यस्तो पनि हुँदो रहेछ !

यस्तो पनि हुँदो रहेछ !

  • सोमबार, भाद्र ३ २०७०

काठमाण्डौ (पहिचान) भदौ ३-जस्को विहे उसैलाई देख्न नदिए । नेपालीमा यो उखान अहिले पनि चर्चितनै छ । यो उखान चर्चित मात्रै होइन धेरैका लागि बास्तविकतानै भइदिने गरेको छ । वास्तविकतानै बनाउने काम सरकारी निकायबाटै भइरहेको छ भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर जसले यो पीडा भोगेको छ उसलाई सामान्य लाग्न सक्छ । 
नेपालमा अहिले पनि फरक यौनिकता भएका व्यक्तीलाई एउटा नागरिकको व्यवहार गरिदैन, नेपाली हो भनेर पहिचान अनुसारको नागरिकता दिन गृहमन्त्रालयले जारी गरेको परिपत्र र निर्देशन प्रशासन कार्यालय कार्यान्वयन गर्दैन । फरक यौनिकता भएकै कारण घर, परिवार समाजबाट बहिष्कृत हुनु पर्छ ।
माया गर्ने भन्दा घृणा गर्नेहरुनै धेरै भएको ठाउँमा फरक यौनिकता भएका नागरिक बाँचेर पनि मरिरहेका छन् । बहिष्कृत गर्ने र समान अधिकार दिन आनाकानी गर्ने राज्यका विभिन्न निकायमा बसेका सरकारी प्रतिनिधिले फरक यौनिकता भएका व्यक्तीका लागि आएको अवसरमा रजाई गरिरहेको पाइएको छ ।
अगष्ट २१ तरिख अर्थात भदौ ५ गतेदेखि थाइल्याण्डको बैंककमा समलिंगी तेश्रोलिंगी एचआइभी रोकथाम र उपचारबारे एसिया प्रशान्त क्षेत्र स्तरिय छलफल शुरु हुँदैछ । छलफलमा यस क्षेत्रका एचआइभी संक्रमित समलिंगी तेश्रोलिंगी, समलिंगी तेश्रोलिंगी अभियन्ता, समलिंगी तेश्रोलिंगी विज्ञ सहभागी हुँदैछन् ।
विश्वमा सबै भन्दा धेरै एचआइभी संक्रमणको जोखिममा रहेका समलिंगी तेश्रोलिंगीलाई जोखिम हुन नदिन कस्तो चेतना आवश्यक छ ? के कस्तो नीति अख्तियार गर्नु पर्छ ? भन्ने विषयमा वैंककमा छलफल हुन लागेको हो ।
समलिंगी तेश्रोलिंगीलाई एचआइभी संक्रमण हुन नदिन, संक्रमितको हेरचाह लगायतका विषयमा हुन लागेको छलफलमा नेपालबाट गैर समलिंगी तेश्रोलिंगी सहभागी हुँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जना गैर समलिंगी तेश्रोलिंगीलाई छलफलमा सहभागी हुन पठाएको छ । Mantralay
देशमा भएका एचआइभी संक्रमित समलिंगी तेश्रोलिंगीलाई वेवास्था गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्याय गरेको छ । युएनएड्सको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृती लिएर हिरण्य जोशी सहित तीन जना दुई दिन अघि आज सोमवार वैंकक प्रस्थान गरिसकेका छन् ।
यसबारे स्वास्थ्य मन्त्रालयका जिम्मेवार पदाधिकारी जवाफ विहिन छन् । स्वास्थ्य मन्त्री विद्याधर मल्लिकले यसबारे आफूले स्वास्थ्य सचिव प्रविण मिश्रसँग जानकारी लिएको वताए । मैले स्वास्थ्य सचिवसँग सोधे मन्त्री मल्लिकले भने ः यसबारे जानकारी नभएको सचिव मिश्रको जवाफ छ । यो कसैले हल्ला फैलाएको हुन सक्छ मन्त्री मल्लिकले भने ः थप वुझेर के रहेछ जानकारी लिन्छु ।
मन्त्री मल्लिकलाई यो कुराको जानकारी नभएकै हुन सक्छ । तर वैंकका पठाउने फाइल स्वीकृत गर्ने सचिवले मन्त्री मल्किलाई किन ढाटे ? स्वास्थ्य सचिव प्रविण मिश्रले वास्तविकता वताउनु पर्छ । नेपालमा अहिले सम्पर्कमा आएका समलिंगी तेश्रोलिंगीको संख्या ४ लाख भन्दा धेरै छ ।
