हप्तामा दुई दिन बिदा : श्रमिकलाई क्षतिपूर्ति देऊ

हप्तामा दुई दिन बिदा : श्रमिकलाई क्षतिपूर्ति देऊ

‘श्रमिकले काम गरेर खान पाउनुपर्‍यो। बिदा दिएर उसको रोजगारी मारिदिनु भएन’

39
SHARES

काठमाडौँ – २२ चैत २०८२ को मन्त्रिपरिषद् बैठकले शनिवार र आइतबार बिदा दिने निर्णय गरेपछि वार्षिक सार्वजनिक बिदाको संख्या थपिएको छ। चाडपर्वलगायतका बिदासमेत जोड्दा सरकारी कार्यालय वर्षमा १४५ दिन बन्द हुने अवस्था बनेको छ।

सरकारको यो निर्णयले इन्धन खपत घटाउने उद्देश्य राखे पनि अर्थतन्त्र, राष्ट्रिय उत्पादकत्व, स्वास्थ्य सेवा, शिक्षा र सर्वसाधारणको दैनिक जीवनमा पार्ने प्रभावबारे पर्याप्त अध्ययन हुनुपर्ने पूर्वमन्त्री एवं पूर्वप्रमुख प्रशासक विद्याधर मल्लिक बताउँछन्।

मल्लिकका अनुसार हप्तामा दुई दिन बिदा दिने निर्णयलाई मात्रै राम्रो वा नराम्रो भनेर व्याख्या गर्न मिल्दैन। त्यसको प्रभाव कार्यसमय व्यवस्थापन, कर्मचारीको उत्पादकत्व र सेवाग्राहीले पाउने सुविधाका आधारमा मूल्याङ्कन गर्नुपर्छ।

हप्तामा ४० घण्टा काम गर्ने व्यवस्था कायम राखेर पाँच दिनमै आवश्यक कार्यसमय पूरा गर्ने हो भने दुई दिन बिदाको केही सकारात्मक पक्ष पनि हुन सक्ने उनको भनाइ छ। तर, कर्मचारी बिहान ९ देखि बेलुका ५ बजेसम्म कार्यालयमा उपस्थित हुने र बीचमा खाजा खाने समयबाहेक प्रभावकारी काम गर्ने अवस्था नहुने हो भने दुई दिन बिदाको औचित्यमाथि प्रश्न उठ्ने उनी बताउँछन्।

दुई दिन बिदा हुँदा कर्मचारीले बाँकी पाँच दिनमा पहिले जति नै समय काम गरेर उत्पादकत्व बढाउन सके सकारात्मक परिणाम आउन सक्छ। तर, सेवाग्राहीलाई नोक्सानी हुने, गाउँबाट पहाड वा देहातबाट काठमाडौँ तथा अन्य सहरमा आएर काम गराउनुपर्ने नागरिकको खर्च बढ्ने र सरकारी कार्यालयमा काम नहुने अवस्था सिर्जना भए त्यसले नकारात्मक असर पार्ने मल्लिकको विश्लेषण छ।

दुई दिन बिदालाई मात्रै ठूलो बहसको विषय बनाउनुभन्दा त्यसले अर्थतन्त्र र जनजीवनमा पार्ने समग्र प्रभावको मूल्याङ्कन गर्नुपर्ने उनको धारणा छ।

मल्लिकका अनुसार अर्थतन्त्रलाई नोक्सानी नहुने गरी व्यापार, व्यवसाय, बैङ्किङ कारोबार र आम नागरिकका उद्यमशीलतासँग सम्बन्धित सेवाहरू सञ्चालन हुनुपर्छ। कतिपय सेवा सातै दिन र २४ सै घण्टा सञ्चालन गर्नुपर्ने हुन्छ। सामान्य कार्यालयमा भने उत्पादकत्व बढाउने, एक दिन परिवारसँग बिताउने र अर्को दिन स्वअध्ययन, पढ्ने तथा लेख्ने काममा लगाउने वातावरण बनाउन सकिन्छ। त्यसले ज्ञान र अध्ययन बढाउन सहयोग पुग्न सक्छ।

तर, नेपालको अर्थतन्त्रले वर्षमा यति धेरै सार्वजनिक बिदाको भार धान्न सक्ने अवस्था बनेको छ कि छैन भन्ने प्रश्न महत्त्वपूर्ण रहेको मल्लिक बताउँछन्। सामान्यतया वार्षिक रूपमा १२, १३, १५ वा १६ दिन सार्वजनिक बिदा पर्याप्त हुन सक्छ। त्योभन्दा बढी बिदा दिनु उचित नहुने उनको धारणा छ।

सरकारी कार्यालय वर्षमा १४५ दिन बन्द हुने अवस्थालाई सामान्य मान्न नसकिने मल्लिक बताउँछन्। यसपालि मात्रै नभई अघिल्ला वर्षहरूमा पनि सार्वजनिक बिदा थपिँदै गएको उनको भनाइ छ।

तिहारको बिदा दसैँको भन्दा लामो हुने, लगातार धेरै दिन सरकारी कार्यालय बन्द हुने अवस्था बनेको उनले औँल्याएका छन्। अदालतहरूमा त झन् अन्य कार्यालयभन्दा बढी बिदा हुने गरेको उनको भनाइ छ।

मल्लिकका अनुसार गत कात्तिक महिनामा सरकारी कार्यालय जम्मा ११ दिन मात्रै खुलेको अवस्था थियो। बाँकी दिन बिदा हुँदा सरकारी सेवा प्रवाह र आर्थिक गतिविधिमा असर परेको उनको विश्लेषण छ। तिहारलगत्तै छठ पर्व परेको र त्यसपछि पनि सरकारले लगातार बिदा घोषणा गरेको विषयलाई उनले अस्वाभाविक मानेका छन्। ‘यो कुरा मेरो हिसाबमा आर्थिक अपराध हो,’ मल्लिक भन्छन्।

लामो सार्वजनिक बिदाले राष्ट्रिय उत्पादकत्व घटाउने र मानिसलाई अल्छी बनाउने उनको तर्क छ। कसैलाई थप बिदा आवश्यक परे व्यक्तिगत बिदा लिन सक्ने व्यवस्था रहेको भन्दै उनले सबैलाई सामूहिक रूपमा लामो बिदा दिने प्रवृत्तिमा पुनर्विचार गर्नुपर्ने बताए।

उनका अनुसार कर्मचारीलाई पर्व बिदा, आकस्मिक बिदा, बिरामी बिदा, घर बिदा, तलबसहितको बिदा लिन पाउने व्यवस्था छ। व्यक्तिको पारिवारिक र सामाजिक अवस्था हेरेर आवश्यक बिदा लिन सक्ने सुविधा दिइएकाले सार्वजनिक बिदा थप्दै जानु उचित नहुने उनको भनाइ छ।

मल्लिकले चार्डपर्वको बिदाको विषयमा कुरा गर्दा कुनै धर्म वा संस्कृतिको विरोध गरेको अर्थमा बुझ्न नहुने स्पष्ट पारेका छन्। सबै समुदायले आफ्नो धर्म, संस्कृति र पर्व मनाउन पाउनुपर्ने उनको धारणा छ। तर, हप्तामा दुई दिन बिदा दिने हो भने त्यसबाहेकका सार्वजनिक बिदाको पुनरावलोकन गरेर वार्षिक बिदा बढीमा १५ देखि १८ दिनसम्म सीमित गर्नुपर्ने उनको प्रस्ताव छ।

उनका अनुसार अन्तर्राष्ट्रिय संस्थाहरूले पनि वार्षिक बिदाको निश्चित सीमा तोकेर त्यसैभित्र कुन-कुन बिदा लिने भन्ने व्यवस्था गरेका हुन्छन्। नेपालमा पनि निश्चित दिनको सीमा तोकेर त्यसैभित्र समुदाय र व्यक्तिले आफ्नो आवश्यकताअनुसार बिदा छनोट गर्न पाउने व्यवस्था गर्न सकिन्छ।

पञ्चाङ्ग निर्णायक समितिले पर्वको मिति निर्धारण गर्ने हो, सरकारी कार्यालय कति दिन बन्द हुने भन्ने निर्णय गर्ने होइन। यदि वार्षिक १८ दिन बिदा दिने सहमति हुन्छ भने त्यसैभित्र कुन पर्वमा कति दिन बिदा लिने भन्ने विषयमा सम्बन्धित समुदायसँग छलफल गरेर निर्णय गर्न सकिने मल्लिकको धारणा छ। कुनै निश्चित समुदायका व्यक्तिले आफ्नो पर्वमा बिदा लिन चाहे अर्को बिदा त्याग्ने व्यवस्था पनि गर्न सकिने उनको सुझाव छ।

उनले सार्वजनिक बिदाको विषयलाई स्वास्थ्य सेवासँग पनि जोडेर हेर्नुपर्ने बताएका छन्। लामो चाडपर्व बिदाका कारण गम्भीर बिरामीले समयमै उपचार नपाउने अवस्था देखिएको उनको भनाइ छ।

‘मैले चिनेका मान्छेहरू राम्रो उपचार नपाएर मरेको अवस्था देख्नुपरेको छ,’ मल्लिक भन्छन्।

उनका अनुसार लामो चाडपर्व बिदाका बेला अस्पतालमा आकस्मिक सेवा मात्रै सञ्चालन हुने र आवश्यक विशेषज्ञ चिकित्सक उपलब्ध नहुने समस्या छ। अस्पतालले आकस्मिक सेवामा चिकित्सक रहेको बताए पनि गम्भीर रोगको उपचारका लागि आवश्यक अनुभवी तथा विशेषज्ञ चिकित्सक उपलब्ध नहुन सक्छन्।

आकस्मिक सेवा सञ्चालन गर्ने चिकित्सक र गम्भीर रोगको विशेषज्ञ उपचार गर्ने चिकित्सकको जिम्मेवारी फरक हुने भन्दै उनले सबै रोगको उपचार आकस्मिक सेवाबाट मात्रै सम्भव नहुने बताए। यदि सबै रोगको उपचार आकस्मिक सेवाबाटै हुने भए अस्पतालमा विशेषज्ञ चिकित्सक र शल्यक्रिया कक्षको आवश्यकता नै नपर्ने उनको तर्क छ।

तिहारको समयमा चिकित्सक उपलब्ध नहुँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आएको विषयमा तथ्याङ्क र अस्पतालहरूको विवरणसमेत अध्ययन गर्नुपर्ने उनले बताएका छन्। अस्पतालमा चिकित्सक उपलब्ध नहुँदा गरिब, पहुँच नभएका र चिनजान नभएका नागरिक बढी प्रभावित हुने उनको भनाइ छ।

‘यो त डरलाग्दो र गम्भीर विषय हो,’ मल्लिक भन्छन्।

स्वास्थ्य सेवाजस्तै विद्यालय र कलेजको पठनपाठनमा पनि लामो बिदाले असर गर्ने उनले बताएका छन्। साना बालबालिकादेखि कलेज तहसम्मका विद्यार्थीको पढाइका लागि आवश्यक दिन पूरा हुन नसके त्यसले शैक्षिक गुणस्तरमा असर पार्ने उनको प्रश्न छ।

बैङ्किङ सेवा, बन्दव्यापार र व्यवसायमा पनि सार्वजनिक बिदाको असर पर्ने मल्लिक बताउँछन्। बैङ्कहरूले लामो समय बिदा दिएर केही घण्टा खोल्ने वा शनिवार सेवा सञ्चालन गर्ने भन्दैमा आम नागरिकको आवश्यकता पूरा नहुने उनको भनाइ छ।

सबै नागरिकको आर्थिक कारोबार क्यूआर कोड र इन्टरनेटबाट मात्रै सम्भव नहुने भन्दै उनले डिजिटल कारोबारले मात्रै बैङ्किङ सेवाको आवश्यकता पूरा नगर्ने बताए। यदि सबै काम इन्टरनेटबाटै हुने हो भने बैङ्क नै किन चाहियो भन्ने उनको प्रश्न छ।

बैङ्किङ कारोबार, व्यापार, व्यवसाय र अन्य आर्थिक गतिविधिमा लामो बिदाले नोक्सानी पुर्‍याउने उनको निष्कर्ष छ।

मल्लिकले सार्वजनिक बिदाको आर्थिक लागतबारे पनि प्रश्न उठाएका छन्। एक दिन सरकारी कार्यालय बन्द हुँदा राष्ट्रिय अर्थतन्त्रमा कति नोक्सानी हुन्छ भन्ने विषयमा राज्यले पर्याप्त हिसाब गरेको आफूलाई नलागेको उनले बताए।

अस्पताल, चिकित्सक, बैङ्किङ सेवा, व्यापार र अत्यावश्यक सेवाहरू बन्द हुन नहुने उनको जोड छ। सामान्य सरकारी कार्यालयमा एक दिन थप बिदा दिएर वार्षिक सार्वजनिक बिदा घटाउने हो भने त्यसलाई व्यवस्थापन गर्न सकिने उनको धारणा छ।

तिहारपछि थकाइ मार्न, घर फर्कन समय लाग्ने वा छठपछि फुर्सद चाहिने भन्दै थप सार्वजनिक बिदा दिने निर्णयलाई भने उनले व्यक्तिगत आवश्यकतासँग जोडेर हेर्नुपर्ने बताए। जुम्ला वा हुम्ला गएको कर्मचारी काठमाडौँ फर्कन दुई–तीन दिन लाग्न सक्छ भन्दैमा सबैलाई थप बिदा दिनु उचित नहुने उनको तर्क छ। त्यस्तो आवश्यकता पर्ने व्यक्तिले आफ्नो व्यक्तिगत बिदा प्रयोग गर्न सक्ने व्यवस्था हुनुपर्ने उनले बताए।

सार्वजनिक बिदाले पार्ने नोक्सानीको हिसाब राज्यले गर्नुपर्ने र त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि मल्लिकले उठाएका छन्। बिदा दिने निर्णय गर्ने निकायले त्यसको आर्थिक लागत बुझ्नुपर्ने वा समुदाय र समाजले नै सार्वजनिक बिदाको विषयमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ।

सार्वजनिक बिदा पाउँदा सबै नागरिक खुसी हुन्छन् भन्ने पनि नरहेको उनी बताउँछन्। कतिपय अवस्थामा बिदाले मानिसलाई अल्छी बनाउने र स्वास्थ्यमा समेत नकारात्मक असर पार्न सक्ने भएकाले त्यसको प्रभावबारे सोच्नुपर्ने उनको सुझाव छ।

सार्वजनिक बिदाको विषयलाई धनी र गरिबको अवस्थासँग जोडेर पनि हेर्नुपर्ने मल्लिक बताउँछन्। हुनेखाने वर्गका लागि बिदा आकर्षक हुन सक्ने भए पनि निजी तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक वर्गका लागि बिदा नै समस्या बन्न सक्ने उनको भनाइ छ।

सातै दिन काम गर्दा पनि बिहान–बेलुकाको छाक टार्न मुस्किल पर्ने नेपाली अर्थतन्त्रमा बिदाको लाभ सबै वर्गले समान रूपमा नपाउने उनको विश्लेषण छ। काम गरेर खानुपर्ने श्रमिकको रोजगारी र आम्दानीमा सार्वजनिक बिदाले असर पार्नु नहुने उनले बताए।

‘श्रमिकले काम गरेर खान पाउनुपर्‍यो। बिदा दिएर उसको रोजगारी मारिदिनु भएन,’ मल्लिक भन्छन्।

उनका अनुसार सार्वजनिक बिदाका कारण श्रमिकको काम र आम्दानी रोकिन्छ भने त्यसको क्षतिपूर्ति कसले दिने भन्ने प्रश्न महत्त्वपूर्ण छ। क्षतिपूर्ति दिन सक्ने व्यवस्था नभएसम्म श्रमिकको कमाइ खोसिने गरी बिदा थप्नु उचित हुँदैन।

नेपालले अहिले अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने, उत्पादन बढाउनुपर्ने, समावेशी विकास गर्नुपर्ने, सबैलाई रोजगारी दिनुपर्ने र गरिबी निवारण गर्नुपर्ने अवस्था रहेको मल्लिक बताउँछन्। तर, थप सार्वजनिक बिदाले उत्पादन घटाउने र अर्थतन्त्रलाई शिथिल बनाउने काम गरेको उनको निष्कर्ष छ।

‘हामी त उत्पादन बढाउन चाहन्छौँ। हामी त समावेशी विकास चाहन्छौँ। सबैले रोजगारी पाउन्, गरिबी निवारण होस् भन्ने चाहन्छौँ। कमसेकम कमाएर खानेलाई कमाएर खाने अवसर दिनुपर्‍यो,’ उनी भन्छन्।

काम गरेर खाने नागरिकको आम्दानी हुने दिनमै सार्वजनिक बिदा थपिनु उनीहरूको अवसर खोस्नुजस्तै भएको मल्लिकको तर्क छ। बिदाका कारण आम्दानी गुम्ने अवस्था छ भने त्यसको क्षतिपूर्ति दिने व्यवस्था हुनुपर्ने वा सार्वजनिक बिदा नै घटाउनुपर्ने उनको भनाइ छ।

सार्वजनिक बिदा घटाउनुपर्ने विषयमा मल्लिकले मिडियाको भूमिकालाई पनि महत्त्वपूर्ण मानेका छन्। राज्यले मात्रै यस विषयलाई नबुझ्ने भन्दै समुदायका अगुवा, सांस्कृतिक क्षेत्रका नेतृत्वकर्ता र समाजका जिम्मेवार व्यक्तिहरूले पनि सार्वजनिक बिदाको दबाब र त्यसको आर्थिक असरबारे बुझ्नुपर्ने उनले बताए।

सार्वजनिक बिदा थपिँदा फाइदा मात्रै हुन्छ भन्ने सोच बदल्नुपर्ने र यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने नोक्सानीबारे नागरिकलाई बुझाउनुपर्ने उनको जोड छ।

‘बिदा दिइराखेर नोक्सानी हुन्छ, फाइदा होइन भन्ने कुरा जनतालाई बुझाउन जरुरी छ,’ मल्लिक भन्छन्।

उनका अनुसार सार्वजनिक बिदाको विषय कुनै धर्म, संस्कृति वा समुदायको अधिकार खोस्ने विषय होइन। सबैले आफ्नो पर्व र संस्कृति मनाउन पाउनुपर्छ। तर, त्यसका लागि निश्चित सीमा तोकेर व्यक्तिगत तथा सामुदायिक आवश्यकताअनुसार बिदा लिने व्यावहारिक व्यवस्था गर्नुपर्छ। यसले कर्मचारीको अधिकार, सांस्कृतिक अभ्यास, अत्यावश्यक सेवा र राष्ट्रिय उत्पादकत्वबीच सन्तुलन कायम गर्न सक्ने उनको धारणा छ।

समाचार शेयर गर्नुहोस्
39
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.