स्वतन्त्रको धक्का

स्थानीय चुनावले भत्कायो दलहरूको विरासत, संसदीय चुनावमा आरजु र प्रकाशमानलाई नै चुनौती

स्थानीय चुनावले भत्कायो दलहरूको विरासत, संसदीय चुनावमा आरजु र प्रकाशमानलाई नै चुनौती

काठमाडौँ : स्थानीय तह चुनावको मत परिणाम सार्वजनिक हुने क्रम चलिरहेको छ। अहिलेसम्म ३२२ स्थानीय तहमा प्रमुख पद जितेर नेपाली काँग्रेस पहिलो स्थान हासिल गरेको छ।
२०७४ मा भएको चुनावमा पहिलो दल बनेको नेकपा एमाले दोस्रो दलमा खुम्चिएको छ। २०२ स्थानीय तहमा प्रमुख पद जितेर एमाले दोस्रो दलमा खुम्चिएको हो।
काँग्रेससँगको गठबन्धनका कारण नेकपा माओवादी केन्द्रले आफ्नो साख जोगाएको छ। १२४ स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। पार्टी फुटेको असर माओवादीले चुनावमा व्यहोर्नु परेन।
चुनावी गठबन्धनका कारण धेरै ठाउँमा काँग्रेसलाई फाइदा भए पनि माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले सफलता हात पार्न सकेनन्। स्वतन्त्र उम्मेदवारका कारण काँग्रेसले धनगढी उपमहानगरको नेतृत्व गुमाएको छ। देशका ११ उपमहानगर मध्ये ३ मा स्वतन्त्र उम्मेदवारले बाजी मारेका छन्।
सुनसरीको धरानमा हर्क साम्पाङ, कैलालीको धनगढीमा गोपाल हमाल र मधेस प्रदेशको धनुषामा काँग्रेसका बागी उम्मेदवार मनोज कुमार साह सुँडी निर्वाचित भएका छन्।
६ महानगर मध्ये काठमाडौँमा बालेन शाहको जित लगभग निश्चित जस्तै भएको छ। प्रतिस्पर्धी सिर्जना सिंह गणेशमान सिंहको राजनीतिक विरासत जोगाउन असफल भएकी छन्।
२०४६ सालको राजनीतिक परिवर्तन गराउन भूमिका निर्वाह गर्ने चाक्सीवारिलाई काठमाडौँका जनताले साथ छोड्दै जाँदा गणेशमानकी बुहारी सिर्जनाले पराजय हुनुपर्ने अवस्था आएको छ।
२०५४ सालदेखि आफूलाई काठमाडौँको मेयर नै आफै भएको दम्भ देखाउने केशव स्थापितलाई यो चुनावमा मतदाताले विस्थापित नै गरिदिएका छन्। काठमाडौँको मेयरमा प्रतिस्पर्धा गरेका दलका उम्मेदवारलाई एक्लो बालेनले हल्लाइदिए।
बालेन मान्छेको ध्यान आकृष्ट गर्न सफल, व्यवस्थामाथि नै प्रश्न उठाए के हुन्छ? (भिडियो)
शाहको क्रेज मत परिणाम बढ्दै जाँदा उकालो चढिरहेको छ। सिर्जनाको पराजयले श्रीमान् प्रकाशमान सिंहलाई आउँदो संसदीय चुनावमा समेत असर गर्ने विश्लेषण हुन थालेको छ।
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डाक्टर आरजु राणालाई धनगढीमा मेयरका उम्मेदवार नृप वडको पराजयले धक्का लागेको छ। २०७४ को चुनावमा काँग्रेसकै मेयर निर्वाचित हुँदा समेत सांसदमा पराजित आरजुलाई अबको चुनाव जित्न फलामको चिउरा चपाउनु सरह हुने चुनावी परिणामबाट देखिएको छ।
ललितपुरको चुनावी परिणामले काँग्रेस उत्साहित, जनचाहना अनुसार काम गर्ने चिरिबाबुको प्रतिबद्धता
धनगढीमा सत्ता गठबन्धनका साझा उम्मेदवार काँग्रेसका वडलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले झन्डै दोब्बर मतान्तरले हराएका छन्। मतदानको चार दिन अगाडि देखिनै डडेलधुरा र धनगढीमा बासै बसेका प्रधानमन्त्री देउवाको गन्यापधुरा गाउँपालिकाको गृह वडामा काँग्रेसका उम्मेदवार पराजित भए। उम्मेदवार छनौटमा नातावाद कृपावादका कारण दलका नेताहरूले बल्ड्याङ खानु परेको छ। शेरबहादुर गृह वडामा र आरजुले धनगढीमा धक्का खाएका छन्।
धरान र जनकपुरधाममा पनि दलका उम्मेदवार पराजित भएको छन्। धरानमा जनचासोका विषयमा एक्लै फलाक्दै आएका हर्क साम्पाङको हर्षका दिन सुरु भएको छ।
हिजो प्रश्न गर्ने ठाउँमा रहेका हर्क अब जवाफ दिने ठाउँमा पुगेका छन्। हिजो दिउँसै टर्च बालेर पत्रकार खोज्दै हिँड्ने उनलाई अहिले पत्रकार खोज्दै पुगिरहेका छन्।
सत्ता गठबन्धनको जनता समाजवादी पार्टीको मधेसको धङधङी जनकपुरको पराजयले शिथिल बनाएको छ। काँग्रेसबाट बागी उठेका मनोजकुमार साह सुडीले जसपाको पर्खाल भत्काइदिएका छन्।
विराटनगरमा जसपाका सङ्घीय परिषद् अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव एमालेका उम्मेदवार शिल्पा कार्कीसँग झन्डै दोब्बर मतले पराजित भएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading