भाग- १

कृत्रिम लिङ्ग राखेर केटी फकाउने समलिङ्गी महिलालाई ११ वर्ष कैद

कृत्रिम लिङ्ग राखेर केटी फकाउने समलिङ्गी महिलालाई ११ वर्ष कैद

मोबाइलबाट चिनजान, मोबाइलमै प्रेम सम्बन्ध

130
SHARES

काठमाडौँ – मोबाइलबाट चिनजान भई प्रेम सम्बन्धमा रहेकी समलिङ्गी महिलालाई संखुवासभा जिल्ला अदालतले जबरजस्ती करणीको कसुरमा दोषी ठहर गर्दै जनही ११ वर्ष कैद सजाय सुनाएको छ।

अदालतको फैसलाअनुसार पीडित जाहेरवालीसँग मोबाइलबाट चिनजान भएपछि मोबाइलमै प्रेम सम्बन्धसमेत भएको थियो। प्रतिवादी लाक्पा शेर्पाले पीडितले आफूलाई जसरी भए पनि भेट्न आउन पटक–पटक आग्रह गरेको बयानमा उल्लेख छ।

लाक्पा शेर्पाका अनुसार उनी आफ्नो फुपूको छोरा भाइ नाता पर्ने सागर शेर्पालाई साथी लिएर मकालु गाविसको सेदुवा भन्ने ठाउँको विद्यालयमा पुगेकी थिइन्। उनीहरू विद्यालयमा बसेका बेला पीडित उनीहरूलाई लिन विद्यालयमा आएकी थिइन्। पीडितले आफ्नो मामाको घरमा जाऔँ भनी आग्रह गरेपछि उनीहरू मामाको घरमा गएको प्रतिवादी लाक्पाले अदालतमा बयान गरेकी थिइन्।

प्रतिवादी लाक्पाका अनुसार राति करिब ११ बजेतिर पीडित उनको खाटमा आएर उनीसँगै ढल्किएकी थिइन्। उनीसँगै सुते पनि आफूले पीडितलाई केही नगरेको र पीडित कतिबेला उठेर गइन् भन्ने आफूलाई थाहा नभएको उनले बयान दिएकी थिइन्।

भोलिपल्ट बिहान उठेर खाना खाई बाहिर बसिरहेको अवस्थामा पीडितका मामासमेत आएर आफूलाई समाती तानी लगेर कुटपिट गरेको लाक्पाले बताएकी थिइन्। ‘तँ केटा कि केटी ?’ भनेर सोधिएपछि आफूले केटी भएको बताए पनि त्यसपछि थानामा लगेर कुटपिट गरिएको उनको बयानमा उल्लेख छ।

थानामा लगेर आफूले लगाएको कपडा खोल्दा आफूसँग रहेको बनावटी लिङ्गसमेत फेला परेको र त्यसपछि शङ्काका भरमा मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीको उजुरी जाहेरी दिएको लाक्पाको दाबी थियो।

आफ्ना श्रीमान्ले आफूलाई छाडेर अर्को विवाह गरी बसेको र आफूलाई आवश्यक परेको समयमा प्रयोग गर्न कपडाको कृत्रिम लिङ्ग बनाएर साथमा राख्ने गरेको उनले बयानमा उल्लेख गरेकी थिइन्। प्रतिवादी सागर शेर्पा र पीडितबीच बोलचालसमेत नभएको भन्दै सागरले पीडितलाई जबरजस्ती करणी नगरेको दाबी उनले गरेकी थिइन्।

‘मलाई सबैले समलिङ्गी नै भन्छन्’ भन्दै लाक्पाले आफूले समेत पीडितलाई मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी केही नगरेको बयान गरेकी थिइन्। पीडितलाई आफू केटा हुँ भनी नाम, थर र वतन ढाँटेको बाहेक अन्य कुनै कसुर नगरेको उनको दाबी थियो।

लाक्पा शेर्पाले २०६७ चैत २० गते सुरु अदालतमा यस्तो बयान गरेकी थिइन्।

त्यस्तै, प्रतिवादी सागर शेर्पाले आफू र दिदी २०६७ फागुन २२ गते बिहान करिब ९ बजे नुमबाट बाटो लागेर बेलुकी करिब ५ बजे सेदुवा विद्यालयमा पुगेको बयान गरेका थिए।

विद्यालयमा पुगेपछि दिदीको साथीले फोन गरेको र केहीबेरपछि एक केटी विद्यालयमा आएको उनले बताएका थिए। दुई जनाबीच कुराकानी भइरहेको बेला आफू बिरामी भएका कारण विद्यालयको बेन्चमा सुतेको र रात परेपछि जाहेरवालीले आफ्नो मामाको घरमा जाऔँ भनेर दिदीलाई भनेको उनको बयानमा उल्लेख छ।

त्यसपछि उनीहरू दुवै जना गफ गर्दै अगाडि हिँडेको र आफू पछिपछि गएको सागरले बताएका थिए। खाना खाइसकेपछि पुनः सुत्न गएको र केही समयपछि जाहेरवाली आफूहरू सुतेको कोठामा आएर ढोका बन्द गरी दिदीसँग गफ गरेर बसेको उनले बयान गरेका थिए। आफू निदाएको र त्यसपछि के–के भयो भन्ने थाहा नभएको उनको भनाइ थियो।

सागरले आफूले पीडितको नाम, थर र वतन ढाँटी प्रलोभनमा पारी जबरजस्ती करणी तथा मानव बेचबिखन र ओसारपसार नगरेको दाबी गरेका थिए। पीडितसँग आफ्नो दोहोरो बोलचालसमेत नभएको उनले बयान गरेका थिए। सागरले पनि २०६७ चैत २० गते सुरु अदालतमा बयान गरेका थिए।

कृत्रिम लिङ्ग साथमा राखी केटी फकाउने

घटनाबारे मौकामा कागज गर्ने बुद्धिमान राईले भने लाक्पा शेर्पा केटी भएको र कृत्रिम लिङ्ग साथमा राखी नामसमेत ढाँटेर केटीलाई फकाउने कार्य गरेको बताएका थिए।

लाक्पा र सागर मिलेमतो गरी हिँडेको भन्दै उनीहरूले मानव बेचबिखन तथा ओसारपसार गरेकोमा आफूलाई विश्वास लागेको बुद्धिमानले अदालतमा बकपत्र गरेका थिए। एकै कोठामा पीडितसमेत तीनै जना सुतेको हुँदा जबरजस्ती करणीसमेत दुवै प्रतिवादीले गरेको शङ्का लागेको उनको भनाइ थियो। उनले २०६८ वैशाख २८ गते सुरु अदालतमा बकपत्र गरेका थिए।

तर प्रतिवादी लाक्पाका साक्षी सुनाभुटी शेर्पाले दुवै प्रतिवादी गाउँघरमै बसी बनिबुतो गर्ने, अलैँचीको व्यापार गरी खाने साधारण परिवारका किसान भएको बताएकी थिइन्। उनीहरूको बानी–ब्यहोरा ठीक रहेको र मानिस ओसारपसार गरी बेचबिखन गर्ने खालका मानिस नभएको भन्दै झुट्टा आरोप लगाइएको उनको बकपत्र थियो।

त्यस्तै, बरामदी मुचुल्कामा बस्ने रामबहादुर राईले पीडित १५ वर्षकी भएको र प्रतिवादीहरूले उनलाई जबरजस्ती करणी तथा मानव बेचबिखन र ओसारपसारको कसुर गरेको भन्ने कुरामा आफूलाई विश्वास लागेको बताएका थिए।

वस्तुस्थिति मुचुल्कामा बस्ने श्यामबहादुर शेर्पाले भने प्रतिवादीहरू गाउँघरमा खेतीकिसानी गरी खाने मानिस भएको, सागर शेर्पा पढ्दै गरेको केटा भएको र आफूलाई थाहा भएसम्म उनीहरू मानव बेचबिखन गर्ने मानिस नभएको बकपत्र गरेका थिए।

वस्तुस्थिति मुचुल्कामा बस्ने सुकमाया राईले पीडितले जबरजस्ती करणी भएको भनेकाले जबरजस्तीको कुरामा आफूलाई विश्वास लागेको बताएकी थिइन्।

मौकामा कागज गर्ने सन्देश शेर्पाले प्रतिवादीहरू घर छाडेर मधेससम्म नगएको, गाउँघरमै बस्दै आएको, खेतीकिसानी गर्ने र राम्रो आचरण भएका मानिस रहेको बकपत्र गरेका थिए।

बरामदी मुचुल्कामा बस्ने भक्तबहादुर राईले आफूले जबरजस्ती करणी भएको देखेको नभई पीडितको परिवर्तित नाम यमुना राईले सुनाउँदा सुनेर थाहा पाएको बताएका थिए। एक नारीमाथि अर्की नारीले कृत्रिम लिङ्ग प्रयोग गरेको हुनाले लाक्पा शेर्पाको नियत ठीक नभएको उनको भनाइ थियो।

प्रतिवादीहरूले आफ्नो स्थायी ठेगाना लुकाएको, पीडितलाई जागिरको प्रलोभन देखाएको र आफ्नो वास्तविक नामसमेत ढाँटेकाले बेचबिखन गर्न सक्ने भक्तबहादुरले बताएका थिए।

त्यस्तै, वस्तुस्थिति मुचुल्कामा बस्ने दिलबहादुर राईले आफूले लेखाएको ब्यहोरा सही भएको भन्दै प्रतिवादीमध्ये लाक्पा शेर्पालाई कानूनबमोजिम मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा सजाय हुनुपर्ने र छुट दिन नहुने बकपत्र गरेका थिए।

प्रतिवादीहरूका साक्षी तेम्बा शेर्पाले भने आफूले घटना नदेखेको र नसुनेको हुँदा प्रतिवादीहरूले पीडितलाई मानव बेचबिखन गर्ने उद्देश्यले जबरजस्ती करणी गरेको होइन भन्ने बकपत्र गरेका थिए।

पीडितको बकपत्र : ‘दुवै जनाले जबरजस्ती करणी गरे’

पीडित परिवर्तित नाम यमुना राईले अदालतमा गरेको बकपत्रमा भने घटनाको विस्तृत विवरण दिएकी थिइन्। उनले २०६७ फागुन २७ गते दिएको जाहेरी दरखास्तमा लेखिएको ब्यहोरा र त्यसमा भएको सहीछाप तथा २०६७ फागुन २९ गते मौकामा गरेको बयानको ब्यहोरा आफूले नै लेखाएको र त्यसमा भएको सहीछापसमेत आफ्नै भएको बताएकी थिइन्।

उनका अनुसार प्रतिवादीहरूलाई आफू बस्ने मामाको घरमा लगेर खाना खुवाई पाहुना सुत्ने कोठामा ओछ्यान लगाएर सुत्न दिइएको थियो।

लाक्पा शेर्पाले ‘एकछिन आउनु’ भनेपछि आफू गएको र लाक्पाले आफूलाई जबरजस्ती निज सुतेको खाटमा लडाएर आफूले लगाएको सुरुवाल र पेन्टी खोली उत्तानो पारेर सुताई आफू माथि चढेको पीडितले बकपत्रमा उल्लेख गरेकी थिइन्।

उनले लाक्पाको लिङ्ग नदेखेको र आफ्नो योनीमा लिङ्ग पसाउन खोज्दा आफूले इन्कार गरेपछि प्रवेश नगराएको बताएकी थिइन्। लाक्पा करणी गर्न नदिएपछि आफैँ उठेर अर्को खाटमा गएको उनको भनाइ थियो।

त्यसपछि सागर शेर्पा आफूलाई पहिले लाक्पाले सुताएको खाटमा आएको र स्तन समाउन खोज्दा आफूले नदिएको उनले बताएकी थिइन्। सागरले लिङ्ग निकाली आफू माथि चढेर आफ्नो योनीमा लिङ्ग प्रवेश गराई दुई–तीन पटक तलमाथि गराएको पीडितले बकपत्र गरेकी थिइन्।

त्यसपछि आफूले सागरलाई ओरालेर आफ्नो कोठामा सुत्न गएको र सागरले करणी गर्दा आफूलाई असहज, अप्ठ्यारो र दुःखेको महसुस भएको उनले बताएकी थिइन्।

लाक्पा शेर्पा र सागर शेर्पाले आफूलाई ‘जागिर लगाइदिन्छौँ, नकराऊ’ भनेका कारण कुनै प्रतिकार नगरेको र कसैले थाहा नपाएको पीडितको बकपत्रमा उल्लेख छ।

आफ्नो नाम, थर, वतन र लिङ्गसमेत ढाँटेर आफूलाई मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीको कसुर दुवै प्रतिवादीले गरेको पीडितले अदालतमा बकपत्र गरेकी थिइन्। उनले २०६८ वैशाख २९ गते सुरु अदालतमा बकपत्र गरेकी थिइन्।

संखुवासभा जिल्ला अदालतको फैसला

प्रस्तुत प्रमाण, जाहेरी, बयान तथा अदालतमा भएको बकपत्रका आधारमा सुरु संखुवासभा जिल्ला अदालतले प्रतिवादी लाक्पा शेर्पा र सागर शेर्पाले अभियोग दाबीबमोजिम जबरजस्ती करणीको कसुर गरेको ठहर गरेको थियो।

अदालतले दुवै प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३(३) नं. बमोजिम जनही ६ वर्ष कैद सजाय हुने ठहर गरेको थियो। साथै सामूहिक रूपमा जबरजस्ती करणीको वारदात भएको देखिएको भन्दै जबरजस्ती करणीको महलको ३(क) नं. बमोजिम दुवै प्रतिवादीलाई जनही थप ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।

दुवै प्रतिवादीलाई जनही ११ वर्ष कैद सजाय हुने ठहर भएको थियो। अदालतले पीडितले प्रतिवादीहरूबाट जनही रु. ५० हजार क्षतिपूर्ति समेत भराई लिन पाउने ठहर गरेको थियो। सुरु संखुवासभा जिल्ला अदालतले २०६९ असार २० गते यस्तो फैसला गरेको थियो।

समाचार शेयर गर्नुहोस्
130
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.