एसिया क्षेत्र स्तरिय सम्मेलनमा सहभागी भएर नेपालमा समलिंगी तेश्रोलिंगीको अवस्थाबारे बताउन सक्ने तेश्रोलिंगी आनिक राना स्थानीय तहमा थिइन भने केन्द्रीय स्तरमा पिंकी गुरुङ, मनिषा ढकाल, प्रकाश निरौला लगायतका नभएका होइनन् । गैर समलिंगी तेश्रोलिंगीलाई सहभागी गराउनु भन्दा समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता, यसका विज्ञलाई सहभागी गराएको भए सरकारको के विग्रन्थ्यो र ?
आधिकारिक तथ्याङक नभएपनि खुलेरै आएका एचआइभी संक्रमित समलिंगी तेश्रोलिंगीको संख्या पनि कम छैन । सरकार किन यसरी अन्याय गरिरहन्छ समलिंगी तेश्रोलिंगीलाई ? स्वास्थ्य मन्त्रालय त एउटा प्रतिनिधि मन्त्रालय हो ।
यहाँ सुइकै नदिई गैर समिलंगी तेश्रोलिंगीलाई समलिंगी तेश्रोलिंगीको नाममा विदेशमा हुने कार्यक्रममा पठाइन्छ समलिंगी तेश्रोलिंगी अधिकारकर्मीहरु भन्छन् ः समाजमा हामी प्रति घृणा गर्नेहरुनै लाजै पचाएर हाम्रो नाममा विदेश घुम्छन् । यसरी गैर समलिंगी तेश्रोलिंगीलाई एसिया क्षेत्र स्तरिय सम्मेलनमा पठाउँदा नेपालको सन्देश कस्तो जान्छ ? अरु देशका समलिंगी तेश्रोलिंगी सहभागी हुने तर नेपालबाट समलिंगी तेश्रोलिंगीबारे कुनै पनि अभियानमा सहभागी नभएकाहरु नेपालको प्रतिनिधित्व गरेर जाने ? विडम्वना समलिंगी तेश्रोलिंगी अधिकारकर्मी भन्छन् ः नेपालमा पहुँच हुनेले जे गरे पनि हुँदो रहेछ ।
के नेपालमा समलिंगी तेश्रोलिंगीको संगठन छैन ?
नेपालमा समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका लागि संगठित भएको १३ बर्ष पुगिसकेको छ । १३ बर्ष अगाडि काठमाण्डौंको रत्नपार्कमा लुकिछिपी भेला भएर स्थापना भएको समलिंगी तेश्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजमा अहिले सम्म ४ लाख भन्दा धेरै समलिंगी तेश्रोलिंगी सम्पर्कमा आइसकेका छन् ।
नील हिरा समाजका अनुसार समाजको स्थापनापछि लुकेर बस्ने समलिंगी तेश्रोलिंगी खुलेर आउन थालेका छन् । नेपालमै पहिलो पटक समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व गर्दै सुनिलवावु पन्तले विघठित संविधान सभामा प्रतिनिधित्व गरे । तेश्रोलिंगी श्याम राना समिक्षले पहिलो पटक खोइ त मलाई अधिकार नयाँ नेपालमा बोलको तिजको गीत बजारमा ल्याएकी छन । नील हिरा समाजकै पहलमा तेश्रोलिंगी विष्णु अधिकारीले पहिलो पटक तेश्रोलिंगी उल्लेख भएको नागरिकता लिए । तेश्रोलिंगी भूमिका श्रेष्ठ नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधि बनेकी छन् ।
तेश्रोलिंगी भएकै कारण नेपाली सेनाको जागिरबाट निकालिएका भक्ती शाह नील हिरा समाजमै आवद्ध छन् । यस्ता धेरै महत्वपूर्ण काम संगठित भएकै कारण प्राप्त भएका हुन् । त्यसैले राज्यले समलिंगी तेश्रोलिंगीको नाममा आउने अवसरमा गैर समलिंगी तेश्रोलिंगीलाई सहभागी गराउनु समलिंगी तेश्रोलिंगी माथि गरिएको अन्याय हो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.