हरिवनमा प्रथम स्ववियु कप फुटबल प्रतियोगिता हुँदै

हरिवनमा प्रथम स्ववियु कप फुटबल प्रतियोगिता हुँदै

66
SHARES

सर्लाही – हरिवनमा प्रथम चतुरभुजेश्वर जनता बहुमुखी क्याम्पस स्ववियु कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। आगामी असोज २० गतेदेखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मधेस प्रदेशका विभिन्न स्थानका ८ वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।

हरिवन नगरपालिका–१० सुकेपोखरीस्थित चतुरभुजेश्वर जनता बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना हुने प्रतियोगिताबारे आयोजकले आइतबार क्याम्पसमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गर्ने स्ववियु सभापति हिमाल घिमिरेले जानकारी दिए।

नगर प्रमुख रमेश बुढाथोकीले आउँदै गरेको बडादसैँको अवसरमा आयोजना गर्न लागिएको प्रतियोगिताले मनोरञ्जनसँगै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने र हरिवनमा मात्र सीमित नभई मधेस प्रदेशमै खेलकुदको विकास, खेलाडी उत्पादन र प्रतिभा पहिचानका लागि लाभदायी बन्ने विश्वास व्यक्त गरे।

खेलकुदका माध्यमबाट युवालाई लागुऔषध दुर्व्यसनबाट टाढा राख्दै अनुशासित, स्वस्थ र सकारात्मक जीवनशैलीतर्फ अग्रसर गराउनसमेत प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

हरिवन राष्ट्रिय खेलाडी उत्पादनको उर्वरभूमिका रूपमा परिचित रहेको उल्लेख गर्दै हरिवन नगरपालिका–८ का वडाध्यक्ष एवं सामाजिक विकास समिति अध्यक्ष प्रज्ज्वल ढुङ्गानाले स्थानीय युवामा रहेको खेल प्रतिभालाई उजागर गर्दै खेल क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यले प्रथम स्ववियु कप आयोजना गरिएको बताए।

उनका अनुसार प्रतियोगिताले स्थानीय तथा प्रदेशस्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवामा खेलकुदप्रतिको रुचि, अनुशासन र सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आयाेजकका अनुसार प्रतियोगितालाई आगामी वर्षहरूमा थप व्यवस्थित र विस्तार गर्दै प्रदेशस्तरकै महत्त्वपूर्ण खेलकुद प्रतियोगिताका रूपमा विकास गरिनेछ।

समाचार शेयर गर्नुहोस्
66
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.