"/>
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको आठ महिना पूरा भएको छ। तर, सरकारको कार्यशैलीमाथि प्रश्न र आरोपको चाङ थपिँदै गएको छ। प्रश्न गर्नेहरूको मुख थुन्नेदेखि निरंकुशताको बीजारोपण गर्न उद्धत भएकोसम्मका आरोप सरकारमाथि लागेका छन्। कर्मचारी, प्रहरीदेखि न्यायालयसम्मलाई आतङ्कित बनाएको आरोप पनि सरकारमाथि लागेको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री शाहसँग प्रश्नैप्रश्न गरेको छ। अन्य विपक्षी दलहरूले भने सरकारका गतिविधिविरुद्ध आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
सरकार सञ्चालनको शैलीलाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेसले प्रश्न उठाएको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले सरकार चलिरहेको हो कि गुन्डाराज सञ्चालन भइरहेको हो भन्दै प्रश्न गरेका छन्।
नामुद बिचौलिया इनम सापकोटाकी श्रीमती कविता पाण्डेले श्रीमान्को सुरक्षाको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरीसँगै धम्की दिएर बयान लिइएको तथ्यसमेत बाहिरिएको छ।
सरकार प्रश्न गर्नेहरूको मुख थुन्ने उपायमा लागेको देखिएको आरोप विपक्षी कांग्रेसले लगाएको छ। यसले कांग्रेसलाई थप आक्रोशित बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवालाई १८ करोड रुपैयाँमा पार्टी बेचेको आरोप लगाउँदै गगन थापामाथि प्रश्न उठाउने हिम्मत धम्की दिएर सार्वजनिक गरिएको बयानबाट मिलेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।
इनम सापकोटाकी श्रीमती कविता पाण्डेले आयोगमा दिएको लिखित उजुरीले सरकारको कार्यशैलीमाथि उठेका प्रश्नलाई थप सतहमा ल्याएको छ। प्रधानमन्त्री शाहको कार्यशैली आलोचित बनिरहेको छ। कांग्रेस महामन्त्री पौडेलले लोकतन्त्र समाप्त पार्ने गतिविधिमा मौन बस्न नहुने बताएका छन्।
सरकार धम्क्याउने शैलीमा लागेको आरोप छ। सरकार एकाङ्की बनेको आरोपसमेत लागेको छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले सार्वजनिक गरेका एक सय बुँदे प्रतिबद्धता पनि क्रमशः ओझेलमा पर्न थालेका छन्। स्वदेशमा रोजगारीका अवसर लगभग शून्य प्रायः छन्। कामका लागि विदेश जाने नेपालीको लर्को विमानस्थलमा दिनहुँ उस्तै छ।
सुकुम्वासीमाथि अन्याय भएको आरोप लागेको छ। भोटेकोशी बाढी प्रभावितहरू तीन महिनादेखि बिजोग अवस्थामा छन्। राहत सामग्रीको थुप्रो लागे पनि उनीहरूको स्थायी बासको व्यवस्था हुन सकेको छैन। झन्डै दुई तिहाइको समर्थन प्राप्त सरकारले नागरिकका आवश्यकता र समस्यालाई नजरअन्दाज गरेको आरोप विपक्षीले लगाएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहमाथि नागरिकले गरेको विश्वास निराशामा बदलिँदै गएको छ। वालेन सरकारले न्याय दिने र जनताका समस्या चटक्कै समाधान गर्ने अपेक्षा गरिए पनि त्यो पूरा हुन नसक्दा निराशा बढ्दै गएको कांग्रेस महामन्त्री डिला संग्रौला पन्तले बताएकी छन्।
कांग्रेसले नरम भाषामा सरकारको आलोचना गरिरहेका बेला अन्य विपक्षी दलहरू भने आक्रामक बनेका छन्। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। दुवै दलले सरकारले आतङ्क मच्चाएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाका एक मात्र पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम गर्ने शैलीका कारण कर्मचारी, प्रहरीदेखि आमनागरिकसम्ममा आतङ्क सिर्जना भएको बताएका छन्।
जुनसुकै बेला जोसुकै पक्राउ पर्न सक्ने अवस्था सिर्जना भएको प्रचण्डको भनाइ छ। इनम सापकोटाको मोबाइल कब्जा गरेर आफूअनुकूल विरोधीलाई ठेगान लगाउने सन्देश सार्वजनिक गरेको भन्दै सरकारको कामको विरोध भइरहेको छ।
न्यायालयमाथि नै प्रहार हुँदा न्यायाधीशहरू समेत त्रासमा रहेको प्रचण्डले बताएका छन्। उनले सरकारका गतिविधिबारे एकपटक जनतालाई बुझाउन आवश्यक रहेको बताएका छन्।
सरकार गठन भएको आठ महिना पूरा भएको छ। सरकारका मन्त्रीहरू कामभन्दा काम देखाउने प्रचारबाजीमा उत्रिएको आरोप लागिरहेको छ। सहकारी मन्त्री प्रतिभा रावलले सरकारले राम्रो काम गरिरहेको दाबी गरेकी छन्।
पाँच वर्षे जनादेशसहित सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सरकारको बचाउमा उत्रिएको छ। रास्वपा अहिले कार्यकर्ता बढाउने अभियानमा लागेको छ। पार्टी सभापति रवि लामिछानेले कर्णाली प्राथमिकतामा नपरेको स्वीकार गरेका छन्। विकास र राजनीति एउटै विषय नभएको उनको भनाइ छ।
सरकारको कामकारबाहीबारे भने रास्वपा मौन देखिएको छ। पार्टीभित्र एक–दुई जनाले सरकारको कामबारे बोलिहाले पनि उनीहरूलाई लगाम लगाउने परिपाटी छ। सरकारप्रति जनताले गरेको भरोसालाई बेवास्ता गरिएको प्रश्न पनि उठिरहेको छ।
सरकार गठन भएको आठ महिनामै सरकारको कार्यशैलीमाथि विपक्षी दलहरूले गम्भीर प्रश्न उठाएका छन्। सरकारका प्रतिबद्धता, नागरिकका समस्या, रोजगारी, सुकुम्वासी र विपद् प्रभावितका सवालमा उठेका प्रश्नको जवाफ सरकारले दिन सकेको छैन।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.