भारतीय सहर रायगढको मेयरमा तेस्रो लिंगी

भारतीय सहर रायगढको मेयरमा तेस्रो लिंगी

भारत (पहिचान) पुष २२– तेस्रोलिंगी मधु किन्नर भारतीय राज्य छत्तिसगढको औद्योगिक सहर रायगढको मेयरमा निर्वाचित भएकी छन्। ३५ वर्षीया तेस्रो लिंगी मधुले सत्तारुढ दल भारतीय जनता पार्टी र कंग्रेसका उम्मेदवारलाई पराजित गर्दै रायगढको मेयर निर्वाचित भएकी सञ्चारमाध्यमले जनाएका छन्। मधुले मेयरका लागि भाजपा उम्मेदवार महाविर चौहान र कंग्रेस उम्मेदवार जेठुराम मनहरलाई करिब ९ हजार ५ सय मतअन्तरबाट पराजित गरिन्।

यसअघि रायगढमा भाजपाकै मेयर थिए। मतगणनाको सुरुदेखि नै मधुले अग्रता लिएकी थिइन्। तीन चरणको मतगणनापछि उनको जित निश्चितजस्तै देखिएको थियो। जितपछि उनका समर्थक निकै उत्साहित भएका छन्।
जितपछि मधुले भनिन्, ‘म गल्ली गल्लीमा नाच्न गाउन जाने भएकाले मलाई रायगढको खराब स्थितिबारे राम्रो जानकारी छ। धारामा पानी नआउने, सडक बिग्रेकोलगायत रायगढवासीको गुनासो सधैं सुन्दा सुन्दा मलाई आफ्ना लागि त मैले निकै नाचें गाएँ, अब अरुका लागि पनि केही गरौं भन्ने लागेर चुनावमा उठें।’
नवनिर्वाचित मेयर मधुले थपिन्, ‘मैले चुनाव जितेको देखेर भाजपा विधायक र मन्त्री पनि चकित परेका छन्।’ तर रायगढ मात्र नभएर छत्तिसगढ राज्यभर नै स्थानीय निकायको चुनावमा सत्तारुढ दल भाजपा नराम्रोसँग पराजित भएको छ।
गएको विधानसभा र लोकसभा चुनावमा जित हासिल गरेको भाजपाले छत्तिसगढमा भएका १० वटा नगर निगमका चुनावमा चार सिटमा मात्र जितेको छ। सबै नगर निगमको चुनावको जिम्मेवारी भाजपाले नौ जना मन्त्रीलाई सुम्पेको थियो। छत्तिसगढका मुख्यमन्त्री रमन सिंहले समेत कतिपय ठाउँमा पार्टीका तर्फबाट स्थानीय चुनावमा प्रचार गरेका थिए।
स्थानीय चुनावमा पराजित भएपछि मुख्यमन्त्री सिंहले भने, ‘हाम्रो अपेक्षाअनुसार स्थानीय चुनावको परिणाम आएन। चुनाव परिणामबारे पार्टीका पदाधिकारीसँगको बैठकमा छलफल हुनेछ। कहाँ के कमी कमजोरी भयो विश्लेषण गरी सुधारका कदम चालिनेछ।
यसअघि मध्यप्रदेशमा एक जना किन्नर विधानसभाको सदस्यमा निर्वाचित भएकी थिइन्। सन् २००० मा सबनम मौसी नामकी किन्नर मध्यप्रदेशको सुहागपुरबाट विधानसभामा निर्वाचित भएकी थिइन्। उनी भारतकी पहिलो किन्नर विधायक हुन्। उनको कथामा फिल्मसमेत निर्माण भएको छ।

श्रोत : http://nagariknews.com/world/story/30879.html

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading