स्थानीय चुनावका मतदाता १ करोड ७७ लाख, ‘अन्य’ लैङ्गिक पहिचानका १८३ जना मात्रै

स्थानीय चुनावका मतदाता १ करोड ७७ लाख, ‘अन्य’ लैङ्गिक पहिचानका १८३ जना मात्रै

काठमाडौं : वैशाख ३० मा हुने स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जनाले भोट खसाल्न पाउने भएका छन्। निर्वाचन आयोगले स्वीकृत गरेको मतदाताको अन्तिम नामावली अनुसार वैशाख २९ गते १८ वर्ष उमेर पुरा हुने १ करोड ७७ लाख ३३ हजार ७२३ जनाले भोट खसाल्न पाउने भएका हुन्।
पुरुष मतदाताको सङ्ख्या ८९ लाख ९२ हजार १० रहेको छ भने महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार ५३० रहेको छ। ‘अन्य’ लैङ्गिक पहिचानका मतदाताको सङ्ख्या १८३ जना मात्रै रहेको आयोगले जनाएको छ।
नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिलाई सरकारले ‘अन्य’ लैङ्गिक पहिचानमा नागरिकता दिने गरेको छ। २०६४ साल पुस ६ गते सर्वोच्च अदालतले लैङ्गिक पहिचानमा नागरिकता दिन सरकारका नाममा निर्देशनात्मक आदेशदिएपछि जिल्ला प्रशासन कार्यालयहरूले ‘तेस्रोलिंगी’ उल्लेख भएको नागरिकता दिएका थिए।
गृह मन्त्रालयले २०६९ पुसमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई ‘अन्य’ उल्लेख गरेर नागरिकता दिन जारी गरेको परिपत्र अनुसार प्रशासन कार्यालयहरूले अन्य उल्लेख गरेर नागरिकता दिइरहेका छन्।
केन्द्रीय तथ्याङ्क विभागले २०७८ मा भएको राष्ट्रिय जनगणनामा यो समुदायको व्यक्तिको गणना नै गरेन। २०६८ सालमा भएको गणनामा आठ सयको सङ्ख्यामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको तथ्याङ्क रहेको बताएको तथ्याङ्क विभागले १० वर्षपछिको गणनामा ‘अन्य’ लैङ्गिक पहिचान भएकाहरूको गणना नै नगरेको हो।
२०७७ पुस ५ गतेसम्म १८ वर्ष पुरा भएका मतदाताको सङ्ख्या १ करोड ६२ लाख ४३ हजार ११० थियो। यसमध्ये तेस्रोलिंगी मतदाताको सङ्ख्या १७२ थियो। आयोगले स्वीकृत गरेको अन्तिम नामावलीमा तेस्रोलिंगी उल्लेख गरेको छैन। ‘अन्य’ लैङ्गिक पहिचान भएका मतदाताको सङ्ख्या २०७७ पुस ५ को भन्दा ११ जनाले मात्रै बढी हो।
सबैभन्दा धेरै मतदाता भएका जिल्लामा मोरङमा ७ लाख १५ हजार २२३, झापामा ६ लाख ४६ हजार २३४ र काठमाडौँमा ६ लाख ३७ हजार ७७५ जना छन्। सबैभन्दा कम मनाङमा ६ हजार ४९६, मुस्ताङमा १० हजार ४८५ र डोल्पामा २२ हजार ४४० जना मतदाता छन्।
यस्तै सबैभन्दा बढी काठमाडौँमा ३ लाख २४२, पोखरामा २ लाख ७ हजार ७१२ र भरतपुर महानगरपालिकामा १ लाख ८५ हजार ७५२ मतदाता छन्। सबैभन्दा कम मनाङको नार्पा भूमिमा ४४८, चामेमा ७११ र डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा ९६७ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ।
आयोगले मतदाता नामावलीमा प्रकाशित मतदाताको विवरणलाई सही र त्रुटि रहित बनाउन प्रयास गरिरहेको जनाएको छ। सानातिना त्रुटिका कारण मतदान गर्ने अधिकारबाट वञ्चित हुन नदिन प्रयत्नशील रहने आयोगले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.