयाँ यात्राको सुरुवात भएको बताए। महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने उनले बताए।

शर्माले ८० वर्षको इतिहास बोकेको कांग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका हरेक सङ्कटमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। जननायक बीपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेसले लोकतन्त्रका लागि गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको र कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दै शर्माले मुलुकलाई सफल बनाउन आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार रहेको बताए। राष्ट्रिय हितका महत्त्वपूर्ण विषयमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने आफूलाई विश्वास रहेको बताएका छन्।

चौधरीले गणतन्त्र स्थापनाका लागि सङ्घर्ष गरेका थापाले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे। ‘गगनले यो देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ,’ उनले भने, ‘जसले गणतन्त्र ल्याउन जुन भूमिका खेल्यो, अब यो देश बनाउन पनि अवश्य भूमिका खेल्नेछ।’

चौधरीले संविधान निर्माणमा नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कांग्रेसमा आएको परिवर्तनले आफूमा विश्वास जागेको बताए।

समाचार शेयर गर्नुहोस्
79
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.